राजा दशरथकी रानी कौशल्याले पनि छठपर्वको व्रत बसेकी थिइन्

राजा दशरथकी रानी कौशल्याले पनि छठपर्वको व्रत बसेकी थिइन् तरुण खबर २१ कार्तिक २०७८, आईतवार १३:०१
राजा दशरथकी रानी कौशल्याले पनि छठपर्वको व्रत बसेकी थिइन्

काठमाडौं । २०७८ साल कात्तिक २४ गते मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी शुरु भएको छ । छठ पर्व नेपाल र भारतको विहार, उत्तर प्रदेशलगायत ठाउँमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख गरिएको छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्ने गरिन्छ भने चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्– म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछुु ।

विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।

छठको तेस्रो दिन–कार्तिक शुक्ल षष्ठी : छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुली झै सिंगारिएको हुन्छ ।

छठको चौथो दिन–कार्तिक शुक्ल सप्तमी : रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् । पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।

यतिबेला जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ । अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।

जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन् । छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।