तरुण खबर
३ भाद्र २०७८, बिहीबार ०८:५५
रामेछाप जिल्ला ऐतिहासिक घटना र धार्मिक हिसावले पनि प्रसिद्ध छ । कुनै समय वल्लो किरात भनिने चलन भएको हुँदा यो जिल्लामा किरातीहरुको प्रभुत्व थियो भनी अनुमान लगाउँन सकिन्छ । सन् १३२४ मा गयाशुद्धिन तुगलकले सिम्रौगढ राज्य ध्वस्त गरेपछि त्यस राज्यका अन्तिम राजा हरिसिंह देव रामेछाप हुँदै दोलखा गएका थिए भनिन्छ । ईस्वी सन् १४२८–८२ मा यक्ष मल्लको समयमा नेपाल राज्य धेरै विस्तार भैसकेको थियो । पूर्वतिर बंगालसँग सीमा जोडिएको थियो भने दक्षिणतिर मिथिला प्रदेश नाघेर गंगाजीसम्म राज्य फैलिएको थियो । उत्तरतिर शिकारजुङ र पश्चिमतिर पाल्पासम्म राज्य विस्तार भएको प्रो.तोत्रराज र पं.नयनराजले नेपालको संक्षिप्त इतिहास २००४, पुष्ठ २६ मा लेखेका छन् । यो इतिहास बोकेको रामेछाप जिल्लामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको रुपमा परिचित प्रकृतिको अनुपम उपहार गोकुलगंगा गाउँपालिकाको गहनाको रुपमा रहेको स्थल जट्टापोखरी नामक पवित्र स्थल रहेको छ ।

जट्टापोखरीको पवित्र जलको वरिपरि जुन ठाउँको पानी पोखरीमा बगेर मिसिन्छ त्यस ठाउँमा पूरै टेन्टहरू टांगिएको अवस्था अहिले पनि देख्न सकिन्छ । यो अत्यन्त अशोभनीय र निन्दित देखिन्छ । आज भन्दा करिव १३ बर्ष अगाडिसम्म हाम्रो गर्जाङ्ग खिम्ति समाज सेवा समूह नामक संस्था जीवित छँदा संस्थागत अगुवाईमा त्यस स्थानमा बास बस्न र होटल पसल गर्न दिइएको थिएन । त्यो स्थानलाई व्यवस्थित बनाउँन स्वयंसेवक खटाइन्थ्यो, सामान्य किसिमको औषधीको ब्यबस्था र समस्यामा परेकाहरुको उद्धार गर्ने जस्ता कार्य गर्ने गरिएको थियो तर नेतृत्व परिवर्तन भएसँगै त्यो संस्था पनि कता गएर बस्यो थाहा छैन ।
तर अहिले पोखरी परिसरमा यत्र तत्र टेन्ट टाँगेर बास बसेको देखियो यो अत्यन्त अशोभनीय काम हो । जुन स्थानमा जुन विश्वास र आस्था बोकेर गइन्छ त्यहि स्थलको दुर्दसा बनाउनुले हाम्रो मानसिकता के भएको छ, हामी कहाँ छौं ? हाम्रो समाज कहाँ छ ? र, हरेक ब्यक्तिको चेतना स्तर कहाँ छ भन्ने कुरामा प्रश्न चिन्ह खडा गरेको छ । वाग्मती प्रदेश सरकार र गोकुलगंगा गाउँपालिकाले समुन्द्री सतहबाट करिब ४४ सय मिटर रहेको जट्टापोखरी, जट्टापोखरीबाट एक घण्टामा पुगिने पाँचपोखरी र आसपासका अन्य पोखरी र पर्यटकीय स्थललाई केन्द्रीत गरी केही बजेट बिनियोजन गरेको सुनिएको छ ।
वागमती प्रदेश सरकार र गोकुलगंगा गाउँपालिका बजेट विनियोजन गरिरहेको छ, तर त्यसलाई गन्तब्यको रुपमा राखेर पूर्वधारका धेरै कामको थालनी भएको पनि छ । यो स्वागत योग्य पनि छ तर आकर्षणको मुख्य बिन्दुलाई यस्तो अवस्थामा छोडेर गरिएका र गर्न शुरू गरिएका पूर्वधारको विकासको के अर्थ रहला र ? आज छुट दिइएको विषय भोली अधिकारको विषय बनाइन्छ भन्ने कुरा हामीले ख्याल गर्न सकेका छैनौ । त्यसैले अगुवा समाज, स्थानिय सरकार, प्रदेश सरकार लगायतलाई मेरो विनम्र अनुरोध छ, कृपया आ–आफ्नो ठाउँबाट सबै भन्दा पहिला निम्न कार्यहरू गरियोस् । जट्टापोखरी परिसरको निश्चित क्षेत्रलाई बास बस्न र होटल पसल गर्न प्रतिबन्धित क्षेत्र तोकेर उचित कम्पाउण्डको ब्यबस्था गरीयोस् भन्ने मेरो व्यक्तिगत आग्रह हो ।

वर्षेनी हजारौंको संख्यामा जाने धार्मिक पर्यटकहरुका लागि मध्यनजर गरी उपयुक्त स्थानमा टहराको ब्यबस्था वा आफुले लगेको त्रिपल तुरुन्त टाँगेर बस्न मिल्ने स्थान निर्माण गरियोस जसको कारण पोखरी वरिपरि बास बस्न जान नपरोस् । होटल र पसल गर्न निश्चित क्षेत्र तोकियोस्, जसको असर पोखरीमा नपरोस् र यात्रीले यो क्षेत्र होटल पसल भएको क्षेत्र हो भनेर सहजै पहिचान गर्न सकी सेवा प्राप्त गर्न सहज होस् । सामान्य स्वास्थ्य उपचार गर्न हेल्प डेस्कको व्यबस्था विशेष पर्व जस्तै, जनै पूर्णिमाको अवसरमा रहोस् र त्यअबसरमा केही स्वमसेवकको व्यबस्था गरियोस् । त्यहाँ चढ़ाईएको लाखौं रुपैयाँ भेटी दुरूपयोग भइरहेकाले त्यसको उचित व्यबस्थापनको लागि एक व्यबस्थापन समिति बनाइयोस् यो मेरो विशेष अनुरोध हो । त्यो क्षेत्रमा संरचना बनाउँनु अघि कुन–कुन स्थानमा के के बनाउँने भनेर डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) बनाइयोस् ।
यी बाहेक पनि धेरै कार्यहरू त गर्नु पर्ने छन तर तत्कालको लागि माथि भनिएका कुराहरूलाई प्रथामिकतामा राख्नु आवश्यक ठानेको छु, सम्बन्धित पक्षको ध्यान आकर्षण होस् भन्ने आशा राखेको छु । आबस्यक भयो भने फेरी–फेरी त्यस क्षेत्रको छलफल र विकास–निर्माणमा सहभागी हुने छु । हाल: रामेछाप


