तरुण खबर
१ भाद्र २०७८, मंगलवार ०९:२३
काभ्रेको रोशी गाउँपालिका–२ को तत्कालीन शिखरअम्बोटे गाविसका वडा नम्बर ५, ६, ७ र ८ मिलाएर पालिकाको वडा नम्बर २ को संरचना गरिएको छ । यो वडाका अधिकांश भाग महाभारत लेकमा पर्छ । गाउँपालिकाको केन्द्र कटुञ्जेबेसीबाट वडा कार्यालय रहेको ठाउँ पुग्न कम्तीमा तीन घण्टा हिँड्नुपर्छ । हिउँदमा गाडी चल्छ । गाडीमा पनि दाप्चा भकुण्डेबेसी हुँदै आउनु परेका कारण दुई घण्टा जति लाग्छ । कटुञ्जेबेंसीबाट रोशीको किनारैकिनार कच्ची सडक निर्माण भएको छ, तर २० किलोमिटर लामो यो कच्ची सडक वर्षायाममा काम लाग्दैन । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुनाव जितेको थिएँ, अहिले मधेसी जनअधिकार फोरम नेपाली कांग्रेसमा एकीकरण भइसकेको छ ।
जनसंख्या करिब दुई हजार र मतदाता संख्या करिब आठ सय छ । विकट क्षेत्रको तुलनामा सुगम क्षेत्र धेरै छ । कृषिभूमि पनि राम्रो छ । बेंसीमा धानखेती राम्रो हुन्छ । वर्षमा चार बालीसम्म लाग्छ । लेकमा मकै, गहुँ तथा तोरी हुन्छ । दुई बाली मात्रै लाग्छ । खेतीपातीपछिको मुख्य व्यवसाय पशुपालन हो । रोजगारीका लागि काठमाडौं जानेहरूको संख्या पनि उल्लेख्य छ । जिल्ला पञ्चायतका पूर्वसभापति चमारसिंह लामाको समेत गाउँ भएका कारण पञ्चायतकालदेखि नै यो गाउँले विकास तथा राजनीतिक चहलपहलको अवसर प्राप्त गरेको छ । बसाइसराइँको समस्या अहिलेसम्म छैन ।

७५ प्रतिशत तामाङ जातिको बसोबास छ । त्यसपछि मगर र क्षेत्री बाहुनहरू छन् । चार वटा प्रावि (आधारभूत विद्यालय) र एक उच्च मावि छन् । उच्च माध्यमिक विद्यालयमा ५० जना विद्यार्थी छन् । रोशी गाउँपालिकाको वडा नम्बर २ महाभारतको लेकसँगै जोडिएको काफलडाँडाको उचाइ लगभग एक हजार नौ सय मिटर छ । उत्तरतर्फका हिमाल हेर्न सकिने यो डाँडाबाट पूर्व–दक्षिण हेर्दा पहाडको बनावटले स्वर्गीय आनन्द दिन्छ । महाभारत जंगलको आडैमा रहेको काफलडाँडाको झर्ना २०३१ सालमै पहिचान गरी पर्यटनको सम्भावना अध्ययन गरी सक्दा पनि उपेक्षित छ । काफलडाँडाबाट एक किलोमिटर पैदल हिँड्दा तीनधारे छहरा नजिकैबाट हेर्न सकिन्छ । डाँडाबाट झरेको झर्ना लगभग ३५० मिटर तल झरेको दृश्य निकै रमाइलो छ । एकै मुहानझै देखिने झर्ना तीनतिरबाट झरेकाले स्थानीयहरूले यो झर्नाको नाम तीनधारे झर्ना भनेका हुन् । झर्नाको दृश्य हेर्ने स्थान नजिकै ठूलो चौर रहेकाले पिकनिक स्पटका रूपमा विकास गर्न सकिन्छ, यो वर्ष झर्नाका लागि करिब ५ करोडको लागतमा सडक सुधारको काम सहित गर्ने सम्झौता भएको छ । राष्ट्रिय योजना आयोगबाट सडक सुधारलाई १ करोड ५८ लाख रकम प्राप्त भएको छ भने गाउँपालिकाबाट पनि त्यती नै रकम हाल्ने निर्णय भएको छ ।
मान्छे घोप्टो परेर बसेझै देखिने ठूलो राक्षस ढुंगा अर्को आश्चर्यलाग्दो दृश्य हो । यहाँको धाउ पगाल्ने गुफा, बारुद गनाउने ढुंगा, अन्तरसिं छहरा (झर्ना), महभीर छहरा (झर्ना) एउटै प्याकेजमा हेर्न सकिन्छ । दुई ढुंगाको बीचबाट पानी निस्किएर झर्ना बनेकाले अन्तरसिं झर्ना भनिएको हो । महाभीर झर्ना अन्तरसिं झर्नाको नजिकै भएकाले एकै ठाउँबाट देख्न, हेर्न सकिन्छ । भीरमौरी बस्ने गुँड भएकाले यो ठाउँको नाम महभीर राखिएको हो । यी दुई झर्नामा पुगेरै आनन्द लिने हो भने अलगअलग बाटो समात्नुपर्छ । यो वडाको बेंसीमा मौसम र जुनारको प्रशस्तै खेती हुन्छ अर्थात् अमिलोजन्य खेतीको प्रचुर सम्भावना छ । केही स्थानीयले मौसम, जुनारको खेती गरेका छन्, तर बजार छैन । काठमाडौंमा १२५ रुपैयाँ प्रतिकिलो पर्ने जुनार, मौसम शिखरअम्बोटेमा प्रतिकिलो २० रुपैयाँमा पाइन्छ ।
(रोशी गाउँपालिका–२ का वडाअध्यक्ष पोते लामासँग भएको कुराकानीमा आधारित)


