तरुण खबर
१२ आश्विन २०७८, मंगलवार ०९:१७
काठमाडौं । प्रमुख सत्तारुढ दल काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ५४ जिल्लाको स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भएका ६४ मध्ये ५४ जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको हो । बाँकी जिल्लामा भने निर्वाचन निरन्तर भइरहेको केन्द्रीय निर्वाचन समिति एक सदस्यले जानकारी दिए ।
वडा अधिवेशन सम्पन्न भएका ६५ मध्ये ५४ जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको छ उनले जानकारी दिएका छन् । पार्टी विधानको दफा–१० मा सदस्यतासम्बन्धी यस्तो व्यवस्था रहेको छ– नेपाली काँग्रेसको सदस्यता र क्रियाशील सदस्यता जहिलेसुकै वितरण गरिनेछ । तर महाधिवेशन हुने मितिभन्दा ६ महिना पहिले क्रियाशील सदस्यता प्राप्त गरेको वा नवीकरण गरेको सदस्यले मात्र पार्टीको मतदानमा भाग लिन र यो विधानको व्यवस्थाबमोजिम निर्वाचनमा उम्मेदवार हुन पाउनेछ ।
६४ जिल्लाका वडा अधिवेशन र ५४ जिल्लाका पालिकाहरूका अधिवेशन सकिँदासम्म पनि सप्तरी, रौतहट, बारा, रसुवा, बाँके, कैलाली, महोत्तरी र सिरहा जिल्लामा क्रियाशील सदस्यता विवाद सल्टिएको छैन । अझै पनि सक्रिय सदस्यतासम्बन्धी विवाद टुङ्ग्याउन माग गर्दै रौतहट र बाराका काँग्रेसजन पार्टी केन्द्रीय कार्यालयमा धर्नामै छन् ।
नेपाली काँग्रेस राइनास नगरपालिका लम्जुङको अधिवेशन असोज १६ गते हुने भएको छ । ललितपुरमा नेपाली काँग्रेसको स्थानीय तहको अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने स्थानीय तहको अधिवेशनबाट पदाधिकारीहरू चयन भएका छन् । अधिवेशनबाट बागमती गाउँपालिकाको सभापतिमा वीरबहादुर लामा, महाँकाल गाउँपालिकाको सभापतिमा खोमप्रसाद दाहाल, गोदावरी नगरपालिकाको सभापतिमा प्रदीप जोशी निर्वाचित भएका छन् ।
ताप्लेजुङमा नेपाली काँग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो । फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित ुभएका छन्– कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी सिरिजङ्घामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्च थलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् ।
यस्तै पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा चयन भएका छन् । फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा भने समय अभावलगायतका कारण आइतबार मात्रै निर्वाचन भएको थियो ।
त्यस्तै, झापामा नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो । झापा जिल्लामा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला हावी भएका छन् । मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए ।
उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५÷६५ मत ल्याएर बराबरी भएका छन् । उनीहरुमध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिए ।
यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन भएका थिए ।
यसैगरी, ओखलढुंगाका आठवटै स्थानीय तहमा कांग्रेसको संस्थापन पक्षले नेतृत्व पाएको छ । वडा अधिवेशनमा ७५ मध्ये १ बाहेक सबै वडामा सहमति गरेको काँग्रेसले पालिका अधिवेशनमा ८ मध्ये ५ स्थानीय तहमा सहमति गरेको छ । सहमति भएका सबै स्थानमा संस्थापन पक्षका नेतालाई नेतृत्व दिइएको छ । निर्वाचन भएका ३ स्थानीय तहमा पनि संस्थापन पक्षकै नेताहरू निर्वाचित भएका छन् । जिल्ला अधिवेशनमा देउवा पक्षबाट तेजेन्द्र खनाल र रामचन्द्र पौडेल पक्षबाट बालकृष्ण दाहालले सभापतिमा उठ्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । क्रियाशील विवाद नरहेका र हिउँ पर्ने, चिसो अत्याधिक हुने २१ जिल्लामा अधिवेशन गर्न लागेको निर्वाचन समितिले जनाएको छ ।


