गोकर्णेश्वर नगरपालिकाको नामाकरणमा गोकर्ण मन्दिरको महत्व

गोकर्णेश्वर नगरपालिकाको नामाकरणमा गोकर्ण मन्दिरको महत्व तरुण खबर ११ आश्विन २०७८, सोमबार ११:४०
गोकर्णेश्वर नगरपालिकाको नामाकरणमा गोकर्ण मन्दिरको महत्व

काठमाडौं । राजधानी काठमाडौँको उत्तरपूर्वमा अवस्थित ५८.५० वर्गकिमि क्षेत्रफल ओगटेको गोकर्णेश्वर नगरपालिका नेपाल सरकारको २०७१ मंसिर १६ गतेको निर्णयबाट साबिक सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरूलाई समेटी स्थापना भएको नगरपालिका हो । यस नगरपालिकाको नामांकन हाल वडा नम्बर ४ मा रहेको श्री गोकर्णेश्वर महादेव मन्दिरको नामबाट भएको हो । नौवटा वडा रहेको गोकर्णेश्वर नगरपालिकको केन्द्र जोरपाटी तोकिएको छ ।

नगरपालिकाको पूर्वमा कागेश्वारी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला, पश्चिममा काठमाडौँ महानगरपालिका, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा काठमाडौँ महानगरपालिका र कगेश्वरी मनोहरा नगरपालिका पर्दछन् । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नगरपालिकाको जनसंख्या १,०७,३५१ रहेकोमा हालको वृद्धिलाई दृष्टिगत गर्दा यहाँको जनसंख्या एक लाख पचास हजारभन्दा बढी भएको अनुमान गर्न सकिन्छ । भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिकस्थल, पवित्र बागमती नदीले सुशोभित यस नगरपालिकाको भूवनोटमा बेसी, भीरपाखा, फाँट र जंगल आदि छन् । उत्तरी सिमानामा रहेको शिवपुरीको चुचुरो काठमाडौं जिल्लाकै अग्लो स्थान हो । जसको उचाइ २,७३२ मिटर अर्थात् ८,९६२ फिट छ भने सुन्दरीजलको उत्तरपूर्वमा रहेको बोर्लाङडाँडाको उचाइ २,४२८ मिटर छ ।

भौगोलिक क्षेत्रफल तथा जनसंख्याको हिसाबले काठमाडौं जिल्लाकै दोस्रो ठूलो नगरपालिका भए पनि वडा संख्याको हिसाबले गोकर्णेश्वर नगरपालिका ठगिएको छ । जनसंख्याका आधारमा मुलुककै सबैभन्दा ठूलो साविकको जोरपाटी गाविस (८४ हजार) समेत सुन्दरीजल, नयाँपाटी, बालुवा र गोकर्णलाई मिसाएर २०७३ फागुन २६ गते नौवटा वडासहितको गोकर्णेश्वर नगरपालिका घोषणा गरिएको हो । साविकको जोरपाटी गाविसलाई पाँचवटा वडा र अरु चारवटा गाविसलाई एक–एक वडा कायम गरिएको छ । नगरपालिकाको दक्षिणतर्फ धेरै नै घनाबस्ती रहेको छ भने उत्तरतिर धेरै नै पातलो बस्ती रहेको छ । भौगोलिक अवस्था तथा सुविधाका हिसाबले यति विषम नगरपालिका मुलुकमा सायदै होलान् । उत्तरतिरको चिसापानी क्षेत्र अहिले पनि दुर्गमको अवस्थामै छ । दक्षिणतिरको जोरपाटी क्षेत्र सुविधासम्पन्न मानिन्छ । त्यसो त तारेभीर, मूलखर्क, चिसापानी गाउँहरू पनि दुर्गम तथा विकट छन् । यी गाउँहरू जति दुर्गम तथा विकट छन्, सम्भावना पनि त्यति नै धेरै देखिन्छन् । धेरै नै घना शहरी क्षेत्र जोरपाटीसमेत रहेको यस नगरपालिकामा जनसंख्या वृद्धि काठमाडौं उपत्यकाको औसतभन्दा माथि छैन ।

नगरपालिकाको २०७५ सालको एक वर्षको अभिलेख हेर्ने हो भने जन्मदर्ता ८२१ देखिन्छ । एक लाखभन्दा बढी जनसंख्या भएको नगरपालिकामा एक वर्षमा ८२१ जनाको जन्मदर्ता हुनु भनेको जनसंख्या वृद्धि नियन्त्रणका लागि सरकारले गरेको प्रयास सफल भएको हो । अर्थात् जन्मदर्ता ८२१ हुँदा मृत्युदर्ता २६७ वटा छ । जन्मदर्ताभन्दा बसाइँसराई गरेर आउनेहरूको संख्या धेरै देखिएको छ । यो एक वर्षमा बसाइँसराई गरी आउनेको दर्ता संख्या ११२९ देखिएको छ । यसैगरी, नगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता पाउनेहरूको संख्या २६४३ रहेको छ । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र शिवपुरी, सुन्दरीजल र गोकर्ण वन क्षेत्र पर्दछन् । राजनिकुञ्ज भनिने गोकर्ण वन सहरको उत्तर–पूर्वको रमणीय स्थान हो । यसको क्षेत्रफल २.९ वर्गकिलोमिटर र औसत उचाइ १,३०० मिटर अर्थात् ४,२९० फिट छ । यो वन जंगबहादुर राणाले वन्यजन्तु संरक्षणका लागि बनाएका हुन् । वनको पश्चिमी सीमा नजिकै गोकर्णेश्वर महादेवको मन्दिर छ ।

