हिन्दुहरु मात्रले रक्षा बन्धन पर्व मनाउँदै, भोली सोमबार गाईजात्रा

हिन्दुहरु मात्रले रक्षा बन्धन पर्व मनाउँदै, भोली सोमबार गाईजात्रा तरुण खबर ६ भाद्र २०७८, आईतवार ०९:५०
हिन्दुहरु मात्रले रक्षा बन्धन पर्व मनाउँदै, भोली सोमबार गाईजात्रा

काठमाडौं । रक्षा बन्धनहिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

उदाहरणका लागि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु त्रिवेणी आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गरेको छ । त्यस्तै, थारु समुदायले रैब अर्थात बड्का अटवारी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ महीनाको पहिलो आइतबारदेखि यो पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा ब्राह्मणहरूहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरी सके पछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासूत्र पनि भनिन्छ, जसलाई बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षाबन्धन बाँधेर टिका लगाईदिने गरिन्छ । बदलामा शिष्य–यजमानहरू ब्राह्मणलाई दक्षिणा (रूपयाँ पैसा), वस्त्रादि उपहार दिने गर्छन् ।

यो पर्व भारतमा अलगै प्रकारले मनाईन्छ । यस दिन बहिनीहरूले आफ्नो भाइको हातमा पवित्र धागो रक्षाबन्धन (राखी) बाँधेर टिका लगाएर मिठाई खुवाउँने गरेका छन् । भाइले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागेका थिए । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ ।

धार्मिक रुपमा जनैपूर्णिमाको महत्व
जनैपूर्णिमाका तीनपक्ष रहेका छन्– यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांगऋषितर्पणी । हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ–आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ ।

नेवार ब्राम्हणहरुले यो पर्व कसरी मनाउँछन् ?
नेवार समुदायमा आजको दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ । नेवार समुदायका हिन्दू द्विज तागाधारी जाती राजोपाध्याय ब्राह्मण र क्षेत्री (छ–थरी) श्रेष्ठहरूले संकल्प गरी नयाँ जनै लगाउने चलन छ भने सबैले आजकै दिन परम्परानुसार नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

यसैगरी उपत्यकाका कृषक तथा ज्यापू जातीले यस दिन विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । यो दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ । भोली सोमबार गाईजात्रा भएकाले वागमती प्रदेश सरकारले सरकारी कार्यालयहरुलाई विदा दिएको छ ।