तरुण खबर
९ भाद्र २०७८, बुधबार ०९:१२
काभ्रे जिल्लाको रोशी गाउँपालिका–१२ को साविक भीमखोरी गाविसका ७,८ र ९ वडाहरु मिलाएर १२ नम्बर वडा बनाइएको हो । यो वडामा ४५७ घरधुरी छन् भने २०६८ को जनगणना अनुसार २,७७० जना रहेका छन् । बीपी राजमार्गले एक किलोमिटर मात्र भेटेको यो वडाको घ्याङडाँडा समुन्द्रसतहबाट करिब २६ सय मिटरको उचाइमा छ । ६० किलोमिटर कच्ची सडक रहेको यो वडाको कार्यालय घैयाडाँडा, शिखरपुरमा छ ।
अधिकांश तामाङहरूको बस्ती रहेको यो वडाका जनताको मुख्य पेसा कृषि नै हो । समथर बेंसीदेखि उच्च लेकसहितको विविधता बोकेको रोशी गाउँपालिकाको वडा नम्बर १२ का गँगटे र मिजार टोलबाहेक सबैतिर कच्ची मोटरबाटो पुगेको छ । विद्युतीकरण र खानेपानीको सुविधा सबै घरमा पुगेको छ । हालसालै खनिएका सडकका कारण पहिरो जाने समस्या अन्यत्र जस्तै यहाँ पनि छ । माम्तीबाट हाइटार, हर्कपुुर हँुदै घ्याङडाँडा (लेक) आउने बाटो सहज नभएकाले रोशी गाउँपालिकाको ११ नम्बर वडा हुँदै केराबारी, मजुवाखोला, भोटेसालु, घैयाडाँडा हुँदै आउजाउ गरिन्छ । तर माम्ती हर्कपुर, वडा कार्यालय घैयाडाँडा, शिखरपुर हुँदै केराबारी घ्याङडाँडा पुगिने सडकलाई मुख्य मानिन्छ ।
इलामको कन्यम चियाबारी जस्तो बनाउन सकिने घ्याङडाँडा पर्यटकीय दृष्टिले अत्यन्त सुन्दर ठाउँ यही वडाको शिखरमा पर्छ । करिब २१९ हेक्टर क्षेत्रमा फैलिएको सार्वजनिक जग्गामा निर्माणाधीन भ्युटावर अलपत्र परेको यो रमणीय डाँडाबाट दक्षिण सिन्धुली, सर्लाही र भारतको बिहारसम्म सजिलै देख्न सकिन्छ । उत्तरतिरका अधिकांश हिमाल यहाँबाट देखिन्छ । करिब २६ सय मिटरको उचाइमा रहेको घ्याङडाँडामा ठूलो फुटबल मैदान छ । हरेक वर्ष दसैंका बेला यस क्षेत्रका खेलाडीहरूबीच फुटबल प्रतियोगिता गराइन्छ । तल्लो केराबारीस्थित काली दोभानको गुफा पर्यटकीय गन्तव्य बन्न सक्छ । यो ठाउँ पुग्न माम्तीखोलाबाट चार किलोमिटर मात्र छ ।

पहिले पहिले घ्याङ लेकमा ठूलो जात्रा लाग्थ्यो । सिन्धुली, रामेछाप, काभ्रेको कानपुरलगायत क्षेत्रका हजारौं मान्छे आउँथे । एक रात चल्ने जात्रामा दुईवटा भैंसीको मासु, ११ वटासम्म सुँगुरको मासु बिक्री हुन्थ्यो । तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ त्यो जात्रामा कति मान्छे आउँथे भनेर । झै–झगडा हुन थालेपछि केही वर्षदेखि जात्रा चल्न छाडेको छ । तर परम्परादेखि चलेको जात्रालाई बन्द गर्नुभन्दा कसरी व्यवस्थित गर्ने भन्ने विषयमा योजना बनाउनु आवश्यक छ जस्तो लाग्छ । जात्रा चलाउने विषयमा अहिले छलफल चलिरहेको छ ।
दैनिक १२०० लिटर दूध बिक्री हुने यो वडाका जनताको आर्थिक स्रोत भनेको दूध, तरकारी र अन्य खाद्यबाली नै हो । ५, ७ वर्षदेखि रोजगारीका लागि कोही विदेश गएका छन् भने कोही काठमाडौं केन्द्रित छन् । ट्रेकिङ गाइडका रूपमा काम गर्नेहरू पनि अहिले बढेका छन् । बीपी राजमार्गसँग जोडिएको माम्ती फाँटभन्दा केही माथि पहाडी भेगमा जुनार र सुन्तलाको खेती हुन्छ, तर त्यसलाई व्यावसायिक रूप दिन सकिएको छैन । रोशी–६ को कानगाउँ बीउबिजनका लागि प्रसिद्ध भएजस्तै १२ नम्बर वडा पनि सिलामका लागि प्रसिद्ध नै छ । किसानहरूले कम्तीमा १० हजारदेखि एक लाखसम्मको सिलाम हरेक घरले बिक्री गर्ने गरेका छन् । गाउँका युवाहरू सहर केन्द्रित भएकाले गाउँमा खेतीपाती गर्ने मान्छे पाउन गाह्रो भएको छ । तैपनि हप्ताको तीन ट्रकसम्म तरकारी काठमाडौंको कालीमाटी पुग्छ । अहिले यहाँ एउटा स्वास्थ्यचौकी र पाँचवटा विद्यालय छन् । कक्षा १० सम्म पढाइ हुने एउटा माविमा २५९ विद्यार्थी छन् भने आधारभूत निमाविमा १४९ मात्र विद्यार्थी छन् । तीनवटा प्रावि छ, तर विद्यार्थी संख्या कम छ । भूगोलका हिसाबले भन्ने हो भने विद्यालयको संख्या अपुग छ, तर विद्यार्थी संख्या हेर्ने हो भने भएका विद्यालय धान्न सकिने अवस्था छैन । प्राविधिक र गुणस्तरीय शिक्षा लोकप्रिय नारामै सीमित हुने अवस्था छ ।
हामी जनप्रतिनिधिबाट जनताले ठूलो आशा राखेका छन्, यिनीहरूले जे पनि गर्न सक्छन् भन्ने जनताको आशा र यथार्थबीच निकै ठूलो चुनौती छ । माथि लेकको बस्ती छाडेर बेंसी झर्ने, सक्नेहरू भकुण्डेबेसी, बनेपा र काठमाडौंं सर्ने क्रम नरोकिने हो भने कुनै समय गाउँ रित्तिन सक्छ यो हामी सबैको साझा चुनौती हो ।
(काभ्रे जिल्लाको रोशी गाउँपालिका–१२ वडाअध्यक्ष राम लामा मोक्तानसँग गरिएको कुराकानी)


