इतिहासमा बैतडी, के हामीले गौरवपूर्ण इतिहास जोगाएका छौं ?

इतिहासमा बैतडी, के हामीले गौरवपूर्ण इतिहास जोगाएका छौं ? तरुण खबर २ माघ २०७७, शुक्रबार १२:३२
इतिहासमा बैतडी, के हामीले गौरवपूर्ण इतिहास जोगाएका छौं ?

परशु घिमिरे

२०५६ सालको आम निर्वाचनमा म करिब एक महीना डडेलधुरा, डोटी, अछाम जिल्लाको केही क्षेत्र घुमेको थिएँ । खास गरी डडेलधुराका अधिकांश गाविसहरु (२०५६ मा गाविसहरु नै थिए) घुमेको थिएँ । त्यसबेला भोगबहादुर थापा डडेलधुरा जिल्लाको प्रहरी प्रमुख थिए । उनकै अनुकम्पाले डडेलधुराको स्यौलेमा केही दिन बस्ने अबसर पाएको थिएँ । डीआईजीबाट अबकाश पाएका थापा र म एकै स्कूलमा पढेका हौं । उनी दुई व्याच सिनियर हुन् । र, पनि पारिवारिकझै हार्दिकतापूर्ण सम्बन्ध थियो र अहिले पनि छ ।

अधिकांश ठाउँमा आदरणीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँगै घुम्ने अबसर पाएको थिएँ भने केही ठाउँमा डडेलधुराका पूर्व सभापति हिरादत्त भट्टसँगै घुमेको थिएँ । सुदूपश्चिमका जिल्लाहरु राजधानी काठमाडौंको चासोमा परेकै छैन भनियो भने सायद गलत हुदैन । किन भने त्यस क्षेत्रको चासो जगाउने गरी कुनै पनि सरकारले कामै गरेका छैनन् । त्यसबेला शक्तिशाली प्रदेश सरकार र स्थानिय सरकारहरु पनि थिएनन् । पहिलो पटक शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मात्र काठमाडौंसँग सुदूरपश्चिका अधिकांश जिल्ला जोडिएका हुन् । उहाँसँग हिड्दाका रोचक पक्षका बारेमा अलगै लेख लेख्ने छु ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमध्ये बैतडी पनि एक हो । सहित्यकार एवं पूर्व जर्नेल राजेन्द्र थापाले आप्mनो कवितामा सूर्य पनि अस्ताउन मात्र पुग्छन् भनी उल्लेख गरेका छन् । आज मैले पीछडिएको सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको चर्चा गर्ने मुर्खता गरेको छु । मुर्खता किन भनेको हुँ भने यो सानो आलेखमा बैतडीको समग्र पक्ष केलाउन सम्भव नै छैन । यसर्थ कोट्याउने प्रयास भने गरेको छु । यसअघि बैतडीका मठ मन्दिरहरू, जहाँ दर्जनौं तीर्थस्थल छन् शिर्षकमा लेख लेखेर धार्मिक एवं सांस्कृतिक पक्षको सामान्य चर्चा गरेको थिएँ । बास्तवमा सुदूरपश्चिमका जिल्लाहरु प्राकृतिक रुपमा मात्र होइन, साँस्कृतिक रुपमा पनि भर्जिन नै छन् ।

बैतडीको नामाकरण
पौराणिक ग्रन्थहरूका अनुसार बैतडी जिल्लाको पुरानो नाम वायोतड हो । संस्कृत भाषमा वायु भनेको हावा र उत्तड भनेको उन्मुख हो । त्यसैले उच्च पर्वत वायोतडबाट जिल्लाको नाम राखिएको हो भनिन्छ । यो शब्द अपभ्रंश भएर बैतड र बैतडी भनिएको हो । जिल्लामा ग्वाले केदारको नामले यो पर्वत प्रसिद्ध छ । भारतसँग सीमाना भएकाले उत्तरमा चौलाने नदी, दक्षिणमा लिछोडी डाँडो, सल्यानाकुनो, भुल्कुडोको लेक र विजोडोको लेक, पूर्वमा सेती नदी, ढोले र घोल्चरको लेक र पश्चिममा महाकाली नदीले सीमा छट्याएको छ ।

