तरुण खबर
१९ आश्विन २०७८, मंगलवार ०८:५६
काठमाडौं । कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसाय थोरै फस्टाउँने संकेत देखिएको छ । कोरोनाभाइरस महामारीका कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी भएको छ । कोरोनाभाइरस नियन्त्रण गर्न नेपालको सरकारले गत वर्षको चैत ११ गतेदेखि लकडाउन गरेको र त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि पर्यटन व्यवसाय ठप्प छ । सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले वर्षको सुरुदेखि नै कोरोनाभाइरस सङ्क्रमणका कारण क्षति बेहोर्नुपरेको थियो ।
गत वर्षको जनवरी महिनामा झन्डै ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारी शुरू भएयता (सन् २०२० अप्रिलदेखि २०२१ जनवरीसम्म) को १० महीनामा २३ हजार ८४८ जना पर्यटक मात्रै नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक छ । महामारी शुरू हुनअघिका तीन महीनामा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि दुई लाख ३० हजार पर्यटक मात्रै आए ।
अन–अराभइल भिसा खुलालगायत सरकारले चालेका पछिल्ला कदमसँगै नेपालको पर्यटन उद्योग पुनः तङ्ग्रिने दिशामा जाने व्यवसायीहरूले विश्वास लिएका छन् । सरकारले हालै अन–अराभइल भिसा खुला गर्दै कोभिड–१९ महामारीका कारण लगाइएका कतिपय प्रतिबन्धात्मक नियम केही खुकुलो पारेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२० को सेप्टेम्बरमा जम्मा ५८४ जना पर्यटक नेपाल आएकोमा सन् २०२१ को सोही महिनामा ९,८९८ जना पर्यटकको आगमन भएको छ । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप शुरू हुनुअघि सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्कले देखाएको छ ।
सन् २०१९ को सेप्टेम्बरको तुलनामा कम भए पनि महामारीबीच गत सेप्टेम्बरमा पर्यटकको सङ्ख्यामा देखिएको वृद्धि सन्तोषजनक भएको पर्यटन व्यवसायीहरू बताउँछन् । अब नेपालमा पर्यटकहरू आउने क्रम जारी रहने भयो भन्ने यसले देखाउँछ– ट्रेकिङ्ग एजेन्सीज अशोसिएशन अफ नेपालका टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले भने । निर्बाध रूपमा उडानहरू शुरू हुने हो र भिसा प्रक्रियामा सहजीकरण हुने हो भने अब पर्यटकको संख्या बढ्छ भन्ने आकलन छ । कोरोना संक्रमणको महामारीले थला परेको नेपाली पर्यटन उद्योगलाई उठाउनका निम्ति राज्यले विभिन्न कदम चाल्न जरुरी रहेको व्यवसायीहरूले बताएका छन् । नेपालमा अन–अराभइल भिसा शुल्क पनि धेरै छैन । यदि राज्यले एक वर्षका लागि भए पनि पर्यटक भिसा निशुल्क गरिदिने हो भने पर्यटक बढ्न सक्छन्् । त्यसका अतिरिक्त सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरू खुला गराउन पहल गर्नुपर्ने तथा घुमफिरका लागि नेपाल सुरक्षित रहेको भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनुपर्ने खाँचो छ । एघार दिनअघि सरकारले प्रचलित कानूनबमोजिम अन–अराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड खोपका मात्रा पूरा गरेका नागरिकलाई अन–अराइभल भिसा दिइने निर्देशन जारी गरेको थियो ।
के भन्छन् सरकारी अधिकारी ?
देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रूपमा रहेको पर्यटन उद्योगलाई उकास्न सरकार तत्पर रहेको अधिकारीहरू बताएका छन् । सोही अनुरूप तीन वर्षभित्र पर्यटकीय गन्तव्यको विकास लगायतमा नौ अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्यबमोजिम काम भइरहेको पनि पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बताएका छन् । पर्यटकलाई भिसा निशुल्क गर्नुपर्ने सोच पर्यटन विभागको पनि रहँदै आएको उनले बताए ।
भिसा छुट गर्नुपर्छ भन्ने राय पर्यटन विभागको पनि हो। त्यसले केही समयका लागि गैरकर राजश्वमा कमी ल्याउने भए पनि दीर्घकालीन रूपमा त्यसले अरू विभिन्न प्रकारका कर राजश्व बढाउने सम्भावना रहन्छ– उनले थपे । पर्यटकलाई भिसा निशुल्क गर्ने विषयमा गृह मन्त्रालयमा चाहिँ कुनै छलफल नभएको एक अधिकारीले बताए । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने– त्यो नेपाल सरकारले गर्ने निर्णय हो, हामीले गर्ने होइन । त्यो किसिमको नीति आएर गर्नू भन्ने आयो भने हामी त्यो वातावरण बनाउँछौँ । यद्यपि भिसा निशुल्क गरिए त्यसले खासगरी कम खर्च गर्ने पर्यटकहरुको चाप व्यवस्थापनतर्फ सोच्नुपर्ने कतिपय जानकारहरुले बताएका छन् ।


