तरुण खबर
१६ आश्विन २०७८, शनिबार ०९:३१
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शनिबार काठमाडौंका १० स्थानीय तहमा अधिवेशन हुँदैछ । काठमाडौं महानगरपालिका र अरु ९ वटा नगरपालिकामा शनिबार अधिवेशन गर्ने तयारी भएको काठमाडौंका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
‘सबै स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटाइसकिएको छ । शनिबार बिहानैबाट निर्वाचनको प्रक्रिया सुरू हुन्छ,’ अधिवक्ता एवं निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिदै भने– दक्षिणकाली नगरपालिका–२ को वडा अधिवेशन भएको छैन । त्यसकारण त्यहाँको अधिवेशन अहिलेलाई रोकिएको छ । बाँकी काठमाडौं महानगरपालिका र अरु ९ वटा नगरपालिकामा आज शनिबार अधिवेशन हुन्छ । आचार्यका अनुसार केही स्थानीय तहमा सहमतिबाटै अधिवेशन हुने सम्भावना छ । तर, धेरै वटा स्थानीय तहमा भने चुनाव नै गर्नुपर्ने अवस्था छ ।
काठमाडौंमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह समूहबीच प्रतिष्पर्धा हुन्छ । सिंह समूहले सबै स्थानीय तहमा उम्मेदवार चयन गरिसकेको छ । संस्थापन पक्षले पनि केही स्थानीय तहमा मात्र उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौं महानगरपालिकाको सभापतिमा संस्थापन पक्षबाट प्रगतिमान रञ्जित र सिंह समूहको तर्फबाट नीलकाजी शाक्यले प्रतिष्पर्धा गर्दैछन् । काठमाडौं महानगरमा मात्रै करिब दुई हजार मतदाता छन् । यस्तै, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन र बूढानीलकण्ठ नगरपालिकामा पनि शनिबार कांग्रेसको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।


