माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने तरुण खबर २३ कार्तिक २०७८, मंगलवार १८:१४
माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उनका अनुसार बैठकले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने निर्णय गरेको छ ।

न्यायालयको विवाद आन्तरिक भएको ठहर गरेको बैठकले न्यायालयभित्रैबाट यो समस्याको समाधान हुनुपर्ने भनेको छ । बैठकले संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको महराले जानकारी दिए ।

एमसीसी यथास्थितिमा अगाडि नबढाउने
नेकपा माओवादी केन्द्रले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने निर्णय गरेको छ । ‘एमसीसीमा केही प्रश्न उठेका छन् । हाम्रो पार्टी केही कुरामा राष्ट्रिय सहमति नभइकन र केही सच्याउनुपर्ने कुरा नसच्याई अगाडि नबढाउने भन्ने भएको छ,’ प्रवक्ता कृष्ण महराले भने ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र प्रचण्डले एमसीसी पारित गराउन अमेरिकालाई पत्र लेखेर पठाइसकेको बताएका थिए । जसमा माओवादी अध्यक्ष प्रचण्डले पारित गराउन राष्ट्रिय सहमति खोज्न प्रयत्न गर्ने भनेर माओवादी पार्टीले पत्र पठाएको दाबी गरेका थिए । देउवा र प्रचण्डमध्ये एउटाले झुटो बोलेको भनेर चर्चा भइरहेका बेला माओवादी पार्टीले एमसीसी परिमार्जनमा जोड दिएको हो ।

स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई केन्द्रीत गरेर सांगठनिक कामहरु टुंग्याउनुपर्ने निष्कर्षसमेत निकालेको छ । ‘प्रदेश अध्यक्ष र इन्चार्ज तोकियो । केही प्रदेशमा पदाधिकारी तोक्न बाँकी छ । सबै प्रदेशमा टुंग्याउने, पदाधिकारीमा कसलाई कहाँ राख्ने परामर्शमा टुंग्याउनेगरी प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्य र केन्द्रीय अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ,’ प्रवक्ता महराले भने ।

बैठकले ११-१३ पुसमा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौंमै गर्ने निर्णय समेत गरेको छ ।