तरुण खबर
५ भाद्र २०७८, शनिबार ०९:२०
काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ को साबिकको मंगलटार गाविसलाई रोशी गाउँपालिकाको वडा नम्बर ९ मा संरचना गरिएको छ । यो वडा रोशी गाउँपालिकाकै सबैभन्दा सुगम तथा सुविधा भएको मंगलटार बजारदेखि सबैभन्दा दुर्गम भूमिचुली, सल्यानी, पेप्टा, चनौटेलगायत गाउँसम्म समेटिएको छ । त्यसैले यसलाई विषम मान्नुपर्छ । उदाहरणका लागि मंगलटार क्षेत्रमा प्रतिरोपनी एक करोड रुपैयाँसम्ममा जग्गा किनबेच हुने गरेको छ भने महाभारत लेकमा गाउँपालिकाले जग्गाको रेट ५० हजार रुपैयाँ प्रतिरोपनी तोकेको छ । यति ठूलो भौगोलिक तथा विकासको विषमता भएका वडाहरू नेपालमा ज्यादै थोरै होलान् ।
अति सुगम मंगलटार बजारबाट यो वडाको सबैभन्दा टाढाको गाउँ पुग्न १९ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ । वर्षायाममा गाडी चल्दैन । विकट क्षेत्रबाट मंगलटार बजार तथा यस आसपासमा बसाइँ सर्ने क्रम बढेको छ । पुरानो बस्तीबाट बीपी राजमार्ग आसपासमा बसाइँ सर्ने क्रम रोक्नु नै यस वडाको मुख्य चुनौती हो । १० घरभन्दा बढी भएका गाउँमा सडक खानेपानी तथा बिजुलीको सुविधा पु-याउने अभियानले करिबकरिब सार्थकता पाइसकेको छ । तर योभन्दा कम धुरी भएका गाउँमा विकासका पूर्वाधार पु¥याउन निकै खर्चिलो तथा प्रतिफल नगन्य हुने भएकाले बस्ती विकासका लागि दुईवटा ठाउँ छनोट गरिएको छ । मंगलटार र पिन्थलीमा बस्ती विकास गरी १० भन्दा कम घरधुरी भएका दुर्गम गाउँका बासिन्दालाई त्यहाँ सार्ने विषयमा कार्ययोजना अघि बढाइएको छ । एकीकृत बस्ती विकासका लागि सहरी विकास मन्त्रालयबाट ५० लाख रुपैयाँ प्राप्त भएको छ । भूमिचुली, पिन्थलीलगायतका ठाउँमा पर्यटन विकासको अत्यन्तै सम्भावना छ । भूमिथान मन्दिर र पार्क निर्माणका लागि दुई करोड बजेट छुट्ट्याइएको छ भने पिन्थलीमा २० लाखको लागतमा बुद्धको मूर्ति स्थापना गरिएको छ । हरेक गाउँलाई राजमार्गबाट पक्की सडकले छुने योजना अघि बढाइएको छ । वडा नम्बर ९ मा व्यावसायिक तरकारी खेती सुरु भइरहेको छ । दिनमा तीन–चार ट्रिप अर्थात् वर्षको डेढ–दुई करोड रुपैयाँको तरकारी निर्यात हुन्छ । किसानलाई गाउँपालिकाले बीउ–बिजन र ट्र्याक्टरलगायतमा सहुलियत दिएको छ । प्राविधिक सहयोग निःशुल्क प्रदान गरिएको छ । जापानी सहयोग नियोग (जाइका)ले आर्गेनिक कृषि उत्पादनका लागि यस क्षेत्रमा परियोजना सुरु गरेको छ । अहिलेसम्म १५० रोपनी जग्गामा आर्गेनिक खेती विस्तार भइसकेको छ ।
वडा नम्बर ९ मा ५८०० जनसंख्या तथा २७०० मतदाता छन् । जनसंख्याको हिसाबले रोशी गाउँपालिकाको सबैभन्दा ठूलो वडा हो यो । मावि दुई वटा र ६ वटा आधारभूत गरी यस वडामा आठवटा विद्यालय छन् । करिब ७० प्रतिशत तामाङ जाति रहेको यो वडामा क्षेत्री, बाहुन, नेवार, मगर, दलितलगायतको बसोबास छ । पुरानो व्यापारिक केन्द्र मंगलटारमा पहिले नेवारहरूको बाक्लै बस्ती थियो ।
र, अन्तमा लमजुङको घलेगाउँ, तनहुँको बन्दीपुरजस्तै विगतमा समृद्ध, तर अहिले उजाड मंगलटार बजारको ऐतिहासिक बजारलाई पुरातन शैलीकै झझल्को दिने गरी आधुनिक रूपमा विकास गर्न सकिन्छ । भएका घरहरूको पुनर्निर्माण वा सुधार गरेर पुरानै शैली कायम रहने गरी आधुनिक बस्तीका रूपमा मंगलटारलाई विकास गर्न सकिने यथेष्ट सम्भावना छ । राजमार्गसँगै जोडिएको मंगलटारको पुरानो बजारलाई नयाँ र सहज पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर त्यहाँबाट रोशी भित्रका महत्वपूर्ण स्थलहरूसमेत जोडी पदयात्रा मार्गको विकास गर्न सकिन्छ । साथै, त्यहाँ रहेका साना–ठूला सबै मठमन्दिर र ऐतिहासिक स्थलहरू भव्यता झल्कने गरी पुनर्निर्माण गर्न आवश्यक छ ।
(काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ का वडाअध्यक्ष जन्म तामाङ (शिशिर)सँग गरिएको कुराकानी)


