चीन विरुद्ध बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

चीन विरुद्ध बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता तरुण खबर ३१ भाद्र २०७८, बिहीबार १०:१५
चीन विरुद्ध बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

काठमाडौं । बेलायत, अमेरिका र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् । उक्त कदम चीन लक्षित रहेको बताइएको छ । बीबीसीका अनुसार सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ । ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेट्नेछ ।

यसअघि २ डिसेम्बर, २०२० मा अस्ट्रेलियाले चिनियाँ कूटनीतिज्ञले फर्जी र घृणायुक्त ट्वीट गरेकोबारे माफी माग गरेपनि चीनले त्यसो गर्न अस्वीकार गरेको थियो । चीनले अस्ट्रेलियाले उसका सेनाले अफगानिस्तानमा गरेका युद्ध अपराधबाट सार्वजनिक ध्यान अन्यत्र मोड्न खोजेको आरोप लगाएको छ । अस्ट्रेलियाली सैनिकले अफगान बालकको हत्या गरिरहेको फर्जी तस्बिर शेयर गरेको भन्दै क्यानबेराले बेइजिङ्सँग माफी माग्न भनेको थियो ।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित छन् । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ । सन् २०१६ मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो । त्यो अस्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्बन्धी सम्झौता थियो ।

चीनले तत्काल प्रतिक्रिया जनाउँदै ब्रिटेन, अमेरिका र अस्ट्रेलियाको पछिल्लो कदमको निन्दा गरेको छ । एउटा प्रत्यक्ष भिडिओ सम्मेलनका क्रममा तीनवटै देशका नेताहरूले सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई बल दिने बताएका छन् । तर वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले भने ती राष्ट्रहरूमा शीतयुद्धको मानसिकता रहेको आरोप लगाएको छ । नयाँ पनडुब्बीहरूमा आणविक हतियार भने नहुने बताइएको छ ।