तरुण खबर
२० आश्विन २०७८, बुधबार ०८:५५
काठमाडौं । पूर्व केन्द्रीय मन्त्री पी चिदम्बरमले प्रियन्का गान्धीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै उत्तर प्रदेश सरकारले कानूनीराज समाप्त पारेको आरोप लगाएका छन् । भारती कांग्रेस नेता राहुल गान्धीसहित पाँच नेता आज बुधबार उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लाका किसान आन्दोलनकारीहरुलाई भेट्न जाँदै छन् । यसअघि कांग्रेस महासचिव केसी वेणुगोपालले राहुल गान्धीको नेतृत्वमा पाँच जना नेता उत्तर प्रदेशको लखिमपुर जान अनुमति मागेका थिए । तर उत्तर प्रदेश सरकारको नेतृत्व गरिरहेका योगी आदित्यनाथले अनुमति दिएका थिएनन्, दिने सम्भावना पनि छैन । आज बुधबार जाने प्रतिनिधि मण्डलमा राहुल गान्धी, भूपेश बघेल, सचिन पायलट र पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नी पनि छन् ।
भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । भारतीय प्यानल कोडको भाग १४४ को अवज्ञा गरेको आरोपमा प्रियंका पक्राउ परेकी भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिए पनि मंगलबार भने आरोपसहित पक्राउ गरेको हो । उत्तरप्रदेशको लखिमपुर खेरी जिल्लाका किसानहरुलाई भेट्न जाने क्रममा आइतबार नै प्रियंकालाई नियन्त्रणमा लिइएको थियो । हिंसामा मारिएका किसानलाई भेट्न जाँदा उनलाई नियन्त्रणमा लिइएको हो । उनलाई बुधबार नै अदालतमा प्रस्तुत गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।


