अमेरिकी पासपोर्ट भएकालाई तालिवानले अफगानिस्तान छाड्न दिएका छन्

अमेरिकी पासपोर्ट भएकालाई तालिवानले अफगानिस्तान छाड्न दिएका छन् तरुण खबर ३ भाद्र २०७८, बिहीबार ०८:४४
अमेरिकी पासपोर्ट भएकालाई तालिवानले अफगानिस्तान छाड्न दिएका छन्

काठमाडौं । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेका छन् । उसले पूर्वी शहर जलालाबादमा हिंस्रक रूपमा तालिबानविरोधी प्रदर्शनलाई दमन गरेको बताइएको छ ।

त्यहाँ उनीहरूले कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको खबर आएको छ । उनीहरूले कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको छ । काबुलस्थित सञ्चार माध्यमहरुका अनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुहरूले गस्ती गरिरहेका छन् ।

सडकमा महिलाको संख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ । काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम छ । तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानहरूलाई रोकिरहेका छन् । उनीहरूले त्यसक्रममा हावामा गोली समेत चलाएको खबर छ ।

यात्राका लागि आवश्यक कागजात भएका कतिपयलाई पनि उनीहरूले रोकेको खबर छ । कतिपय देशहरूले आफ्ना नागरिकका साथमा उनीहरूका सहकर्मीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा फिर्ता गरिरहेका बेला विमानस्थलमा अराजक अवस्था देखा परेको हो । उक्त विमानस्थलबाट करिब ५ हजार जनालाई विगत २४ घण्टामा उद्धार गरिएको छ । अहिले अमेरिकाले खटाएको विशेष फौजले उक्त विमानस्थल चलाइरहेको छ ।

पश्चिमी देशका एकजना अधिकारीले रोयटर्स समाचार संस्थालाई भनेका छन्– यो एकदमै अस्तव्यस्त र अराजक अवस्थामा छ । तालिबानले अमेरिकी राहदानी भएकाहरूलाई चाहिँ विमानस्थल पस्न दिएका छन् । तालिबानले गत आइतवार कैयौं पश्चिमा शक्ति राष्ट्रहरूलाई आश्चर्यचकित पार्नेगरी काबुलमा नियन्त्रण कायम गरेको थियो । अमेरिकी नेतृत्वको फौज अफगानिस्तानबाट फर्किएपछि उसले देशैभरि आफ्नो नियन्त्रण विस्तार गरेको थियो ।