भीम रावल लगायत नौ नेताले भने– नयाँ दल दर्ता गर्नु गलत हो

भीम रावल लगायत नौ नेताले भने– नयाँ दल दर्ता गर्नु गलत हो तरुण खबर ४ भाद्र २०७८, शुक्रबार १०:२५
भीम रावल लगायत नौ नेताले भने– नयाँ दल दर्ता गर्नु गलत हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरू पार्टीबाट अलग भए पनि आफ्नो पार्टी अझै पनि सबैभन्दा ठूलो दल कायम रहेको बताएका छन् । पार्टी विभाजनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन बिहीबार भक्तपुर पुगेका ओलीले माधवकुमार नेपाल लगायतका नेताहरूको एमालेबाट बहिर्गमनलाई “रूखबाट पात झरेर गएको“ सङ्ज्ञा दिएका छन् ।

केहीले पार्टी छोड्नु नयाँ कुरा होइन । तपाईँ सधैँ हरियो देखिने रूख लगाउनूस्, तर पनि कोही–कोही पातहरू झरिरहेको हुन्छ, कोही पलाइरहेको हुन्छ । पातै झर्दै नझर्ने रूख संसारमै हुँदैन ।

संघीय सरकारमा एमालेको नेतृत्व केही समयमा लागि गुमे पनि प्रदेश र स्थानीय सरकारहरूमा अझै पनि एमालेकै बाहुल्य रहेको उनको दाबी छ । विधिवत् केन्द्रीय सरकार हामीसँग अहिले एकछिन छैन, तर देशभरि हेर्ने हो भने राष्ट्रनिर्माणको काममा हामी जुटिरहेकै छौँ । हाम्रो जिम्मेवारी कम भएको छैन– एमाले अध्यक्ष ओलीले थपेका थिए । यसैबीच, पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका एमाले स्थायी कमिटीका नौ जना नेताले पार्टीलाई विभाजनबाट बचाउन १० बुँदे सहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । उपाध्यक्ष भीमबहादुर रावलसहित नौ जना नेताले संयुक्त वक्तव्य प्रकाशित गर्दै त्यस्तो ध्यनाकर्षण गराएका हुन् ।

उनीहरूले नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता लिन ओलीको र नयाँ पार्टी दर्ता गर्ने प्रक्रियाबाट ब्याक हुन माधव नेपालको ध्यानाकर्षण गराएका छन् ।

एमाले अध्यक्ष ओलीले अगाडी भने– देशभरि जोड्दा आधाभन्दा बढी हामी नै छौँ । एमाले नेतृत्वको सरकार नभएका कतिपय प्रदेशहरूमा पनि बराबरीकै हैसियतमा आफ्नै पार्टी रहेको उनको जिकिर थियो । ग्रहण लाग्नका लागि पनि ठूलो शक्ति नै चाहिने भन्दै उनले एमालेमा केही समयमा लागि ग्रहण लागेको रूपमा विभाजनलाई बुझ्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए । उनले पार्टी विभाजनको विषयलाई लिएर कसैसँग पनि वैरभाव वा दुस्मनी नगर्ने समेत बताएका छन् । माधव नेपालको नेतृत्वमा गठन गरिएको नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) प्रस्ताव गरिएको थियो, जसमाथि निर्वाचन आयोगमा विचाराधिन अबस्था कायम छ ।

चर्को आलोचनाबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन बुधवार नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । एमाले विभाजन भई बन्न लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) प्रस्ताव गरिएको छ । दल दर्ताका लागि आयोग पुगेका नेतामध्ये एक राजेन्द्र पाण्डेले “नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने नदेखेर छुट्टै दल दर्ताको निर्णय लिएको“ बताएका थिए ।