बेलायतले हटायो नेपाललगायत मुलुकहरुमाथि लागेको यात्रा प्रतिबन्ध

बेलायतले हटायो नेपाललगायत मुलुकहरुमाथि लागेको यात्रा प्रतिबन्ध तरुण खबर २२ आश्विन २०७८, शुक्रबार ०८:३५
बेलायतले हटायो नेपाललगायत मुलुकहरुमाथि लागेको यात्रा प्रतिबन्ध

काठमाडौं । बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ । कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् । नेपाललाई रातो सूचीबाट हटाएपछि लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले बेलायत सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएकी छन् ।

बीबीसी नेपाली न्यूज अनुसार बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलमा इपिडिमियोलोजी विषयमा स्नातकोत्तर तहमा भर्ना भएकी प्रमिला पौडेल, आफ्ना श्रीमान् र १५ महिनाकी छोरीसहित गत ३ अक्टोबरमा लन्डन पुगिन् । ब्रिटेनले नेपाललाई कोभिडका कारण यात्रा प्रतिबन्ध लगाएका मुलुकहरुको सूची (रेड लिस्ट) मा राखेका कारण उनको पूर परिवार १० रात, ११ दिन होटेल क्वारन्टिनमा बस्नुपर्ने भयो । हामीले होटेलको खर्च बापत मात्रै ३,७०० पाउन्ड (झन्डै ६ लाख रुपैयाँ) तिर्नु प¥यो। पढाइ शुरू भइसकेको र विश्वविद्यालयले ताकेता गरेका कारण ढिला गर्न पनि मिलेन उनले भनिन् ।

तर बिहीवार ब्रिटिश सरकारले ’रातो सूची’ मा राखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अब ब्रिटेन आउने नेपाली विद्यार्थी तथा अन्य यात्रुले त्यस्तो थप खर्च गर्नुपर्ने छैन । सोमवारदेखि नयाँ नियम लागु गरिनेछ । २१ डिसेम्बर २०२० देखि ब्रिटेनमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गरेका थिए । नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका थिए ।

नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल ’रेड लिस्ट’ बाट हटेकोमा ट्विटरमा खुशी व्यक्त गरेकी छन् । नयाँ नियम अनुसार ब्रिटिश सरकारले ’पहेँलो’ सूची नै हटाएको छ भने हरियो सूचीमा रहेका मुलुकको सङ्ख्या ह्वात्तै बढाएको छ । ब्रिटिश यातायातमन्त्री ग्रयान्ट शाप्सले नयाँ नियमहरू ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ’एउटा नयाँ पाइला’ भएको बताए । बीबीसी न्यूजका लागि भगीरथ योगीले लेखेको समाचारका अनुसार ब्रिटिश सरकारले बिहीवार एउटा सूचना जारी गर्दै अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्रै ’रेड लिस्ट’ मा रहने घोषणा गरेको छ ।

यसअघि नेपाल लगायत ५४ ओटा मुलुक ’रेड लिस्ट’ मा थिए । लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले ब्रिटिश सरकारको पछिल्लो निर्णय स्वागतयोग्य भएको बताएकी छन् । “हामीले नेपाललाई रातो सूचीबाट हटाउन ब्रिटिश सरकारसंग पहल गरेका थियौँ । अब नेपालबाट ब्रिटेन यात्रा गर्ने यात्रुहरूलाई सहज हुने हामीले अपेक्षा गरेका छौँ– उनले भनिन् । यसै वर्षको शुरूमा ब्रिटेनले संसारभरिका मुलुकलाई ’रातो’, ’पहेँलो’ र ’हरियो’ गरी तीन भिन्दाभिन्दै सूचीमा वर्गीकरण गरेको थियो । ’ट्राफिक लाइट प्रणाली’ पनि भनिने यो वर्गीकरण अनुरूप ’रेड लिस्ट’ मा पर्ने मुलुकमा जान ब्रिटेनले आफ्ना नागरिकलाई निषेध गरेको थियो भने त्यहाँबाट आउने यात्रुलाई थुप्रै प्रतिबन्ध लगाएको थियो ।

ब्रिटेनको युनिभर्सिटी अफ हडर्स्फिफल्डका एसोसियट डीन तथा विश्व जनस्वास्थ्य विषयका प्राध्यापक डा. पदम सिम्खडा ब्रिटेनले पहिले नै नेपाललाई कथित ’रेड लिस्ट’ बाट हटाउनुपर्ने बताएका छन् । दक्षिण एशियाका अन्य मुलुक ’रेड लिस्ट’ बाट हटाइए पनि नेपाल उक्त सूचीमा कायमै थियो । प्रा. सिम्खडाका अनुसार होटेल क्वारन्टिनमा बसिसकेपछि बाहिर निस्केका नेपालबाट आएका यात्रुको जाँच गर्दा ’कोभिड पोजिटिभिटी रेट’ ०.९ प्रतिशत पाइयो, जबकि बाङ्ग्लादेश, पाकिस्तान लगायतका मुलुकबाट आएका यात्रीको दर त्यसभन्दा बढी थियो । अब नेपाललाई रेड लिस्टबाट हटाइएकाले नेपालबाट विद्यार्थीहरू आउन र अनुसन्धानसम्बन्धी कामका लागि ब्रिटिश अनुसन्धानकर्ताहरू नेपाल जान सजिलो हुने भयो– उनले भने । नेपालीहरूका प्रमुख चाड दशैँ तथा तिहारको मुखैमा नेपाल ’रेड लिस्ट’ बाट हट्ने समाचार सार्वजनिक भएपछि ट्राभल व्यवसायीहरू पनि उत्साहित भएका छन् ।

“अब ब्रिटेनले मान्यता दिएको कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएका नेपालबाट आएका यात्रुले होटेल क्वारन्टिनमा बस्नु पर्दैन, त्यसैले यो एउटा सकारात्मक निर्णय हो– लन्डनस्थित एक ट्राभल व्यवसायी विराज भट्टले भने । तर अझै पनि यात्रुहरूले निगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्छ र प्यासेन्जर लोकेटर फर्म भर्नुपर्छ। त्यसैले यात्रा गर्नुभन्दा पहिला ब्रिटिश सरकारले जारी गरेको नियम पढेर वा आफ्नो ट्राभेल एजेन्टसँग राम्रोसँग बुझेर मात्रै यात्रा गर्न म सुझाव दिन चाहन्छु ।