तरुण खबर
१८ भाद्र २०७८, शुक्रबार ०९:०८
काठमाडौं । अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले तालिबानलाई “निर्दयी समूह“ भनेका छन् । उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको बताएका थिए । यद्यपि भविष्यमा आतंकवाद विरुद्धको लडाइँमा उक्त इस्लामिक समूहसँग अमेरिकाले समन्वय गर्नसक्ने “सम्भावना रहेको“ उनको भनाइ छ । तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मङ्गलवार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको हो ।
योसँगै अमेरिकाको सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त भएको छ । अफगानिस्तानमा अहिले तालिबानको नियन्त्रण छ । उसले नयाँ सरकार घोषणा गर्ने तयारी गरिरहेको छ, यसअघि गृह र रक्षा मन्त्रालय तालिवानी नेताहरुले चलाई सकेका छन् । अमेरिकी फौजको अन्तिम टुकडीले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पहिलोपटक सार्वजनिक टिप्पणी गरेका हुन् ।
अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यपक आलोचना खेपेका थिए । उक्त निर्णयका कारण अमेरिकी फौजले वर्षौँ तालिम दिएको र ठूलो धनराशि खर्चेको अफगान सुरक्षा फौजको अस्वाभाविक रूपमा पतन भएको थियो । तालिबानको नियन्त्रणमा भएको तीव्र बिस्तारले हजारौँ विदेशी नागरिक र उनीहरूका लागि काम गर्ने अफगानहरूको हतारहतार उद्धार गर्नुपरेको थियो । बुधवारको पत्रकार सम्मेलनमा जनरल मिली र रक्षामन्त्री अस्टिन दुवैले अफगानिस्तानमा काम गरेका र उक्त व्यापक उद्धारमा खटिएका सैनिकहरूको प्रशंसा गरेका थिए ।
उद्धार गरिएका व्यक्तिहरूलाई विमानस्थलसम्म ल्याउने क्रममा तालिबानसँग गरिएको समन्वयबारे सोधिएको प्रश्नमा अस्टिनले भने– हामीले तालिबानसँग एकदमै थोरै विषयमा मात्र काम गरेका थियौँ । त्यो भनेको सकेसम्म धेरै मानिसलाई र हामीले सक्नेजतिलाई बाहिर निकाल्नु थियो । जनरल मिलीले त्यसमा थप्दै भने– युद्धमा तपाईँले साँच्चै नै गर्नु चाहनु भएको कुरा हैन कि अभियान र फौजलाई पुग्ने क्षति कम गर्न सकिने जति काम गर्नुपर्छ । उनले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस–के विरुद्धको अभियानमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने सङ्केत गरेका थिए । उक्त समूहले गत साता काबुल विमानस्थल बाहिर भएको आत्मघाती हमलाको जिम्मा लिएको थियो बीबीसीको अनलाइनमा समाचार छ । त्यसमा १३ अमेरिकी सैनिकहरू सहित १७० जनाको ज्यान गएको थियो ।
त्यसै समय रक्षामन्त्री अस्टिनले चाहिँ भविष्यमा हुनसक्ने साझेदारीबारे “आफूले कुनै पनि भविष्यवाणी गर्न नचाहेको“ बताएका थिए । अफगानिस्तान छाड्न चाहने कुल एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको बताइएको छ । अमेरिकाले अझै अफगानिस्तानमा एकदेखि दुई सय अमेरिकीहरू रहेको अनुमान गरेको छ ।


