वडालाई सुविधा सम्पन्न बनाउने लक्ष्य छ

वडालाई सुविधा सम्पन्न बनाउने लक्ष्य छ तरुण खबर ३२ श्रावण २०७८, सोमबार ०९:१३
वडालाई सुविधा सम्पन्न बनाउने लक्ष्य छ

सुमन मल्ल

खजुरा गाउँपालिका–१ भारतीय भूभागसँग सीमा जोडिएको दक्षिणी भाग हो । १ नम्बर सानो क्षेत्रफलमा धेरै जनसंख्या भएको वडा हो हाम्रो । करिब आठ वर्गकिलोमिटर क्षेत्रफल भएको यो वडामा करिब चार हजार जनसंख्याको बसोबास छ । आजभन्दा ५५ वर्षअघि यहाँ ठूलो जंगल थियो रे । तत्कालीन राजा महेन्द्र यहाँ सिकार खेल्न आउँदा रसिद मियाँ नाम गरेका रूपेडियाका भारतीय मुसलमानले ठूलो सहयोग गरेछन् ।

सहयोगबाट खुसी भएका राजा महेन्द्रले हुकम प्रमांगी गरी उनलाई बलैपुर भन्ने ठाउँमा करिब ७० बिघा जग्गा दिएछन् । घनाजंगलले घेरिएको ठाउँमा उनी बस्न सक्ने कुरै भएन । त्यसपछि राजा महेन्द्रले आसपासको जंगल फँडानी गरेर भूपूसैनिकहरूलाई पुनर्वास गराउने अवधारणा अघि सारेका रहेछन् । अहिले पनि रसिद मियाँका छोराहरूको केही बिघा जग्गा यहाँ छ । जेठा छोरा सव्वन मिया बितिसके । कान्छा छोरा डा.रोमन मियाँ किद्वाई नेपालगन्जमा बस्छन् । त्यतिबेला रसिद मियाँलाई ७० बिघा र भूपू सैनिक हरेकलाई चार बिघाको दरले जग्गा दिएर बसोबास गराइएको रहेछ । करिब दुई सय पूर्वसैनिक परिवारलाई बसोबास गराइएको रहेछ । त्यसैले यो बस्तीको नाम नै सैनिक गाउँ रहन गएको हो । भारतीय सिमानासँग जोडिए पनि पूर्वसैनिकहरूको बस्ती भएकाले यस क्षेत्रमा चोरीडकैती छैन । माओवादी द्वन्द्वकालमा समेत यो क्षेत्रमा हिंसाको बाछिटा पर्न पाएन ।

सुरुमा गाउँ फर्क पञ्चायत, त्यसपछि राधापुर पञ्चायत तथा गाविस हुँदै अहिले यो क्षेत्र खजुरा गाउँपालिकाको वडा नं १ कायम भएको छ । तत्कालीन राजा महेन्द्रले नेपालको सिमाना सुरक्षाका लागि भूतपूर्वसैनिकहरूलाई यो क्षेत्रमा बसोबास गराएको भन्ने इतिहास छ । जसरी गाउँपालिका नेपालकै नमुना बन्ने चरणमा छ, त्यसरी नै वडा नं १ खजुरा गाउँपालिकाकै नमुना बन्ने अभियानमा अघि बढिरहेको छ । जातजाति बाहुल्यता भएको ठाउँ हो यो । वडा नम्बर १ ले बहादुर गोर्खालीहरूको पुरानो विरासत बोकेको छ । घरबासदेखि खेतीयोग्य जमिन सबैतिर फराकिलो सडक, गाउँभित्र पनि व्यवस्थित गरिएका बस्तीका कारण यो वडाका गाउँहरू घुम्न आउने मान्छेहरू भन्छन्– ‘विदेशका विकसित सहर जस्ता पो रहेछन् त यहाँका गाउँहरू ।’

