तरुण खबर
१० फाल्गुन २०७७, सोमबार ११:३९
फागुन १८ गते रातीदेखि डेपुटी गभर्नरको पद रिक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर फागुन १८ गते रातीदेखि खाली हुने भएको छ । अहिलेका डेपुटी डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकाल आगामी फागुन १८ गते राती १२ बजे सकिँदैछ । अहिले डेपुटी गभर्नरद्धय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ पनि राजनीतिक आस्थाका आधारमा नियुक्त भएका थिए । सिवाकोटी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली नजिक हुनुहुन्छ भने श्रेष्ठ नेपाली कांग्रेस निकट रहेकाले डेपुटी गभर्नर नियुक्त गरिएको थियो । उनीहरुको कार्यकाल समाप्त भएपछि अर्को ५ वर्षका लागि दुई जना डेपुटी गभर्नर कार्यकारी निर्देशकबाट नै छानिदै छन् । उहाँहरुको नियुक्ति पनि राजनीतिक आस्थाको आधारमा हुने हो ।
यद्यपी राष्ट्र बैंकमा अहिले १७ जना कार्यकारी निर्देशक छन् । ती सबै डेपुटी गभर्नरलाई योग्य मानिन्छन् । यद्यपी, डेपुटी गभर्नरको नियुक्तिको सन्दर्भमा कानुनमा नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा डेपुटी गभर्नरको नियुक्ति गर्नेछ भनिएको छ । उपदफा (१) बमोजिम गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीको अधिकृतहरुमध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नामावली सिफारिस गर्नु पर्नेछ । र, (३) यस दफा बमोजिम डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति बैड्ढको सेवाबाट स्वतः निवृत्त भएको मानिनेछ ।
राष्ट्र बैंकभित्र व्यवसायिकताको हिसावले एक जना अर्थशास्त्रको र अर्काे एकाउण्टको पृष्ठभूमिको व्यक्ति छनौट भए उत्तम हुने तर्क कर्मचारीहरुको छ । राष्ट्र बैंकको दोस्रो शक्तिशाली र आकर्षक पद डिपुटी गर्भनर हो । त्यसैले पनि सबै १७ जना डेपुटी गभर्नरको दौडमा उत्रिएका हुन् ।
यसअघि नियुक्ति भएका डेपुटी गभर्नर पनि राजनीतिक आस्थाका आधारमा नियुक्त भएकाले लविङमा प्रतिश्पर्धा भएको हो । अहिले पनि प्रधानमन्त्री ओली निकट व्यक्ति नै डेपुटी गभर्नर हुने सम्भावना छ । नेपाल कम्युनिष्ट पार्टी अनौपचारिक रुपमा बिभाजित भैसकेकाले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षका व्यक्ति डेपुटी गभर्नर हुने सम्भावना बन्द भएको छ । एक जना नेकपा ओली पक्षधर र अर्को नेपाली कांग्रेस निकट रहेको कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बनाउने सम्भावना पनि बलियो बन्दै गएको छ ।
राष्ट्र बैंकको कार्यकारी निर्देशकमा भुवन कँडेल, नेफिल मताङ्गी मास्के, निलम ढुंगाना तिम्सिना, देवकुमार ढकाल वरियताका आधारमा माथि छन् । डा.गुणाकर भट्ट, मुकुन्द क्षेत्री, पिताम्बर भण्डारी, क्रृषिकेश भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ, प्रदिपराज पौडेल, नरेश शाक्य, सुमनकुमार अधिकारी, बमबहादुर मिश्र, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, रामबहादुर मान्धर पनि डेपुटी गभर्नरको दौडधुपमा देखिएका छन् । क्षमताको हिसावले पिताम्बर भण्डारी र भुवन कँडेल राष्ट्र बैंकमै अब्बल मानिन्छन् ।
अहिले डा.गुणाकर भट्ट राष्ट्र बैंकको अनुसन्धान बिभागको प्रमुख तथा प्रवक्ता छन् । अमेरिकाबाट पिएचडी गरेका भट्ट बैंक तथा वित्तका बारेमा राम्रो ज्ञान भएको बताइन्छ । नेकपा निकट डा. प्रकाश कुमार श्रेष्ठलाई डेपुटी गभर्नर बनाउने लबिङ सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको सल्लाहकार बनाएका श्रेष्ठ राजनीतिक आधारमा पनि बलिया उम्मेदवार मानिन्छन् । कानुनमा बरियता तथा कार्य क्षमताका आधारमा नियुक्ति गर्ने व्यवस्था भएपनि राजनीतिक आस्थाका आधारमा डेपुटी गभर्नर नियुक्त हुने निश्चित भएकाले, को डेपुटी गभरर्नर बन्छ अहिलै नै भन्न गाह्रो छ ।


