तरुण खबर
२९ आश्विन २०७८, शुक्रबार ०९:५३
काठमाडौं । आज विजया दशमी । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । असोज २९ गते शुक्रबार विजया दशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ । यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर २ मिनेट जुरेको नेपाल पञ्चांग समितिले जानकारी दिएको छ ।
पुरुषहरुका लागि
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दु-र्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका र जमरा लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाइन्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।
महिलाहरुका लागि
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।
यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ ।
जीवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहीर छिन्, उनीप्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनीप्रति हार्दिक नमन । दुर्गतीको नाश गर्ने दुर्गाप्रति नमन अनि एकाकार र सर्बशक्तिमान शिवप्रति पुनः नमन । क्षमाकी देवी क्षमाप्रति नमन । र, सबै जीवकी दाती धातृप्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहाप्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रति नमन । सबैजना देवीलाई हार्दिक नमन आदि आदि…।
घटस्थापनादेखि नै पूजाआजा गर्दै आएकाहरुले सप्तमी, अष्टमी र नवमीमा विशेष पूजा गर्ने परम्परा छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइयो । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने परम्परा छ ।
नवदुर्गामध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा र दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेंडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । त्यस्तै, भक्तपुरमा शहरको उत्तर कुनामा नवदुर्गा मन्दिर आप्mनै प्रकारको चहक र महत्व रहेको छ ।
एउटा चोकको मध्यभागमा उठाइएको नवदुर्गाको मन्दिरमा दुर्गा मूर्ति राखिएको छ । शहरभरीमा देवीको एउटै मन्दिर भएकोले भदगाउँ शहरको मात्र होइन वरपरका छिमेकी गाउँहरुका मानिसहरु पनि दशैंको पूजाआजाका लागि आउँने गर्छन् । विजया दशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो यो । हर्षोउल्लास तथा विजयको पर्व हो । संसारका कुना–कुनामा यो पर्व विभिन्न रूपमा मनाइन्छ । सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजया दशमी आदि धूमधामसित मनाइन्छ, भारतका उत्तर–पूर्वी नेपाली बसेका राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादून आदिमा दशैं पर्व मनाइन्छ । विश्वका ती स्थानहरू जहाँ नेपालीहरू बसोबास गर्दैछन् । भारतको पश्चिम बङ्गाल उत्तरी जिल्लाहरू जसमा दार्जिलिङ्ग, जलपाईगुडीमा दशैं पर्व भव्य रुपमा मनाइन्छ ।
दशैं वा बडा दशैं अर्थात दशहरा, विजया दशमी, नवरात्र आयुध–पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ ।
यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मासम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा छन्– चैत्र (चैत) को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्ने गर्दछन्, शस्त्रको पूजा गर्दछन् ।
प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ–ठाउँमा मेलाहरू लाग्थे । अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइन्छ । विजया दशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा । दुवैमा रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो । दशैँ पर्वले दश प्रकारका पापहरू– काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने (छोड्ने) प्रेरणा दिन्छ ।
दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ । यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दशौँ दिनलाई दशमी वा दशैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजया दशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् । यो पर्वलाई नेपालबाहेक भारत, बर्मा, थाइलैण्ड, भुटानलगायतका देशहरुमा सदियौं वर्षदेखि बसेका नेपाली भाषीहरुले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । हिन्दू धर्म मान्ने देशहरुमा भारत संसारकै सबैभन्दा ठूलो देश हो । भारतमा हिन्दु धर्म मान्नेहरुको संख्या झण्डै ८७ करोड अनुमान गरिएको छ । नेपालमा भने यो संख्या करिव २ करोड २५ लाख रहेको भर्चुअल सर्वेक्षणले देखाएको छ ।
भारतमा बसोबास भएका सुरेन्द्र लिम्बुका अनुसार भारतमा पनि दशैंलाई धुमधामका साथ एउटा महत्वपूर्ण पर्वका रुपमा मनाउने गरेको पाइन्छ । भारतीय अन्य हिन्दू धर्मावलम्बीहरुले यसलाई दुर्गा पूजाका रुपमा मनाउँछन् । हिन्दूमार्गीहरुमा पनि नेपाली जाति अथवा गोर्खाली जातिले भने यसलाई अलि बढी महत्वका साथ दशैंका रुपमा नै मनाउने गरेको देखिन्छ । भारत वर्षमा सिक्किम त्यस्तो राज्य हो, जहाँ गोर्खालीहरुको बाहुल्य छ । त्यो राज्यमा महत्वपूर्ण पर्वका रुपमा ल्होसार पर्वलाई पनि मनाउने गरिएको देखिन्छ । यद्यपि उनीहरुले दशैंलाई पनि भव्यताका साथ नै मनाउने गरेका छन् । सिक्किममा दशैंको चित्र हेर्दा के देखिन्छ भने सिक्किमको राजधानी गान्टोकमा चाहिँ दशैं केही सुनसानजस्तै हुन्छ ।
यसबाहेक भारतका अन्य राज्यहरु पश्चिम बंगालको दार्जीलिङ, जहाँ करिब १९ लाख जनसंख्या छ । त्यस्तै, असम, मणिपुर, अरुणाञ्चल प्रदेश, मिजोरम, मेघालय र देहरादूनमा पनि गोर्खालीहरुको ठूलो संख्यामा बसोबास छ । यी राज्यहरुमा पनि गोर्खालीहरुले विजया दशमीलाई अन्य सम्प्रदायहरुले भन्दा भव्य रुपमा नै मनाएको पाइन्छ । दार्जीलिङमा भने दशैं मनाउने र नमनाउने दुई समूह देखिएका छन् । असामका गोर्खालीहरुले भने दशैंलाई भव्यताका साथ मनाइरहेको देखिन्छ । सन् १९४८ सालदेखि गुवाहाटीमा अबस्थित नेपाली मन्दिरमा अहिले पनि दशैंमा भव्य रुपमा पूजापाठ चल्छ । त्यहाँ खासै साम्प्रदायिक विभाजन छैन । मिजोरम मूलतः क्रिश्चियन राज्य हो । तर, पनि त्यहाँका गोर्खालीहरु ५ प्रतिशतजति मात्रै क्रिश्चियन बनेका छन् । तथापि मिजोरममा पनि सबै जातजातिले उहिल्यैदेखि भव्यरुपमा नै दशैं मनाउने गरेको पाइन्छ । मणिपुरमा भने दार्जीलिङमा जस्तै दशैं मनाउने र नमनाउने दुई समूह त देखिन्छन् ।