बाँके जिल्लाको खजुरा र बैजनाथ गाउँपालिका पुनर्वास कम्पनीले उहिल्यै जोडेको हो । अंग्रेजी अल्फाबेट ‘ए’ बाट सुरु गरी यहाँका गाउँका नाम राखिएको छ । खजुरा गाउँपालिकामा ए, बी, सी, डी, ई, एफ, के र एल गाउँ रहेका छन् भने बैजनाथ गाउँपालिकामा जी र एच गाउँ रहेका छन् । पुनर्वासको बारेमा सामान्य सुनेका मानिसहरू आई र जे गाउँ पनि होलान् भन्ने ठान्छन् । केही बुझेकाले किन आई र जे गाउँ छैन भनेर जिज्ञासासमेत राख्छन् । नेपाल पुनर्वास कम्पनी खजुरा तत्कालीन राजा महेन्द्रको पालामा २०२१ सालमा स्थापना भएको हो । सोही समयमा इजरायली मोडलको बस्ती विकासका लागि प्रवासी नेपाली र नेपालमा कुनै पनि ठाउँमा घरजग्गा नभएका सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नियम बनाइएको थियो ।

इजरायली विशेषज्ञद्वारा बस्तीको मोडल तयार पारिएका कारण गाउँहरूको नाम अंग्रेजी अल्फाबेटबाट राखिएको हो । सुरुवातमा गाउँहरूको नामाकरण गर्दा आई र जे गाउँसमेत राखिएको थियो । खजुराको वडा नं. १ राधापुर, बेलडाँडा, न्यौरीडाँडा, रामपुरडाँडा, जलपोखरी, बहादुरपुर र चन्द्रनगरलाई आई गाउँ र वीरपुरलाई जे गाउँ राखिएको थियो । भूतपूर्व गोरखा सैनिकहरूको बाहुल्यता भएको दुवै गाउँका बासिन्दाले आई र जे नाम अस्वीकार गरेपछि हालको सैनिक गाउँ रहन गएको हो ।

पुनर्वास स्थापनाका समयमा जनता मावि, आदर्श निमावि र प्रत्येक गाउँमा प्रावि विद्यालय सञ्चालन भएको थियो । इजरायली मोडलबाट बस्ती निर्माण गरिएका कारण खजुराका १ देखि ४ वडाका प्रत्येक गाउँमा फराकिला सडक छन् । इजरायली मोडलको बस्ती विकास भएका कारण पुनर्वास क्षेत्रमा विकासको सम्भवना अन्य क्षेत्रभन्दा बढी नै देखिन्छ । खजुरालाई देशकै नमुना गाउँपालिका बनाउन पुनर्वास बस्तीले मुख्य भुमिका निर्वाह गर्ने अवस्था छ । गाउँपालिकालाई नमुना बनाउने अभियानकै लागि म वडाध्यक्षमा निर्वाचन लडेको हुँ । चुनावमा मत माग्दा नै जनसमक्ष मैले यो घोषणा गरेको थिएँ । वडालाई नमुना बनाउने प्रतिबद्धताअनुसार यतिबेला पूर्वाधार निर्माणका कामहरू भइरहेका छन् । वडाका सबै सडक पक्की, सबै टोलमा सडक बिजुली, सबै टोल साक्षरलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइएको छ । वास्तवमा भन्ने हो भने चुनाव जितेपछि मेरो व्यक्तिगत जीवन नै छैन भन्दा हुन्छ । मलाई जनताले मत दिएर जिताएपछि मेरो जीवन व्यक्तिगत रहेन । जनताका कर्महरूसँग मेरो जीवन जोडिएको छ । वडाको विकासका लागि, वडावासीप्रति आफूलाई समर्पित गरेको छु । बिहान उठेदेखि साँझसम्म वडाकै काममा हुन्छु ।

