तरुण खबर
११ आश्विन २०७८, सोमबार ११:३६
काठमाडौं । लामो समय जर्मनीको चान्सलरको उत्तरदायित्व वहन गरेकी एङ्गेला मेर्कलको उत्तराधिकारी चयनका लागि आइतवार जर्मन नागरिकहरूले संसदीय निर्वाचनमा मतदान गर्दैछन् । ८ करोड ४१ लाख १४ हजार २३६ जनसंख्या भएको जर्मनीमा लोकप्रिय मानिएकी मेर्कलको उत्तराधिकारी चयन तीव्र प्रतिस्पर्धाबाट हुने ठानिएको छ । बर्लिनका सडकहरूमा हरेक वर्ष आयोजना हुने म्याराथन भइरहँदा त्योभन्दा ठूलो प्रतिस्पर्धा देशको कार्यकारी पदका लागि हुँदैछ ।
बीबीसीका अनुसार चुनावी अभियानको अन्त्यतिर आइपुग्दा मेर्कल कन्जर्भेटिभ उम्मेदवार आर्मिन लासेटको गृहनगर आचेनमा आयोजित चुनावी सभामा सहभागी भइन् । अन्तिम मतसर्वेक्षणहरूले उनीहरूको असम्भावित विजय हुनसक्ने सङ्केत देखाएका छन् । युरोपको सबैभन्दा शक्तिशाली अर्थतन्त्रको नेतृत्वमा कसलाई पु¥याउने निर्णय जर्मनीका करिब ६ करोड मतदाताहरूले गर्दैछन् । आइतवार साँझ मतदान सकिँदासम्म कसले चुनाव जित्दैछ भन्ने स्पष्ट सङ्केत देखिने बताइएको छ ।
जर्मन राजनीतिको सबैभन्दा उच्च पदबाट बाहिरिनुभन्दा केही साताअघि मर्केल आफैँ चुनावी ¥यालीहरूमा देखा परिन् । निकै अप्रत्यासित मानिएको चुनावी चहलपहल मर्केल ¥यालीमा नआउँदासम्म तातेको थिएन । को सत्तामा छ भन्ने कुराले साँच्चिकै महत्व राख्छ– मतदानको ४८ घण्टाअघिसम्म उनी मतदाताहरूलाई चेतावनी दिँदै थिइन् ।
उनले जर्मनीको स्थिरता र युवाहरूको भविष्य उनका उम्मेदवार आर्मिन लासेटले मात्रै सुनिश्चित गर्न सक्ने सन्देश दिने प्रयास गरेकी थिइन् । यो निर्वाचनको परिणाम निकै अनिश्चित छ । एकतिहाइ मतदाताहरू चुनावी अभियानसम्म पनि कसलाई मत दिने भन्नेमा अनिश्चित थिए । ठूलो संख्यामा जर्मनहरूले यसअघि नै मतदान गरिसकेका छन् । मतसर्वेक्षणले महिनौँसम्म कहिले एक पक्षले त कहिले अर्को पक्षले जित्ने देखाइरहेका थिए । प्रारम्भिक सर्वेक्षणहरूमा त्यहाँको कन्जर्भेटिभ सीडीयू र उसको बभेरियन भातृपार्टीले अग्रता लिएका थिए ।
एउटा बिन्दुबाट ग्रीन पार्टी अगाडी आएको थियो। तर त्यसलाई ओलाफ सल्ट्सको सोशल डेमोक्याट्सले उछिन्यो । चान्सलरको प्रतिस्पर्धामा रहेका तीन उम्मेदवारमध्ये ओलाफ सल्ट्स सबभन्दा बलिया देखिएका छन् । मर्केलको उपप्रमुख भएर काम गरेका सल्ट्सलाई प्रतिद्वन्द्वी कन्जर्भेटिभ उम्मेदवारहरूसामु आफूलाई मर्केलकै उत्तराधिकारीको निरन्तरताका रूपमा देखाउन सजिलो भएको छ । तर उनले चुनाव जितिहाले पनि उनलाई सरकार बनाउन अरू दुईवटा पार्टीको सहयोग आवश्यक देखिन्छ । मेरो लागि सबैभन्दा बलियो गठबन्धन मतदाताहरूसँग हुन्छ । किनभने उनीहरूले मलाई जति बलियो गरी जिताउँछन् मलाई सरकार गठन गर्न त्यति नै सहज हुन्छ– उनले भनेका छन् । ग्रीन पार्टीका लागि यो निर्वाचन सबैभन्दा ठूलो अवसर हो । जर्मन मतदाताहरूका लागि जलवायु परिवर्तन सबैभन्दा ठूलो मुद्दा हो । तर ग्रीन पार्टीले सङ्घीय संसद्मा एक पटक मात्रै १० प्रतिशतभन्दा बढी मत जुटाएको छ ।
यो पार्टीबाट उम्मेदवार रहेकी आनालेना बेयरबर्कले ठूलो जनघनत्व भएका दुईवटा सहरमा १९० जनाको ज्यान जानेगरी आएको बाढीको प्रकोपका बावजुद पनि गत बर्खामा समर्थन पाउन सकिनन् । बर्लिनमा भेटिएका एक व्यक्तिले जलवायु परिवर्तन आफ्नो प्रमुख मुद्दा भए पनि अन्य पार्टीहरू पनि त्यो विषय उठाउनका लागि उत्तिकै सक्षम रहेको बताए । शनिवार आर्मिन लासेटले मतदाताहरूसँग नवीकरणीय ऊर्जाका क्षेत्रमा जर्मनी धेरै पछि परिसकेको भन्दै त्यस क्षेत्रमा काम गरिनुपर्नेमा जोड दिए ।
ग्रीन पार्टीसँग धेरै विषयमा मतभिन्नता देखाउने लिबरल एफडीपी पार्टी पनि जलवायु परिवर्तनको मुद्दा लिएर युवा मतदातामा पुगेको छ । दुवै पार्टीको सरकार गठन गर्ने वा प्रमुख सत्ता साझेदार बन्ने उत्तिकै सम्भावना रहेको औँल्याइएको छ । अबको सरकार जलवायु परिवर्तनका विषयमा सक्रिय प्रभाव राख्ने अन्तिम सरकार हुनेछ– आनालेना बेयरबर्कले ग्रीन पार्टी सरकारमा पुग्नुपर्नेमा जोड दिँदै अन्तिम टेलिभिजन बहसमा मतदाताहरूसँग भनिन् ।
तर लिबरल पार्टीकी क्रिश्चियन लिन्डनर ग्रीन पार्टीले भने जस्तो तहमा जर्मनी गइहाल्नुपर्ने आवश्यकता नरहेको बताउँछिन् । आइतवारसम्म चुनाव जित्ने पार्टीबारे धेरै कुरा थाहा हुने भए पनि त्यसपछि बन्ने सरकारबारे थाहा पाउन जर्मनहरूलाई अझै केही समय लाग्ने देखिन्छ । चुनाव जित्ने पार्टीले सरकार गठनका लागि गठबन्धन बनाउनुपर्ने हुन्छ र त्यो कार्य त्यति सहज नभएको विश्लेषण गरिएको छ ।


