तरुण खबर
५ भाद्र २०७८, शनिबार ०९:२९
काठमाडौं । नेपाली कांग्रेसले आजै क्रियाशील सदस्यता केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउँने भनिएको छ । क्रियाशील सदस्यको विवाद मिलाउँन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई दिइएको थियो । काँग्रेस केन्द्रीय समितिको बैठकले यसअघि भदौ २ गते बुझाउँने भनिएको थियो । नेपाली काँग्रेसको विधानअनुसार महाधिवेशन हुन नसकेपछिको अवधिमा चारपटक कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
विधानमा प्रत्येक चार वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था रहेको छ । ०७६ फागुन २३ बाट चारवर्षे अवधि पूरा भइसकेको थियो । त्यसबाहेक विधान र संविधानको विशेष परिस्थितिमा पाउने सुविधा उपयोग गरेर साढे एक वर्ष समयावधि थप गरेको छ । जसको अवधि १९ दिन (२३ भदौसम्म) मात्र छ । त्यसपछि कांग्रेसको वैधानिकता के हुने भन्ने प्रश्न कायमै छ ।
कांग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता संख्या आठ लाख ५२ हजार ७११ पुगेको छ । नेपाली काँग्रेस नेता एवं पूर्व मन्त्री होमनाथ दाहालका अनुसार त्यतिबेला पनि नै पार्टीका क्रियाशील सदस्यको संख्या आठ लाख थियो । दाहालका अनुसार ‘त्यतिवेला नेपालको जम्मा जनसंख्या ८५ लाखको हाराहारीमा थियो तर काँग्रेसको क्रियाशील सदस्यको संख्या ८ लाखको हाराहारीमा थियो । यो संख्या तत्कालीन पार्टी सभापति सुवर्ण शमशेरले आफ्नो भाषणमा नै उल्लेख गरेका छन् ।’
यसबीचमा कांग्रेसले भदौ १८ बाट सुरु गरेर मंसिर १३ मा सम्पन्न गर्ने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । १४औँ महाधिवेशनको कार्यतालिका चारपटकसम्म संशोधन हुनु समयमै काम नसक्दाको परिणाम हो । नयाँ कार्यतालिकाअनुसार तल्ला तहको अधिवेशन सुरु हुन ११ दिन मात्र बाँकी छ ।
के भदौ १६ गतेनेपाली काँग्रेसको वडा अधिवेशन होला त ? अधिकांश शुभचिन्तक कार्यकर्ताहरुले सोध्ने गरेको छन् ? क्रियाशील सदस्य छानबिन समिति सदस्यको जिम्मेवारीसमेत लिएका केन्द्रीय सदस्य प्रदीप पौडेल दुवै विषय टुंगिने क्रममा रहेको विभिन्न सञ्चार माध्यमलाई बताएका छन् । क्रियाशील सदस्यताको विषय भने एकैचोटि बुझाउने अवस्था नरहेको बताइन्छ । क्रियाशील सदस्यताको एकैपटक बुझाउने सम्भावना छैन ।


