दिगो पुनर्वासको समस्या : कृषि र सिँचाइ

दिगो पुनर्वासको समस्या : कृषि र सिँचाइ तरुण खबर ८ भाद्र २०७८, मंगलवार ०९:३१
दिगो पुनर्वासको समस्या : कृषि र सिँचाइ

नेपालगञ्जबाट रोशन शर्मा

काठमाडौं । नवलपुरबाट खजुरासम्म आइपुग्दा इजरायली प्राविधिकहरूले कृषिलाई विशेष ध्यान दिनुपर्ने टड्कारो आवश्यकता महसुस गरेका थिए । दिगो पुनर्वासको पहिलो समस्या कृषि र सिँचाइ देखियो । मान नदीबाहेक पानीको स्थायी ठूलो स्रोत नभएको खजुरा क्षेत्रमा परम्परागत कृषि ज्ञान र प्रयोगबाट अपेक्षित लाभ हुन नसक्ने देखिएपछि फरक रणनीति अवलम्बन गर्न आवश्यक थियो । त्यसमाथि बाँके र बर्दिया अन्य जिल्लाका हिसाबले तुलनात्मक रूपमा सुख्खा थिए । बर्खाको पानी मात्र एउटा गतिलो पानीको स्रोत थियो ।

त्यो स्थितिमा पानीबिनाको पुनर्वास कार्यक्रमले निरन्तरता पाउन नसक्ने बुझेपछि इजरायली प्राविधिकहरूले अहोरात्र मेहेनत गरे । यिनीहरूकै अध्ययनबाट जमिनको पाँच सय फिट तल पानीको गतिलो स्रोत देखाप¥यो । त्यसलगत्तै ए, बी, सी, डी र के गाउँमा गरी पाँचवटा भूमिगत पानी निकाल्ने कुवा खनियो । साथै, २०८ वटा हातले पानी तान्ने पम्प पनि वितरण गरियो । पानीको बाह्रमासे स्रोतको अभावका कारण ४० देखि ६० फिटसम्म गाडेर ८५ वटा हातेपम्प निर्माण गरिएको थियो । साथै, मध्यमस्तरका ५१ वटा इनार खनिएका थिए भने ५७ परिवारले सहकारीसँग ऋण लिएर निजी हाते कल बनाएका थिए । त्यसबेला हातेकलका लागि नौ सय रुपैयाँ खर्च हुन्थ्यो । जुन एक बिघा जग्गा किन्नुभन्दा महँगो पथ्र्याे ।

कृषि पेसाको आधुनिकीकरणमा विश्वमै सफल मानिले मानिने इजरायली प्रविधि र ज्ञानलाई इजरायली विज्ञहरूले खजुराबाटै सुरु गर्ने जमर्को गरे । यसका लागि बीउबिजन वितरण मलखादको व्यवस्था आवश्यक प्राविधिक ज्ञानलगायतका विषयमा पनि उनीहरूको उल्लेख्य योगदान रह्यो । तर पुनर्वासको मूल उद्देश्य मानिएको आम वा ठूलो स्तरको खेतीका लागि थप अध्ययन गर्नुपर्ने देखियो । उनीहरूकै अथक प्रयासबाट खजुरालगायतका क्षेत्रमा ठूलो परिमाणमा कपास खेती गर्नसके त्यसबाट पुनर्वासीलगायत अन्य रैथानेहरूलेसमेत लाभ लिनसक्ने अध्ययनले देखाएपछि २०२७ सालमा पहिलोपटक खजुरामा कपास खेतीको परीक्षण उत्पादन गरियो ।

परीक्षण उत्पादनको नतिजा सकारात्मक देखिएपछि नेपाल पुनर्वास कम्पनीले आयोजनास्थलमा कपास खेती लगाउने र त्यसका लागि आवश्यक प्राविधिक बीउबिजनलगायत उत्पादित कपास किनिदिने ग्यारेन्टी ग¥यो । इजरायली प्राविधिकहरूको सल्लाहबाट सुरु भएको कपास खेतीले लामो समयसम्म आर्थिक आर्जनको अवसर पनि उपलब्ध गरायो । २०३७ असारसम्मको तथ्यांकलाई मात्र आधार मान्दा पनि खजुरामा कपासको उत्पादन आर्थिक रूपले निकै फाइदाजनक देखिन्छ ।

कपास खेतीको सुरुवात कम्पनीको एक महत्वपूर्ण पाइला थियो । बाँकेमा कपासको सफल परीक्षणपछि बर्दिया र नवलपुरका कृषकहरूको खेतबारीमा कपास उत्पादन विस्तार भयो । ५० जना कपास जेटिएहरू तयार गरियो । कपासको बियाँ छुट्याउन मेसिनको पनि व्यवस्था गरियो । कम्पनीले २०३३ सालपछि कपाससम्बन्धी कार्य कपास विकास समितिलाई हस्तान्तरण ग¥यो ।