तरुण खबर
७ भाद्र २०७८, सोमबार ०९:२४
काभ्रे । काभ्रेको महाभारको जंगलमा पाइने रुख विरुवा एवं जीवजन्तुको बारेमा लेख्दा पर्यप्त ज्ञान बढ्ने कुरा त छदैछ । महाभारतको जंगल पूर्वको पाँचथर, ताप्लेजुंगदेखि सुदूरपश्चिमको बैतडी, डडेलधुरासम्म फैलिएको छ । उदाहरणका लागि काभ्रेको रोशी गाउँपालिकाको १२ वटा वडामध्ये १० वटा वडाले छुने महाभारत पर्वत शृंखलामा चिलाउने, काउलो, खोटेसल्लो, कालीकाठ, रक्तचन्दन, लाँकुरी, उत्तिस, अगेरी, खस्रु, विभिन्न प्रजातिका गँुरास, सादन आदि रूखहरू पाइन्छन् ।
हावापानीको भिन्नताका आधारमा विभिन्न वनस्पति पाइएझैं विभिन्न प्रकारका जन्तुहरू पनि यो जंगलमा पाइन्छन् । सामान्यतः घोरल, थार, मृग, भालु, चितुवा, बँदेल र कसैकसैले बाघ पनि पाइन्छ भन्ने गरेको सुनिन्छ । चराहरूमध्ये डाँफे, मुनाल, च्याखुरा, कालिज, तित्रा, मयूर, प्युरा, जुरेली, ढुकुर, धोविनी, रानी चरी, लाटोकोसेरो, हलेसो, कलचौडे, चाँचर आदि पाइन्छन् ।
रोशी गाउँपालिकामा जडीबुटीको सम्भावना
रोशी क्षेत्रको महाभारत लेक र यस आसपासमा पाइने जडीबुटीमध्ये दुई सयभन्दा बढीको पहिचान भइसकेको छ । पाँचऔंले, सुगन्धवाल, लोठसल्ला, सतुवा, ठूलो ओखती, सिलावेद, ब्रामी, ओखर, सिन्कौली, सतुवा, चिराइतो, धसिंग्रे, सिस्नु, निमपत्ता, पाखनवेद, घिउकुमारी, अमला, हर्रो, जटामसी, कट कटुकी, चिराइतो, सर्पगन्ध, देवदार, भलायो, असुरो, सुगन्धको शिलाजित, लताकस्तुरी, कुरिलो, टिम्मुर, सेतावाज, बुकीफूल, तीतेपाती, रातो च्याउ, गुच्ची च्याउ, साधारण च्याउ, सल्लाको खोटो, काउलाको बोक्रा, विषफेज, कोकिलाजस्ता दुर्लभ जडीबुटी पाइन्छन् । गाउँपालिकाले जडीबुटी अध्यायन–अनुसन्धानका लागि बजेट विनियोजन गरी काम अगाडी बढाएको छ ।
तर जडीबुटीको प्रचुर सम्भावना हँुदाहुँदै पनि यसको उचित संरक्षण र संवद्र्धन हुन सकेको छैन । जडीबुटीलाई प्रशोधन तथा व्यवसायीकरणको प्रयास गर्न बाँकी नै छ । दुर्लभ तथा मूल्यवान् र अतिउपयोगी जडीबुटी खेर गइरहेका छन् । सीमित व्यक्तिहरूले बीउ नै मासिने गरी संकलन गर्ने र कौडीको मूल्यमा बिक्री गर्ने गरेको सुनिन्छ । रोशी क्षेत्रको अहिलेको विडम्बना भनेकै यही हो ।
जडीबुटीहरूको आर्थिक महत्वबारे अधिकांश स्थानीयवासी अनभिज्ञ रहनु नै समस्याको मुख्य कारण हो । स्थानीय बासिन्दालाई जडीबुटीको महत्वबारे चेतना नहुनु, संकलनकर्ताले आफ्नो श्रमको उचित मूल्य नपाउनु, जडीबुटीको परिणाम यकिन नहुनु, उचित संकलन विधि थाहा नहनुलगायतका समस्याका कारण रोशी गाउँपालिकाका जनताले जडीबुटीबाट खासै फाइदा लिन नसकेको गाउँपालिकाका प्रमुख डीबी लामाको भनाइ छ ।