योजना तर्जुमामा गोकर्णेश्वर नगरपालिका
स्थानीय तहअन्तर्गतका मुलुकका ७५३ पालिकामध्ये आधारभूत तहको शिक्षा (कक्षा–८) सम्म आफ्नै पाठ्यपुस्तक तयार गर्ने सबैभन्दा पहिलो पालिकाको रूपमा गोकर्णेश्वर नगरपालिकाले कीर्तिमान बनाएको छ । पालिकामा भएका १६ वटा सामुदायिक विद्यालयमा निःशुल्क वितरण गरिएको पुस्तक निजी विद्यालयमा पनि पढाइ हुन्छ । गोकर्णेश्वर नगरपालिकाको कीर्तिमान यतिमा मात्रै सीमित छैन । नेपालको संविधान (२०७२) ले दिएको अधिकार प्रयोग गरी आफ्नो सबैभन्दा धेरै कानुन निर्माण गर्ने पालिका पनि गोकर्णेश्वर नै हो । २०७७ मा अर्थिक ऐन–२०७७ पास गरेको नगरपालिकाले २०७७–७८ मा स्वास्थ्य नीति, शिक्षा युवा तथा खेलकुद नीति, सामाजिक विकास नीति, भाषा, संस्कृति र पर्ययटन नीति, आर्थिक तथा वित्त नीति, कृषि, पशुपालन तथा घरेलु उद्योग नीति, रोजगार नीति, सहकारी नीतिजस्ता धेरै नीति ल्याएर पास गरिएको छ । (नीति बजेट तथा कार्यक्र–आर्थिक वर्ष २०७७–७८ पुस्तकबाट)

संघीय राजधानी काठमाडौं जिल्लाको उत्तरपश्चिमका जोरपाटी सुन्दरीजल क्षेत्रका केही गाविसहरू समेटेर संरचना गरिएको जोरपाटी नगरपालिकाले साँढे तीन वर्षको अवधिमा १० वटा ऐन तथा ६ वटा कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइसकेको छ । कार्यान्वयनमा ल्याइएका ऐनहरूमा १. नगर प्रहरी ऐन २०७६, २. आर्थिक कार्यविधि नियमित गर्ने ऐन २०७६ ३. स्वास्थ्य तथा सरसफाइ ऐन २०७६ ४. खानेपानी व्यवस्थापन तथा नियमनसम्बन्धी ऐन २०७६ ५. सार्वजनिक नियमावली ऐन २०७६ ६. पशु स्वास्थ्य तथा पशुसेवा ७. कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७६ ८. कर तथा गैर कर राजश्व उठाउनेसम्बन्धी व्यवस्था गर्ने ऐन–२०७६ ९.पूर्वाधार विकास तथा व्यवस्थापन ऐन–२०७६ १०. भवन तथा योजना मापदण्ड ऐन २०७६ रहेका छन् । त्यस्तै, ११.युवा तथा खेलकुद विकास ऐन–२०७७ र १२. स्वास्थ्य संस्था दर्ता, अनुमति र नविकरण तथा नियमनसम्बन्धी ऐन–२०७७ लगायत छन् ।

यसैगरी, कार्यान्वयनमा आएका कार्यविधिहरूमा १. अपांगता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७६ २. भवन निर्माण संहिता कार्यान्वयन तथा नक्सा पास कार्यविधि २०७६ ३. योजना तर्जुमा तथा सञ्चालन कार्यविधि २०७६ ४.खेलकुद निर्देशिका २०७६ ५. निर्णय प्रमाणीकरण कार्यविधि २०७६ ६. कृषि प्रवर्धन अनुदान कार्यविधि–२०७७, ७. कर्मचारी कल्याणकोष कार्यविधि २०७६ र भवन निर्माण मापदण्ड–२०७६ को प्रथम संशोधन–२०७७ लगायत रहेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि एक अर्ब ४४ करोड रुपैयाँ बजेट पारित गरेको थियो भने २०७७–०७८ का लागि एक अर्ब ८७ करोड ५० लाख ६ हजार रुपैयाँ पारित गरेको छ । २०७६–०७७ को नगरसभाको बैठकले पूर्वाधार विकास एवं पर्यटनलाई बजेटमा प्राथमिकता दिएको थियो । जसमध्ये विकास निर्माणको शीर्षकमा ९७ करोड ६० लाख ८० हजार रुपैयाँ रहेको थियो भने साधारण खर्चतर्फ ४७ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । आफ्नो आम्दानीले साधारण खर्चसमेत धान्न नसक्ने पालिकाहरूको संख्या मुलुकमा उल्लेख्य छ । गोकर्णेश्वर नगरपालिका पनि त्यसको अपवाद छैन । नगरपालिकाले पारित गरेको आर्थिक वर्ष २०७६–७७ सालको बजेटमा करिब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको थियो । २०७७–७८ को आर्थिक वर्षमा गोकर्णेश्वर नगरपालिकाको गौरवका योजनाहरूका लागि १८ करोड ५० लाख र प्रशासनिक खर्चमा १७ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ ।