सैनिक शासकविरुद्ध म्यानमारमा लाखौंको प्रदर्शन

सैनिक शासकविरुद्ध म्यानमारमा लाखौंको प्रदर्शन तरुण खबर ११ फाल्गुन २०७७, मंगलवार १२:१६
सैनिक शासकविरुद्ध म्यानमारमा लाखौंको प्रदर्शन

चुनावी मत स्वीकार्न सेनालाई प्रदर्शनकारीको चेतावनी

काठमाडौं । म्यान्मारमा सैन्य कूविरुद्ध लाखौं मनिसले सडक प्रदर्शन गरेका छन् । हडतालको दिन हिजो प्रमुख सहरहरूमा लाखौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुकीसहित सैनिक नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । उनीहरूले सुकीसहित सबै नेताहरूलाई तत्काल रिहा गर्न र नोभेम्बरमा भएको चुनावी परिणाम स्वीकार गर्नुपर्ने माग राखेका छन् । नोभेम्बरको चुनावमा सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ८० प्रतिशतभन्दा बढी मत ल्याएको थियो । तर सैनिक शासकको विरोध चर्कँदै गएपछि गतसाता सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल सजायका साथै जरिवाना गरिने चेतावनीसमेत दिएको थियो । सेनाको त्यो चेतावनीले प्रदर्शनकारीलाई रोक्न सकेको देखिएन ।

व्यवसायी र कामदारहरूले पनि सहभागीता जनाएकाले म्यानमारको व्यापार–व्यसायहरू बन्द भएका छन् । यसअघि द्वन्द्वको बाटोमा प्रदर्शनकारी अघि बढे “ज्यान जान सक्ने“ चेतावनी सेनाले दिएको थियो । तर प्रदर्शनकारीहरू त्यसबाट अविचलित भएका छन् । गत माघ १९ सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा तनाव बढेको छ । गत आइतवार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउदा दुई जनाको ज्यान गएको थियो, त्यस लगत्तै प्रदर्शन चर्केको थियो । सैनिक शासकले गरेको यस दमनको संयुक्त राष्ट्रसंघको निन्दा गरेको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले गत शनिबारको हिंसालाई ‘घातक हिंसा’ भनि निन्दा गरेका छन् । यस हिंसामा परी दुई जनाले ज्यान गुमाए भने ३० भन्दा बढी जना घाइते भएका थिए । एक चित्सिकका अनुसार मृतकमध्ये एक जनालाई टाउकोमा र अर्कोलाई छातीमा गोली लागेको हो । त्यस्तै अमेरिका राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, संयुक्त राष्ट्रसंघ तथा युरोपेली संघले ‘लोकतन्त्रको पक्षधर म्यान्मारवासीमाथिको दमनको विरोध गरिरहेका छन् ।