काभ्रे जिल्लाको रोशी गाउँपालिका अध्यक्ष डीबी लामा भन्नुहुन्छ– आर्थिक विकास एवं सम्पन्नतालाई गति दिन दुर्लभ महत्वपूर्ण जडीबुटीहरूलाई संरक्षण र संवद्र्धन गर्न आवश्यक छ । प्रशोधन केन्द्रको स्थापना गरी जडीबुटी तथा लघुवन पैदावरको माध्यमबाट रोजगारको अवसरहरू सिर्जना गर्ने हो भने रोजगारीका लागि रोशी क्षेत्रका युवाहरू यहाँबाट बाहिर जानु पर्दैन । व्यवस्थित रूपमा संकलन र जडीबुटी खेतीसम्बन्धी प्रविधि विकासका लागि पालिकाले काम सुरु गरिसकेकोे छ । कुन जडीबुटी कति महत्व छ, केही जानकारी छैन, परिश्रममा कति लगानी भएको छ । दिगो रूपमा कसरी निरन्तरता दिन सकिन्छ, यस विषयमा कुनै सर्वेक्षण हुन सकेको छैन । जडीबुटीसम्बन्धी ठोस नीति नियम तथा कार्यक्रम ल्याउने तयारीमा गाउँपालिका जुटेको छ । कुल क्षेत्रफलको करिब ४० प्रतिशत भाग वन क्षेत्रले ढाकिएको छ । सामुदायिक वन र निजी जग्गा धनीले सीधै स्थानीय संकलकलाई जडीबुटी बिक्री गर्ने भएकाले त्यसको आधिकारिक तथ्यांक पनि थाहा पाउन सकिएको छैन ।
रोशी गाउँपालिकामा कृषिको सम्भावना
निर्वाहमुखी र व्यावसायिक कृषिको वर्तमान अवस्थालाई गाउँपालिकाले मूल्य अभिवृद्धि कृषिमा बदल्न जरुरी देखिएको छ । रोशीका महाभारत शृंखलाअन्तर्गत रहेका पहाडी क्षेत्रमा अमिलोजन्य फलपूmलका लागि उर्वरभूमि देखिन्छ । मौसमी सुन्तला, जुनारलाई सोझै बेच्ने वा मूल्य बढेको बेला बेच्ने गरी चिस्यान गृहमा राख्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने भएको छ । टनका टन फल्ने अमिलोजन्य फलपूmलबाट उच्च गुणस्तरको जुस वा क्यान्डी निर्माण गर्ने सम्भावनाको खोजी गर्दै संस्थागत गर्न योजना बनाउन आवश्यक छ ।
साथै, रोशीका उच्च पहाडी भेगका कृषि उत्पादनहरूमा उत्पादित ठाउँको उचाइ, हावापानी खुल्ने गरी प्याकेजिङसहित रोशी नामको ब्रान्डबाट बजारको खोजी गर्न आवश्यक छ । यसका लागि संकलन केन्द्र, उपभोक्त समूह, वितरण समूह जस्ता व्यवस्थापकीय पक्षको खोजी गर्दै संस्थागत गर्न आवश्यक छ । सात महिनामा पाक्ने तोरी, मकै, आलु, गहुँ, जौ, फापरजस्ता उत्पादन तीन महिनाभन्दा कम समयमा पाक्ने खाद्यबालीसँगै मिसाएर बजारमा पठाउने अहिलेको प्रचलन रोक्दै विकल्प खोजिनुपर्छ । रोशी ब्रान्डमार्फत रोशीका उच्च गुणस्तरीय र अर्गानिक सामग्रीहरूको बेचबिखनका लागि बजारीकरणको अध्ययन आवश्यक भएको छ ।


