जंगबहादुरको मृत्युसँगै प्रजातन्त्रको जग बसेको हो त ? (सन्दर्भ–फागुन ७)

जंगबहादुरको मृत्युसँगै प्रजातन्त्रको जग बसेको हो त ? (सन्दर्भ–फागुन ७) तरुण खबर ८ फाल्गुन २०७७, शनिबार १०:३७
जंगबहादुरको मृत्युसँगै प्रजातन्त्रको जग बसेको हो त ? (सन्दर्भ–फागुन ७)

परशु घिमिरे

२००७ सालको जनक्रान्तिको थालनी जंगबहदुर राणको मृत्यु सँगसँगै भएको मान्न सकिन्छ । किन भने जंगबहादुरले प्रधानमन्त्रीको पदमा उनका भाइ–भतिजाहरु रोलसँगै उत्तराधिकारी हुँदै जाने जुन व्यवस्था गरे, त्यसले शासनका वास्तविक हकदारहरुलाई बन्चित गरायो । राजाहरुहरु समेत श्री ३ हरुको चंगुलमा परे । देशलाई राणाहरुको चंगुलबाट मुक्त पार्न चालिएका कदमहरुमा ३८ सालको पर्वलाई महत्वपूर्ण स्थान दिनु उपयुक्त हुन्छ । अधिराजकुमार नरेन्द्र विक्रम शाहको नेतृत्वमा माथवर सिंह थापाका छोरा कर्नेल विक्रम सिंह थापा, सनक सिंह टण्डनका छोरा कर्नेल इन्द्र सिंह, धीरमान सिंह बस्नेत, कुलमान सिंह बस्नेत, कर्नेल चन्द्र सिंह पाण्डे, मेजर संग्रामशुर बिष्ट, सुब्बा टंकनाथ होमनाथलगायत ५२ जना व्यक्तिले प्रधानमन्त्री रणोद्वीप सिंह र धीर शमशेरलाई १८८२ जनवरी ६ मा हत्य गर्ने योजना बनाए । तर योजना पुरा हुन नपाउँदै सूचना कर्नेल उत्तरध्वज राजभण्डारीमार्फत धीर शमशेरले पाइसकेकाले जम्मैका जम्मै पक्राउ परे । यीमध्ये ४१ जनालाई निर्ममतापूर्वक काटियो । र, १० जना बाहुन परेकाले उनीहरुलाई चार पाटा मुडाएर देश निकाला गरियो ।  अधिराजकुमार नरेन्द्र विक्रम शाह, बम विक्रम सिंह आदिलाई भारतको चुनारगढमा कैद गरियो ।

राणा शासनको सत्ता ढाल्ने अर्को प्रयास जंगबहादुरका निर्वासित छोरा रण वीर जंग र उनका सहयोगीहरुद्वारा वि.सं.१९४५ (सन् १८८८) मा गरियो । तर यो विद्रोहलाई परिवारिक शक्ति संघर्ष भन्न सकिन्छ । यो संघर्ष व्यापक रुपमा चम्केको थियो । हनुमाननगरदेखि बुटवलसम्म विभिन्न ठाउँमा दंगाहरु भएका थिए । विद्रोहमा लाग्ने ५२ जना व्यक्ति दण्डित भए । प्रधानमन्त्री चन्द्र शमशेरको पालामा कौसिल अड्डाका सुब्बा कुष्णलालले लेखेको मकैको खेतीले अप्रत्यक्ष रुपमा भए पनि राणा प्रशासनको आलोचना गरेर जन चेतना बढाउने काम गरेको थियो । फलस्वरुप कृष्णलाललाई नौ वर्ष र उनका सहयोगीहरुलाई प्रत्यकलाई पाँच–पाँच वर्ष कैद सजाय दिइयो । कारबासमै कृष्णलाल मरे । वि.सं.१९१३ को नेपाल–तिब्बत सन्धिको आलोचना गरेबापत देश निकालामा परेका कुसादेवीका देवीप्रसाद सापकोटाले काशीबाट प्रकाशित गर्ने गरेका गोर्खाली साप्ताहिक पत्रिकाका प्रतिहरु लुकी चोरी काठमाडौं ल्याएर पढिन्थ्यो ।  त्यो पत्रिकाले पनि राजनीतक चेतना जागृत गर्न भूमिका खेलेको छ ।

