तरुण खबर
१७ आश्विन २०७८, आईतवार ०९:५६
काठमाडौं । देशकै राजधानी काठमाडौ महानगरपालिकाको नेपाली काँग्रेसको अधिवेशन प्रकृया शुरु भएको छ । शनिबार प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभा गृहमा उद्घाट भएकोमा उम्मेदवारी सूची आज आइतबार सार्वजनिक हुने भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवा र विमलेन्द्र निधि उठ्ने भएका छन् । त्यसै गरी इतर पक्षबाट रामचन्द्र पौडेल, डा.शेखर कोइराला, प्रकाशमान सिंह, डा.शशांक कोइरालालगायतका नेताहरु सभापतिमा उम्मेद्वारी दिने चर्चा छ । केन्द्रीय नेताहरुको समूहगत प्रभाव वडा, पालिका, क्षेत्र हुँदै जिल्ला अधिवेशनसम्म पुगेको छ ।
नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको नगर अधिवेशनमा बुढाथोकीले १५५ मत प्राप्त गरी सभापतिमा बाजी मारेका हुन् । उनका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन् । काँग्रेस केन्द्रीय सदस्य गगन थापा निकट राजारामको प्यानललाई पूर्व महामन्त्री प्रकाशमान सिंहको पनि समर्थन थियो । शनिबार अधिवेशन भएका ८ वटा नगरमा परिणाम आउने क्रम जारी भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट तारकेश्वर नगरपालिकाको नगर सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।
सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् । सिटौला समूह छोडेर गगनले प्रकाशमान सिंहलाई साथ दिएपनि श्रीराम थापा पराजित भएका छन् । महर्जनले १३५ मत प्राप्त गर्दा थापालाई ११४ मत पाएका छन् ।
काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १३ जिल्लाको वडा अधिवेशन दसैंपछि मात्रै हुने भएको छ । १३ जिल्लामा दशैंअघि वडा अधिवेशन हुने सम्भावना सकियो । तर, केही जिल्लामा भने काँग्रेसले क्रियाशील सदस्यकै टुंगो लगाउन सकेको छैन । तर, केही जिल्लामा भने काँग्रेसले क्रियाशील सदस्यकै टुंगो लगाउन सकेको छैन । तर, त्यसबारे पनि कुनै निर्णय भएको छैन ।
पूर्वी रुकुम : नेपाली काँग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका रोका निवर्तमान पार्टी सभापति पनि हुन् । लुम्बिनी प्रदेशका जिल्लामध्येमा सभापति निर्वाचित हुने रोका पहिलो हुन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा मगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । मनाङलगायत अन्य करिब एक दर्जन जिल्लाहरुमा नेतृत्व चयनको निर्वाचन प्रक्रिया चलिरहेको छ । नेपाली काँग्रेस मनाङले जिल्लाका ४ गाउँपालिकाका २८ वटै वडाहरुमा निर्विरोध वडा प्रतिनिधिहरु चयन गरिसकेको छ ।
मुस्ताङ : शनिबार नै मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । अहिलेसम्म अधिवेशन सकिएका दुई जिल्लामा सभापति निर्वाचित भएका दुबै जना रामचन्द्र पौडेल पक्षका हुन् । २१ हिमाली जिल्लामा असोज १८ गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णयअनुसार अहिले अधिवेशन भइरहेको छ । रसुवा र डोल्पामा भने वडा अधिवेशन नै नभएका कारण तोकिएको समयमा अधिवेशन नहुने पक्का भएको छ ।
बझाङ : बझाङ र बाजुरामा काँग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न गरेर नेता कार्यकर्ताहरू जिल्ला अधिवेशनको प्रकृयामा गएका छन् । बझाङका दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । बाजुरामा शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै पक्षले एक÷एकवटा निर्वाचन क्षेत्रमा विजयी भएका छन् । क्षेत्रीय अधिवेशन सम्पन्न भएलगतै दुवै जिल्लाका नेता कार्यकर्ता जिल्ला अधिवेशनमा केन्द्रित भएका छन् । शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनको शनिवार मनोनयन दर्ता भएको छ । बझाङमा सभापति पदको लागि खडक बोहरा र रमेश भण्डारीको मनोनयन दर्ता भएको काँग्रेस बझाङका नेताहरुले तरुणलाई जानकारी दिएका छन् ।
बाजुरा : बाजुरामा भने शनिवार मात्रै जिल्ला अधिवेशनको उद्घाटन भएको छ । आइतवारबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । बाजुरामा पौडेल पक्षबाट रामसिंह रावलले सभापतिको दाबेदारी प्रश्तुत गरेका छन् । देउवा पक्षबाट कविराज पण्डित, धनराज पण्डित र चक्र शाह सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ । यसअघि सम्पन्न भएका पालिका अधिवेशनबाट बझाङमा अधिकांश देउवा पक्षले जितेका छन् भने बाजुरामा पौडेल पक्ष बलियो देखिएको छ ।
सल्यान : सल्यानका १० वटै स्थानीय तहमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सभापतिमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षको समर्थनमा संस्थापन पक्षबाट केशवबहादुर विष्ट र पौडेल पक्षको समर्थनमा देउवा खेमाकै ध्रुव पुरी जिल्ला सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । पाँच स्थानीय तहमा पौडेल पक्ष अथवा ध्रुव पुरीको टिमले जित हासिल गरेको छ । यस्तै, देउवा पक्ष अर्थात् केशवबहादुर विष्टको टिमले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको १० पालिकामध्ये एक पालिकामा मात्र महिलाले नेतृत्वको अवसर प्राप्त गरेकी छन् ।


