तरुण खबर
२८ आश्विन २०७८, बिहीबार ०८:३३
गुवाहाटी । राज्यको राजधानी गुवाहाटी शहरको मुटु मानिने नेपालीहरुको पवित्र मन्दिरमा १० अक्टोबर राती चोरीको घटना भएको छ । मन्दिरको पछिल्तिरको ग्रिल काटेर प्रवेश गर्दै चोरले दानपेटीमा फुटाएर लाखौं रूपियाँ चोरी गरेको दावी गरिएको छ । बिहान मन्दिरका पूजारीले पूजा गर्न पसेपछि दानपेटी पल्टिरहेको देखेपछि नेपाली मन्दिर प्रबन्धक समितिका पदाधिकारीहरूलाई खबर गरेका थिए । चोर प्रवेश गरेको र दानपेटी तानेको सीसीटीभीमा देखिए पनि चोरको अनुहार भने पहिचान गर्न नसकिएको स्थानिय मन्दिर प्रबन्ध समितिका सभापति गोकुल शर्माले स्थानिय सञ्चार माध्यमलाई बताएका छन् । मन्दिर परिसरभित्र निम्न स्तरको सीसीटीवी अनि पर्याप्त उज्यालो नभएकाले गर्दा चोरलाई पहिचान गर्न गा-यो भएको हो । नेपाली मन्दिरमा चोरी भएको घटना यो मात्रै पहिलो भने होइन । यसअघि पनि यस्ता घटना भएका थिए । पल्टन बजार थानाबाट मात्रै ३०० मिटर टाडा रहेको मन्दिरमा चोरी भएको घटनाले पुलिस प्रशासनको लापरबाहीलाई नै दर्शाएको थियो । अर्कातिर, चोरीको यस घटनालाई ढाकछोप गर्ने प्रयास गरेको भन्ने प्रबन्धक समितिमाथि अभियोग लागेको छ । किनकि, घटनाको विषयमा सञ्चार माध्यमलाई खबर नदिनु अनि प्रबन्धक समितिका सभापति मन्दिर परिसरमा मिडिया उपस्थित भएको थाहा पाएर त्यस स्थानबाट प्रस्थान गर्नुले अनेकौं आशंका थपिएका छन् । यद्यपि, नेपाली मन्दिर प्रबन्धक समितिका महासचिव गङ्गाधर पौडेलसँग बारम्बार अनुरोध पश्चात उनले सीसीटीभी फुटेज त उपलब्ध गराए तर सीसीटीभी फुटेजमा चोरको अनुहारहरू राम्रोसँग देखिएको छैन ।
यता, नेपाली मन्दिर प्रबन्धक समितिका तर्फबाट पल्टन बजार प्रहरी थानामा उजुरी दर्ता गराइएको छ । मन्दिर प्रबन्ध समितिका सभापति गोकुल शर्माले गत सोमबार नेपाली मन्दिर प्रबन्धक समितिको कार्यालयमा सञ्चार माध्यमलाई सम्बोधन गर्दै चोरीको विषयमा गोर्खाध्वनिमा प्रसारित भ्रमित समाचारप्रति आपत्ति जनाएका छन् । उनले समाचारमा प्रसारित भएअनुसार, नेपाली मन्दिरको चोरी भएको दानपेटीमा एक डेढ लाख रूपियाँ नभई बढीमा १२ हजार रूपैयाँ रहेको बताएका छन् । शर्माले भने– यो रकमको कुरा हामीले पल्टन बजारमा रहेको पुलिस थानामा दर्ता गराएका उजुरीमा पनि उल्लेख गरेका छौं ।
उनले अझ भने– नेपाली मन्दिर गुवाहाटीमा बसोबास गर्ने गोर्खाहरूको धरोहर हो । यसमा केही पनि विपत्ती आउँछ भने त्यो हामी सबैको लागिदुखको कुरा हो । यस चोरीको घटनालाई लिएर हामी पनि दुखित् छौं । आगामी दिनमा फेरि यस्तो घटना हुन नपाओस् त्यसका लागि हामी आवश्यक व्यवस्था अप्नाउँने छौं । तीन महिनाको अवधिमा दानपेटीमा एक डेढ लाख रकम हुने कुरै आउँदैन । त्यसमाथि लकडाउनका अवधिमा नेपाली मन्दिर बन्द थियो । साथै, चोरीको घटना ढाकछोप गर्न पनि हामीले खोजेको होइनौं शर्माले स्पष्टिकरण दिएका थिए ।