भारतमा महात्मा गानधीको नेतृत्वमा सञ्चालित स्वदेशी आन्दोलनको देखासिकीमा तुल्सी मेहरले ई.सं. १९२६ देखि चर्खा प्रचारको आडमा जनजागरण गराउन खोजेका थिए । तर प्रधानमन्त्री भीम शमशेरद्वारा उनी कैद भए पछि प्रचार अभियान नै बन्द भयो । त्यसताका पुस्तकालय खोल्न पनि प्रतिबन्ध थियो । पुस्तकालय खोल्न अप्रतक्ष दवाव दिने उद्देश्यले काठमाडौका ४५–४६ जनाले हस्ताक्षर गरी अनुमती मागेका थिए । आवेदन पत्रमा हस्ताक्षर गर्ने जम्मैलाई सय सय रुपैयाँ जरीवाना गरियो । पुस्तकालय खोल्न अनुमति दिने त कुरै थिएन । यो अभियानले पनि जनचेतना बढाउने काम नै ग¥यो । यसै जागरणको फलस्वरुप प्रजातन्त्र स्थापनाको लक्ष्य राखेर वि.सं. १९८८ मा प्रचण्ड खोरखा नामक एक संस्था गोप्य रुपमा काठमाडौंमा खोलियो ।  यो योजना पनि राणा शासकहरुले चाल पाएपछि तुरुन्तै धरपकड सुरु भयो । तीमध्ये खड्गमान सिंह, अंगमान सिंह, मैनाबहादुर र रंगनाथ शर्मालाई आजीवन कारावासको सजाय दिइयो ।

वि.सं. १९५० मा माधवराज जोशीले स्थापना गरेको आर्य समाजका उत्साहित युवकहरुले १९९२ मा स्थापना गरेको महावीर स्कूलको पनि जनचेतना अभिबृद्धिमा  महत्वपूर्ण योगदान छ । नेपाल प्रजा परिषद् नामक एक गुप्त संगठनको पनि तिनताका (१९९३ जेठ २२ गतेका दिन) झोछेंटोलमा स्थापना गरिएको थियो । स्वर्गिय त्रिभुवनका व्यायाम शिक्षक धर्मभक्त माथेमा मार्फत यी संगठनहरुको दरवारसँग राम्रो सम्बन्ध स्थापित थियो ।

वि.सं.१९९७ साल असारदेखि उक्त संस्थामार्फत काठमाडौंमा एकतन्त्रिय शासन विरुद्ध जोडतोडले काम सूरु भयो । तर यो अभियान पनि चार पाँच महीनाभन्दा बढी चल्नै सकेन । शंकास्पद भनिएका व्यक्तिहरुको कात्तिक २ गतेदेखि धरपकड सुरु भयो । उनीहरुमाथि चलेको मुद्दाको फैसला १९९७ सालमा (जनवरी १९ को दिन) सुनायो, जस अनुसार शुक्रराज शास्त्री पचली र मचलीको बीचमा धर्मभक्तलाई सिफलमा झुण्ड्याइएको थियो । दशरथ चन्द र गंगालाललाई एकै साथ गोली ठोकियो । बलबहादुर पाण्डे जेलमै मरेका थिए । तर उनको अहिले चर्चासम्म पनि गरिदैन ।

दोस्रो विश्वयुद्ध पछि अफ्रो एशियाली संसारमा आएको प्रजातन्त्र र स्वतन्त्रता संग्रामको लहरले नेपाललाई पनि छोडेन । राणाहरुको कठोर शासनबाट मुक्त गर्ने अभियान दिनदिनै चर्कदै गयो । जुद्ध शमशेरको शासनकालमा गंगालाल, धर्मभक्त, दशरथ चन्द,शुक्रराज शास्त्रीजस्ता सुधारवादी युवाहरुको हत्य गरियो । २००३ साल असोजमा देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस गठन गरियो भने २००३ साल माघ १२ गतेदेखि १५ गतेसम्म कलकत्ताको भावानीपुर एउटा भेलाले नेपाली राष्ट्रिय काँग्रेसलाई जन्म दियो र, पहिलो महाधिवेसनको मान्यता पनि दिइयो । त्यही भेलाले बीपी कोइरालालाई कार्यवाहक सभापति बनाएको हो । नेपालको जेलबाट भागेर भेलामा पुग्नु भएका गणेशमान सिंह, बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराईलगायत कार्यसमितमा हुनुहुन्थ्यो । माघमा नेपाली राष्ट्रिय काँग्रेसको जन्म भयो फागुनदेखि विराटनगरको जुट मिलमा मजदूर आन्दोलन सुरु भयो । २००६ साल चैत २७,२८ र २९ गते पार्टीको महाधिवेसन बोलाइयो । यही महाधिवेसनले नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस एकिकरण भएर नेपाली काँग्रेसको जन्म भएको हो । यही पार्टीको जगमा अर्थात नेपाली काँग्रेसको क्रान्तिले २००७ सालमा प्रजातन्त्र आएको हो ।