तरुण खबर
१० फाल्गुन २०७७, सोमबार ११:५४
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन एक गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ ब्याजदरअनुसार बैंकले साधारण बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । साथै बैंकले कल डिपोजिटमा १ प्रतिशतमाथि ब्याजदर निर्धारण गरेको छ । हाल बैंकले १६ प्रकारका साधारण बचतखाता सञ्चालनमा छन् । त्यसैगरी बैंकले ५ प्रकारका विदेशी मुद्रा बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले मुद्दति खातामा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मलाई ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मलाई ६ दशमलब ५० प्रतिशत र १ वर्षभन्दा माथि ७ प्रतिशत ब्याज दिने जनाएको छ । साथै संस्थागत मुद्दतितर्फ ३ महिनादेखि ६ महिनासम्मलाई ४ दशमलब ६० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मलाई ५ दशमलब ५० प्रतिशत र १ वर्षभन्दा माथि ६ दशमलब ६० प्रतिशत ब्याज दिने जनाएको छ । यसैगरी, बैंकले कर्जातर्फ ७ दशमलब २४ प्रतिशत वेसरेट र ३ दशमलब ३४ प्रतिशत स्प्रेडदर कायम गरी ब्याजदर निर्धारण गरेको छ । हाल बैंकको ३० प्रकारका कर्जाका प्रोडक्टहरु छन् । जसमा बैंकले न्यूनतम ९ दशमलब २४ प्रतिशतदेखि अधिकतम ११ दशमलब २४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंकले सवारी कर्जा, सेयर धितो कर्जा, ओभरड्राफ्ट, डिमाण्ड लोन ११ दशमलब २४ प्रतिशतमाथि ब्याजदरमा दिने उल्लेख गरेको छ । साथै, ५ वर्षदेखि २५ वर्षसम्म घर कर्जाको ब्याजदर समेत ११ दशमलब २४ प्रतिशत माथि हुने बैंकले जनाएको छ । बैंकले फिक्स्ड ब्याजदरतर्फ ५ वर्षसम्मको घर कर्जा ९ दशमलब ९९ प्रतिशत, अटो लोन १० दशमलब २४ प्रतिशत र अन्य पर्सनल लोन १० दशमलब ९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, ५ वर्षदेखि १० वर्षसम्मको घर कर्जा १० दशमलब ९९ प्रतिशत, अटो लोन ११ दशमलब २४ प्रतिशत र अन्य पर्सनल लोन ११ दशमलब ९९ प्रतिशत फिक्स्ड ब्याजदर बैंकले निर्धारण गरेको छ ।


