जी–सेभेनका शीर्ष नेताहरुको कथन, अफगानीहरुको उद्धार गर्न कसर राखिदैन

जी–सेभेनका शीर्ष नेताहरुको कथन, अफगानीहरुको उद्धार गर्न कसर राखिदैन तरुण खबर ९ भाद्र २०७८, बुधबार ०९:३०
जी–सेभेनका शीर्ष नेताहरुको कथन, अफगानीहरुको उद्धार गर्न कसर राखिदैन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास व्यक्त गरेका छन् । उनले उडानहरूको संख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताएका छन् । तर उनले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गरेका छन् । यता, २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ ।

साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ । अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री बनाएको हो । यसैगरी सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख बनाइएको छ ।

यसैबीच, अफगानिस्तामा समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उनले जानकारी दिए । यसअघि अमेरिकी राष्ट्रपति बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए । उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्वप्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताए । तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पु¥याइनुपर्ने उनको भनाइ छ ।

अफगान नागरिकको उद्धार कार्य समयसीमाभित्रै
“जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो,“ राष्ट्रपति बाइडनले भनेको भनी बीबीसी न्यूजले उल्लेख गरेको छ । कतिपय अमेरिकी फौज फर्किइसकेको र त्यसले उद्धार कार्यलाई प्रभावित नपारेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । नौ दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसहरूलाई उद्धार गरिएको छ । तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन् । राष्ट्रपति बाइडनले ’हाम्रा मानिसहरूलाई बाहिर निस्कन सहयोग गर्न तालिबानहरूले कदम चालिरहेका छन्’ भनेका थिए । तर उनले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहको जोखिमका कारण हवाई उद्धार चाँडै सम्पन्न गरिनुपर्ने बताए ।
अफगानिस्तानमा अमेरिकी बसाइँ लम्बिँदा उक्त समूहले आक्रमण गर्ने जोखिम उच्च हुने उनले बताए । अमेरिकी राष्ट्रपति जो बाइडन क्यानडा, फ्रान्स, जर्मनी, इट्ली, जापान, ब्रिटेन र अमेरिका अनि इयू सम्मिलित जी सेभेन समूहको शीर्ष नेताहरूको भर्चुअल बैठकमा बोल्दै थिए ।

जी सेभेनका अरू साझेदारहरूसँगको छलफल
ब्रिटेन र अरू साझेदारहरूले थप उद्धार उडानहरू सुनिश्चित गर्न अगष्ट ३१ पछि पनि अमेरिकी फौज बस्नुपर्ने बताएका थिए । बैठकको अध्यक्षता गरेका ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले ’अन्तिम क्षणसम्म’ उनको देशले उद्धार कार्य जारी राख्ने बताए । उनले तालिबानहरूलाई अफगान नागरिकलाई समयसीमापछि पनि बाहिरिन अनुमति दिन अनुरोध गरेका थिए । युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लेयनले जी सेभेनका नेताहरूले अफगान नागरिकहरूलाई सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको भन्दै परिस्थितिले दिएसम्म सबै सम्भव हुने सहयोग गर्ने सहमति जनाएको बताइन् ।

काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजार भन्दा बढी ब्रिटिस सैनिक खटिएका छन् । उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन् । त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन् ।