२०२८ सालको जनगणनाअनुसार बैतडीको कुल जनसंख्या एक लाख २८ हजार ६९६ थियो भने २०६८ जनगणनाअनुसार दुई लाख ५० हजार ८९८ जनसंख्या मात्र छ । धेरै बस्तीहरु बसाई सरी धनगढी आएका छन् भने केही व्यक्तिहरु कैलाली, कञ्चनपुर पनि आएका छन् । बैतडी जिल्लाको लेकहरूमा वान्किया, लालो, गुल्जार, चिलढुंग्रो धार आदि छन् । यिनीहरूमध्ये वान्किया लेक हिमाली क्षेत्रमा पर्छ । अन्य लेकहरूभन्दा वान्किया अग्लो छ । वान्किया लेकको चुचुराको उचाइ समुद्री सतहबाट करिब ६,९३६ मिटर छ । पहिले–पहिले बाह्रै महिना हिउँले ढाकेको सुनिन्थ्यो, तर अहिले खैरो चुचुरो मात्र देखिन्छ । अहिले पनि कहिलेकाहीँ हिउँ देख्न पाइन्छ । बैतडी जिल्लामा २,१३४ मिटर (करिब ७ हजार फिट) भन्दामाथि बस्ती छैन ।

बैतडीका नदी नाला
बैतडी जिल्लाको पूर्वमा सेती नदी, पश्चिममा महाकाली र उत्तरमा चौलाने नदी छ । तर यी नदीको उपयोग गरेर जनाको आयमा वृद्धि गर्ने कुनै कार्यक्रम ल्याउन सकिएको छैन । महाकाली नदी कालापानीभन्दा माथि लिपुलेकको कन्दराबाट निस्किन्छ र दार्चुला, जोलजिवी र झुलाघाट हुँदै अघि बढ्छ । व्यासऋषि हिमालबाट निस्केको चौलाने नदी मार्मा, देथला हुँदै बैतडीको सेरा भन्ने ठाउँमा महाकाली नदीसँग मिसिन्छ । ढलेको लेकबाट सुर्नाया गाड (खोला) निस्कन्छ । यो खोला पनि जाख बलराम पुगेर महाकाली नदीमा मिसिन्छ । महाकालीमा मिसिनुअघि सुर्नाया खोलामा स–साना खोलानाला मिसिन्छन् । यस खोलाको जलाधार क्षेत्र १८८ वर्ग किलोमिटर छ । सन् १९६६ देखि १९७१ सम्म डिपार्टमेन्ट अफ इरिगेसनले लिएको तथ्यांकअनुसार प्रतिसेकेन्ड ६.५२६ घन मिटर पानीको बहाव पाइएको थियो । त्यहीँ अवधिमा अधिकतम बहाव प्रतिसेकेन्ड ३७३ घनमिटर र न्यूनतम ०.२० घनमिटर पाइएको थियो, तर अहिले ग्लोवल वार्मिङका कारण त्यो पानी कम हँुदै गएको छ ।

ढिक गाड, न्वांग्री गाडलगायत स–साना नदीहरू पनि छन् । ढोलेको लेकबाट सुरु भै न्वांग्री गाड जिल्लाको दक्षिण–पूर्वतिर बग्दै तितरखोचामा सेती नदीमा मिसिन्छ । यहाँ ठूलो ताल पनि छ । सो ताल स्वराड पलेटा भन्ने ठाउँदेखि करिब डेढ किलोमिटर पूर्वको डाँडामा पाता भूमेश्वरमा छ । तर हामीले कुनै पनि ठाउँको इतिहास, वर्तमान र भविष्यबारेमा जानकारी गराउन सकेका छैनौं । स्थानीय तहहरू, प्रदेश सरकारहरूको ध्यान यसतर्फ जान सकेको छैन । जनताको समृद्धिमा भन्दा आ–आप्mनै समृद्धिमा ध्यान गएझै देखिन्छ ।

इतिहासमा बैतडी
बैतडी कहिल्यै स्वतन्त्र राज्य भएको इतिहास पाइएको छैन । खोज, अनुसन्धान गर्दा कुनै प्रमाण पाइन्छ वा पत्ता लाग्छ कि ? सम्भवतः कुमाउँको कुत्यूर वंशका शासकहरूको इतिहाससँग बैतडीको धेरै कुरा मिल्ने इतिहास भएकाले कुमाउँबाट यो क्षेत्र पनि शासित थियो कि भन्ने आशंका गर्न सकिन्छ । तर पूर्वमध्यकालमा यो क्षेत्र खसिया मल्लहरूको अधीनस्थ थियो । खसिया मल्लहरूले ईसाको दशौं शताब्दीदेखि चौधौं शताब्दीको अन्तसम्म एक बृहत् राज्यमा शासन गरेका थिए भन्न सकिन्छ । मल्लहरूको राज्य पूर्वमा त्रिशूली गण्डकीदेखि पश्चिममा गढवालसम्म, उत्तरमा ताक्लाकोटदेखि दक्षिणमा तराई क्षेत्रसम्म फैलिएको थियो । खसिया मल्लहरूको चकचकी हुँदा पनि डोटी भने एक राज्य थियो । तर शक्तिशाली खसिया मल्लहरूको शासनकालमा उनीहरूकै अधिनस्थ रजौटाको रूपमा थियो भनी इतिहासकार योगी नरहरिनाथले इतिहास प्रकाशमा सन्धिपत्र संग्रहको पृष्ठ ७७३ मा उल्लेख गरेका छन् । यसर्थ बैतडीको इतिहास भन्नु नै डोटी राज्यको इतिहास हो ।