तत्कालीन गाविस तथा पछिल्लो वडा कार्यालय जनप्रतिनिधिविहीन भएको १५ वर्ष बितिसकेको थियो । त्यसैले मैले सुरुमै वडा कार्यालयलाई व्यवस्थित बनाउन केही चुनौती झेल्नु प¥यो । निर्वाचित भएदेखि नै वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउनुका साथै पूर्वाधार व्यवस्थापनमा जुटिरहेको छु । चुस्त, दुरुस्त र पारदर्शी सेवा प्रवाह मेरो पहिलो सर्त हो । वडाको विकास र समृद्धिका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार मातहत रहेर काम गरिरहेको छु । जनताका आकांक्षा, मुद्दा र मागलाई समेट्दै वडालाई कसरी नमुना बनाउन सकिन्छ भन्ने ध्याउन्नमा निरन्तर लागिपरेको छु । वडाको विकास र सेवा प्रवाहले गति लिइसकेको छ । आगामी निर्वाचनसम्म विकास र समृद्धिमा वडाले धेरै फड्को मारिसक्छ ।
स्थानीय तहको निर्वाचनपछिको पहिलो प्राथमिकता भनेकै बाटो बनाउने, भएका बाटाको स्तरोन्नति गर्ने थियो । आफ्नै वडाको बजेट र नगरको सहयोगमा अत्यावश्यक बाटाहरूको स्तरोन्नति सम्पन्न भएका छन् । बजेटको आकार हेरी पालिकाकोे सहयोगमा सम्भव भएसम्म धेरै कामहरू भएका छन् । बाँकी कामहरूलाई पनि क्रमशः योजनामा समावेश गरेर सम्पन्न गर्दै लैजाने मेरो लक्ष्य छ । भौतिक पूर्वाधारको विकास गरी आगामी निर्वाचनसम्म वडालाई सुविधा सम्पन्न बनाइसक्ने हाम्रो लक्ष्य हो । वातावरणमैत्री, बालमैत्री, उज्यालो वडा बनाउनुका साथै वडाभित्र रहेका युवालाई आयआर्जनतर्फ उन्मुख गराउने, गरिब, विपन्न, दलित, समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायतका योजनाहरू छन् । यस क्षेत्रको आस्थाको केन्द्र मैटहवा मन्दिरलाई भव्य बनाउने र यस क्षेत्रमा सुविधा सम्मन्न होमस्टे सञ्चालन गर्न स्थानीय जनतालाई प्रेरित गर्ने अभियान रहने छ ।

आधा कार्यकाल सकिन लागेको छ । चाहेर मात्रै पूरा हुँदैन । हरेक चिजको सीमा हुन्छ । हामी पनि केही सीमाभित्र रहेर योजना छनोट गर्नुपर्ने बाध्यतामा छौं । योजना छनोट गर्दा योजनाको आवश्यकता, समुदायमा त्यसको माग किन छ ? कतिको आवश्यकता छ ? यो विषयमा पहिले निक्र्याेल गरिन्छ । पूर्वाधार विकासका सन्दर्भमा पनि जहाँ जनघनत्व बढी छ, त्यहाँ पूर्वाधारहरूको माग र आवश्यकता धेरै हुन्छ भन्ने हामीले बुझेका छाँै । त्यसैले त्यस्ता स्थानमा पहिलो प्राथमिकता दिने गरेका छौं । मेरो नजरमा हाम्रो वडाका लागि अहिलेको सबैभन्दा ठूलो काम विकास निर्माण हो ।

म आफूलाई राजनीतिकर्मीभन्दा पनि समाजसेवी भन्न रुचाउँछु । म जनताको प्रतिनिधि हुँ, त्यसैले पनि जनताका काममा सधैं अग्रसर हुन्छु । आगामी निर्वाचनसम्म वडालाई गर्व गर्नलायकको विकास गरेर देखाउने मेरो प्रतिबद्धता हो । यसलाई पूरा गर्न कठिन चुनौतीहरू पार गर्दै अघि बढेको छु । जसका कारण मैले गरेका प्रतिबद्धताहरू मेरै कार्यकालमा पूरा हुनेछन् । वडाध्यक्ष भएबापत सरकारले दिने सेवासुविधा मैले उपभोग गरेको छैन । आफ्नो पारिश्रमिकबापतको रकम विभिन्न सामाजिक काममा खर्च गर्दै आएको छु । हालसम्म पारिश्रमिकबापत पाएको करिब पाँच लाखभन्दा बढी रुपैयाँ विभिन्न सामाजिक काममा खर्च गरिसकेको छु । तर कोभिड–१९ ले हामीलाई काम अलिअलि असर गरेको छ ।
(बाँके जिल्लाको खजुरा गाउँपालिका–१ का अध्यक्ष सुमन मल्लसँग भएको कुराकानीमा आधारित)