तरुण खबर
२२ भाद्र २०७८, मंगलवार १०:२५
काठमाडौं । २०७८ भदौ २२ गते मंगलबार, आज कुशे औंसी । कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने गरिन्छ । आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने गर्ने गरिन्छ । आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ, त्यो धारण नगरी कुनै पनि धर्म–कार्य गरिँदैन ।
कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरूले यजमानका घरघरै यही कुशे औँसीमा पु¥याउँदछन् । यजमानहरूले पनि सिधा–दक्षिणा आदिद्वारा पुरोहितलाई सम्मान गर्दछन् । कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरू कहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् ।
गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्छन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ–आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदा दान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।
र, नेपाली साहित्यका प्रणेता श्रृङ्गारिक युवा कवि मोतीराम भट्टको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रम सहित साहित्यीक कार्यक्रम गर्ने गरिन्छ ।


