तरुण खबर
१८ आश्विन २०७८, सोमबार १०:३३
काठमाडौं । नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत पर्सा जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ । काँग्रेसले सदस्यता विवाद टुंग्याएर वेबसाइटमार्फत विवरण सार्वजनिक गरेको हो । नेता कृष्णप्रसाद सिटौला संयोजकत्व रहेको विवाद समाधान कार्यदलले विवाद समाधान गरेर केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाएको हो । विवरण उपलब्ध भएसँगै काँग्रेस केन्द्रीय कार्यालयले सदस्यता विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यसअघि विवरण सार्वजनिक भएका सुर्खेत, महोत्तरी, सिराहा, बाँके, धनुषा, सर्लाही, कैलाली र हिजो सार्वजनिक पर्सासहित बाँकी चार जिल्लाका सबै विवरण उपलब्ध भएपछि मात्र कार्यतालिका हेरफेर गरेर एकमुष्ट निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ । अब क्रियाशील विवाद टुंगो लाग्न बाँकी जिल्लामा बारा, रौतहट, सप्तरी र रसुवा रहेका छन् । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १३ जिल्लाको वडा अधिवेशन दसैंपछि मात्रै हुने भएको छ ।
काँग्रेसको संखुवासभा जिल्ला सभापतिमा खड्का : नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे । यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । खड्का संस्थापनइतर समूहका नेता हुन् । उनीसँग चुनावी प्रतिस्पर्धामा राइमान राई थिए । कांग्रेसको जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, रुकुमपूर्व र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न भएको हो । दोलखामा सोमबार सभापती पदका लागि दोश्रो चरणको चुनाव हुदैछ ।
कालीकोट सभापतिमा शाही : नेपाली काँग्रेस कालिकोटको सभापतिमा अम्बबहादुर शाहीलाई सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको नेपाली कांग्रेस कालिकोटले शाहीलाई सर्वसम्मत चयन गरेको हो । नेपाली कांग्रेस कालिकोटको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा देउवा पक्षका मीनबहादुर बोगटी र नन्दबहादुर शाही (घमन) सचिवमा युवा नेता नगेन्द्र बिष्ट र मात्रिका सिंह चयन भएका छन् । अन्य जिल्ला कार्य समिति र महासमिति सदस्यहरु पनि सहमति नै चयन गर्ने सहमति भएको काँग्रेस कालिकोटका सचिव नगेन्द्र बिष्टले बताएका छन् । सभापति भएका शाही नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति भएका बोगटी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
काँग्रेस नगर अधिवेशन : नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणनाका क्रममा सात सय ८६ मत ल्याएर शाक्य निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले तीन सय २९ मत ल्याएका छन् । अन्य पदाधिकारीतर्फ समेत शाक्यको प्यानल नै विजयी भएको छ । उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुसन बैद्य र पुरुषोतम खकुरेल विजयी भएका छन् । त्यस्तै, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् । शाक्यको जितसँगै महानगरमा काँग्रेस संस्थापन इतर (प्रकाशमान सिंह–गगन थापा) समूहले बाजी मारेको छ । नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट तारकेश्वर नगरपालिकाको नगर सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् ।
दोलखामा पुनः काँग्रेसको चुनाव
सभापति शेरबहादुर देउवा समूहको पकड मानिएको दोलाखा काँग्रेसको १४औं जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल समूह ४३ प्रतिशत मत ल्याउँदै अगाडि देखिएको छ । कुल खसेको १५४५ मतमध्ये पौडेल समूहका सभापति उम्मेदवार बर्मा लामाले ६४३ मत ल्याएका हुन् । तीन समूहबीच भएको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोलखामा सोमबार फेरि मतदान हुने निर्वाचान समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिको मतगणना पनि सोमबार नै सुरु हुने समितिले जानकारी दिएको छ । सोमबार हुने पुनः मतदानमा पहिलो र दोस्रो मत पाएका (पौडेल र सिटौला समूह) उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा हुनेछ । जसअनुसार सभापतिमा विजयी बन्न नसके पनि सभापति चयनमा देउवा पक्ष निर्णायक मानिएको छ ।


