परशु घिमिरे
८ भाद्र २०७८, मंगलवार १०:१०
पाटन शहरको वरिपरि चार दिसामा चार वटा र पाटन पिम्बहाल पोखरीसँगै चिलन्द्येः स्तुप छ । कुपण्डोल, हरिहर भवन हुँदै पुल्चोक ( मंगलबजार जाने र जावलाखेल जाने दोबाटोमै) सडकको दाहिनेतिर गोलो र अग्लो घाँसे ढिस्को माथि निर्मित गोलाकार स्तुप र लगनखेलबाट गोदावरी जाँदा सडकको दायाँतिर पोखरी नजीकै अर्को स्तुप पनि छ । यस्तै अरु दुई स्तुप पनि छन् । एउटा कुम्भेश्वरबाट पाँचै मिनेट अगाडी बढेपछि शंखमुल जाने सडकको देब्रेतिर स्तुप छ भने अर्को ग्वार्को चोकबाट साना गाउँतर्फ केही कदम अगाडी बढ्दा सडकको देर्बेतर्फ ठूलै स्तुप छ । ढुंङ्गा, माटो, इँटा आदिले बनाएको चैत्यहरूलाई स्तूप भनिन्छ । थूर अर्थात स्तूप । यी चार थूरहरू पुलचोक थूर, लगनखेल थूर, तेता थूर र ईबही थूर पाटन शहरको बाहिर चार कुनमा छन् । यी चार थूर झण्डै उस्तै थूर देखिन्छन् । यी सबैमा स्तूपकला सबभन्दा पुरनो मानिन्छ । पाटन शहरको बीचबीच भागमा पर्ने पिम्बहालस्थित चिलन्द्येः स्तुप निर्माणको शैली पाटन शहरको बाहिरी चार कुनामा स्तुप बनाएझै मिल्दोजुल्दो छ । पाटन पिम्बहालको एउटा स्तुप अग्लो र ठूलो छ भने अन्य चार वटा स्तुप धेरै पछि बनाइएका हुन सक्छ पिम्वहालका होटल व्यवसायी शैलेन्द्र श्रेष्ठले बताएका छन् ।
स्तुपकलाबाट नै पछि चैत्य कलाको विकास भएको हो पनि भनिन्छ । यही तथ्यमा नै यी थूरहरूको महत्व र विशेषता लुकेको छ । ललितपुरमा यस्ता थुप्रै मठ मन्दिर, गुम्बा, विहारहरू रहेका छन्, जसको संयुक्त प्रचार अभियान हुन सकेको छैन । यी सबै स्तुप सम्राट अशोकले बनाउन लगाएका हुन् भनिन्छ । सम्राट अशोककी छोरी चारुमतीको स्थानिय राजकुमार देवपालसँग विवाह भएको र आपूm (अशोक) आएको अबसरमा यी पाँच स्तुप बनाएका हुन् भन्ने स्थानियवासीको विश्वास छ । तर श्रीलंकाका र पाली वंशावलीले अशोकका जीवनीको हरेक घटना र तीर्थ यात्राको वर्णन गरिएको बताइन्छ । नेपाल आएको भए त्यसमा वर्णन नहुने कुरै थिएन । अशोकका कुनै पनि अभिलेख वा शिलालेख चारुमती भन्ने उनकी छोरी थिइन भन्ने कतै उल्लेख भएको पाइदैन ।

त्यसैले त्यो कपोकल्पित हो भनी शंका गर्न सकिन्छ । चौधौं शताब्दीसम्ममा कुनै वंशावलीमा अशोकले नेपाल भ्रमण गरेको उल्लेख नहुनु र अशोक स्तुपहरुको निर्माण पनि अशोककालीन झैं प्राचीन समयको हो भन्ने प्रमाण पाइएको छैन भन्ने कुरा डा. डिल्लीरमण रेग्मी (ब्लअष्भलत ल्भउब िपृष्ठ ४० मा) ले उल्लेख गरेका छन् । तर लुम्बिनीमा अशोक स्तम्भ उनै आएको प्रमाण हो भनिन्छ । इतिहासकार बालचन्द्र शर्मा लिखित नेपालको ऐतिहासिक रुपरेखा पुस्तकमा– सम्राट अशोकले बुद्ध जन्मभूमि लुम्बिनीको दर्शन गरे र यस स्थलमा एउटा अशोक स्तम्भ खडा गरेर गए ।
यस स्तम्भमा प्रचलित प्राकृत भाषा र ब्राह्मी लिपिमा लेखिएको अभिलेखको नेपाली अनुवाद यस प्रकार छ– राज्याभिषेक भएको बीस वर्ष पुगेका, देवताहरुमा प्रिय, प्रियदर्शी राजाले स्वयं यहाँ आएर पूजा गरे । यहाँ शाक्यमुनि बुद्ध जन्मेका थिए । भनी ढुंगाको ठूलो पर्खाल बननाइयो । र, शिला–स्तम्भ खडा गरियो । यहाँ भगवान जन्मेका थिए भनी लुम्बिनी गाउँको बलि र अष्टभाग (कर विशेष) क्षमा गरियो भनी २०२२ सालमा वाराणशीबाट प्रकाशित उक्त पुस्तकमा लेखिएको छ । यही पुरातात्विक स्तम्भ जुन ईशाभन्दा २४९ वर्ष अघि मौर्य सम्राट अशोकले स्थापना गरी छाडेका थिए । सोको वर्णन चिनियाँ यात्री फाहियान तथा हुयानसाङले पनि आप्mनो कृतिमा उल्लेख गरेका छन् । यो स्तम्भ पुरिएर गएको थियो । डा. फुहररको प्रयासले सन् १८९५ मा स्तम्भ भेटिएको हो ।
तर डा. रेग्मीले उल्लेख गरेझै सम्राट अशोकले बौद्ध धर्मको प्रचारको लागि नेपाल, श्रीलङ्का, अफगानिस्तान, सीरिया, मिस्र तथा ग्रीससम्म बौद्ध धर्म प्रचारकहरु पठाएका थिए भनिन्छ । उनले यस कामको लागि आफ्नो छोरा र छोरीलाई यात्राहरूमा पठाएका थिए इतिहासमा पाइन्छ । तर उनकी छोरीको नाम के थियो भन्ने किटानसाथ अझै भन्न सकिएको छैन । सम्राट अशोकले लगभग ४० वर्षसम्म भारतमा शासन गरे, त्यसपछि लगभग २३२ ईसापूर्वमा उनको मृत्यु भएको बताइन्छ । र, भगवान गौतम बुद्धको जन्म ५६३ ई.पू.लुम्बिनी, नेपाल भएको थियो भने देहत्याग (मृत्यु) भारतको गोरखपुर नजीकै कुशीनगरमा ८० वर्षको उमेर (४८३ ई.पू.) भएको थियो ।


