तरुण खबर
४ आश्विन २०७८, सोमबार १०:१६
काठमाडौं । ललितपुर महानगरपालिका–१० का वडाअध्यक्ष नरसिंह व्यञ्जनकार जनसेवाश्री विभूषित भएका छन् । ८१ वर्षिय वडा अध्यक्ष व्यञ्जनकार २०२७ सालदेखि २०७८ सालसम्म पनि वडा अध्यक्ष छन् । कुपण्डोल, ज्वालमा जन्मनु भएका व्यञ्जनकार निरन्तर वडाअध्यक्ष नै रहेका छन् । उनले मन्त्री बन्ने, सांसद बन्ने, मेयर बन्ने महत्वकांक्षा कहिल्यै राखेनन् ।
सरकारका वरिष्ठ मन्त्री गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा विभूषण सिफारिस समिति तय गरिएको थियो । दुई साताअघि बसेको मन्त्रिपरिषद्को बैठकले समितिमा ६ जना स्वतन्त्र सदस्य नियुक्त गरेको थियो । त्यस्तै, २०७६ सालमा ६ सय ३३ तथा २०७७ सालमा ५ सय ९४ जनालाई विभूषण दिने निर्णय गरिएको थियो । विकृति हटाउने भन्दै ०६८ मा विभूषण सिफारिस समितिले १३ जनालाई मात्र विभूषण वितरण गर्ने सिफारिस गरेको थियो, तर सरकारले धेरैलाई दिन चाहँदा निम्तिएको विवादका कारण विभूषण वितरण नै रद्द गरियो ।
०७६ मा नियमावली नै संशोधन गरेर एक वर्षमा बढीमा दुई सयजनालाई दिने निर्णय गरिएकोमा तीन महिनाभित्र नियमावली संशोधन गरेर सरकारले तोकेअनुसार दिने प्रावधान राखियो । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा घोषणा हुने पदक आफन्तलाई वितरण गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । तर केपी शर्मा ओलीकै पालामा यो विकृति शुरु भएको हो ।
राज्यले विभूषणका लागि छनोट गरेका १९२ जना व्यक्तिले अझैसम्म पदक लिएका छैनन् । २०६७ सालदेखि २०७५ सालसम्म विभिन्न क्षेत्रमा योगदान पु¥याएका १९२ जना व्यक्तिले पदक नलिएको सूची गृहमन्त्रालयको वेवसाइटमा छ । विभूषणका लागि छनोटमा परेपनि अहिलेसम्म पदक बुझ्न बाँकी हुने सूचीमा मानवअधिकारकर्मीत्रय दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, सुवोध प्याकुरेल, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि छन् ।


