तालिवानका संस्थापक एवं निर्वासित नेता कतारबाट स्वदेश फर्किए

तालिवानका संस्थापक एवं निर्वासित नेता कतारबाट स्वदेश फर्किए तरुण खबर २ भाद्र २०७८, बुधबार ११:१२
तालिवानका संस्थापक एवं निर्वासित नेता कतारबाट स्वदेश फर्किए

काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल घानी बरादर पनि अफगानिस्तान पुगेका छन् । अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ । उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन् ।

कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो । २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधार क्षेत्र रहेको थियो । कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडिओ फुटेजहरू बाहिरिएका छन् बीबीसी ज्यूजमा छ ।

को हुन् मुल्लाह अब्दुल गनी बरादर ?
मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए । सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो । सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन । त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्दथ्यो ।

सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा ग-यो । उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए । पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए । सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो । उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे ।

इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो । उनी दुर्रानी समुदायका भएका ठानिन्छ । यसैबीच अमेरिकाले अफगानिस्तानमा नियन्त्रणपछि तालिबानको पहिलो आधिकारिक वक्तव्यमा उसले जनाएको मानवअघिकारको सम्मान गर्ने प्रतिबद्धतालाई आफूले नियाल्ने बताएको छ । २०७८, भदौ १ गते मङ्गलवार तालिबानले पत्रकार सम्मेलन गर्दै मानव अधिकार, महिलाको अधिकार र स्वतन्त्र प्रेस प्रति प्रतिबद्धता जनाएको थियो ।

यद्यपि उसले इस्लामिक मान्यता अनुसार महिलाहरूले अधिकार पाउने बताएको थियो । प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताएका थिए ।

आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिएका थिए । संयुक्त राष्ट्रसङ्घले चाहिँ पहिले तालिबानका गतिविधिहरू हेर्नुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अवस्थाबारे ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसका अनुसार साझा रणनीति निर्माणका लागि सम्पन्न राष्ट्रहरूको सङ्गठन जी सेभेनका नेताहरूले आगामी साता छलफल गर्नेछन् ।