खसिया मल्लहरूको पतन भएपछि डोटी राज्यको शक्ति बढ्दै गयो । डोटी राज्यको अधिनमा धेरै सामन्तहरू राखिएका थिए । डोटीका राजा मान्धाता शाहीले बझाङमा पनि हमला गरेका थिए । डोटीका राजाहरूले ठूलो इलाकामा शासन गरेका थिए भन्न सकिन्छ । बैतडीमा कुल्लेकोट र राउलाकेदार, स्वराडमा चन्द्रवंशीहरूले स्वतन्त्र भई राज्य गर्ने प्रयास गरेका थिए, तर डोटीका राजाहरूले उनीहरूको प्रयास असफल बनाएका थिए । र, चन्द्रवंशहरूलाई सामन्त बनाएको इतिहास पाइन्छ । डोटीका अन्तिम राजा दिपक शाही थिए । उनकै शासनकालमा नायब बहादुर शाहले पठाएको फौजले हमला गरी एकीकरणको अभियानमा डोटीलाई पनि मिलाए । बहादुर शाहको जन्म वि.सं. १८१४ र मृत्यु १८४२ भएको हो । उनी पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ पनि थिए । उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकीकरणको अभियानलाई तीव्र गतिले अघि बढाए । पिताको सपना साकार पार्न पश्चिमका राजा–रजौटाहरूको समाप्ति यिनको चाहना थियो । भाउजू राजेन्द्रलक्ष्मी र भतिजा रणबहादुर शाहको अनेकौं षड्यन्त्र र दाउपेचको सिकार बन्नुपरे तापनि वि.सं. १८४२ राजेन्द्रलक्ष्मीको मृत्युपश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा महत्वपूर्ण योगदान दिए ।

तर उनले आफ्ना पिताले स्थापित गरेका केही नियमहरूलाई उल्लंघन गरे । कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको विपरीत उनले सर्वजित राना मगरलाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे । भारदारको हत्या गर्ने प्रचलन भीमसेन थापाको शासनमा चरममा पुगेको थियो । उनलाई पहिले फत्तेबहादुर शाह भनिन्थ्यो, तर पछि बहादुर शाह मात्र भन्न थालियो । उनले शिक्षादीक्षा गोरखा र नुवाकोट दरबारमा पाएका थिए । उनी सामान्य लेखपढ गर्न जान्दथे । सैद्धान्तिक शिक्षा उनले प्रशस्त पाएका थिए । आफ्ना बाबु पृथ्वीनारायण शाहसँगै नुवाकोट दरबारमा कूटनीतिक वातावरणमा बस्ने मौका पाएको हुँदा नेपालका भारदारसँग उनको सम्पर्क नजिकबाट भयो भनिन्छ । कतिपय इतिहासकारहरूले उनी योग्य र इमानदार भारदारहरूको चयन गर्दथे भनेका छन् । झुलिचन्द्रले नेपाली फौजसँग कठपत्तेको डाँडोमा (बैतडीको खलंगादेखि पूर्वमा) एउटा किल्ला बनाएका थिए । तर नेपाली फौजसँग झुलिचन्द्रको केही सिप चलेन । यिनी लडाइँको मैदानमै पक्राउ परे र पछि मारिए भन्ने स्थानियको लोकोक्ति छ । त्यसै लडाइँका कारण बैतडीमा हैजा र विफर फैलिएका कारण गाउँलेहरू गाउँ छाडी भागेका थिए भनिन्छ । बैतडीको एउटा गाउँ वरकुरालीमा बस्ने योगी बरंनाथले नेपाली फौजलाई गोप्य रूपमा रसदपानीको व्यवस्था गरिदिएका थिए । नेपाली फौजले रसदपानी सहयोग गरेबापत योगीलाई पुरस्कारस्वरूप जग्गा बिर्ता दिइएको थियो । उनका सन्तानसँग पछिसम्म जग्गा बिर्ता दिएको प्रमाण थियो भनिन्छ ।