अमेरिकाको खेलकुद प्रणाली

अमेरिकाको खेलकुद प्रणाली तरुण खबर ८ पुष २०७७, बुधबार १२:४१
अमेरिकाको खेलकुद प्रणाली

दिवाकरलाल अमात्य

अमेरिकाको खेलकुदमा विद्यालयस्तरको खेलकुदको महत्व धेरै हुन्छ । जसअन्तर्गत विद्यार्थीहरूलाई पूर्व प्राथमिक, प्राथमिक, जुनियर हाइस्कुल वा निम्न माध्यमिक, हाइस्कुल र कलेज लेभलसम्म पनि खेलकुद क्रियाकलापमा सक्रिय बनाउने परम्परा देखिन्छ । यी सम्पूर्ण खेलकुद प्रतियोगिता र खेलकुद प्रशिक्षणलाई एक मात्र संस्था–राष्ट्रिय कलिगेट एथलेटिक संघले नियन्त्रण गरेको हुन्छ अनि यसै संस्थाले राष्ट्रिय ओलम्पिक कमिटीसँग मिलेर कामगर्ने गरेको छ । तर यस खेलकुद प्रणालीभित्र सानै उमेरका खेलाडी÷विद्यार्थीहरूको पहिचान र विकास र उत्थान गर्ने खालको कुनै पनि प्रकारको कार्यक्रम र नीति अंगालेको देखिँदैन । खेलडीहरूले प्रतियोगितामा सहभागी हुन्छन् र जित्ने खेलाडीहरूले स्कुल वा कलेजको टिममा प्रवेश पाउँछन् । प्रतियोगितामा हार्ने खेलाडीहरूलाई टिममा प्रवेश दिलाउन कुनै विकासका कार्यक्रम हुँदैनन् । यस्तो प्रकारको खेलकुद प्रणाली त्यसबेला सफल हुन्छ, जब प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीहरूले सहभागिता जनाउने हुन्छन् ।

युरोपका विश्व विद्यालयहरूको संरचना र बनावटअन्तर्गत विभिन्न विषयका निकायका क्रियाकलापमध्ये खेलकुद प्रतियोगितालाई त्यत्तिको महत्व दिएको पाइँदैन । विश्वविद्यालयका धेरै शैक्षिक क्रियाकलापअन्तर्गत एउटा सानो विभागको रूपमा शारीरिक शिक्षा विभागको सञ्चालन भए पनि यसका शिक्षकहरू उच्चस्तरका खेलाडी निर्माण गर्ने कार्यको जिम्मेवारी पाएका हँुदैनन् ।
अमेरिकाको खेलकुद समाज अलि फरक प्रकृतिको हुन्छ । यहाँ प्रतियोगितामा प्रथम हुनेहरूले ठूलो सम्मान पाउँदछन् । हिसाब विषयमा अति उच्च अंक प्राप्त गर्ने विद्यार्थीभन्दा १०० मिटर दौडको च्याम्पियनलाई कलेज वा विश्वविद्यालयहरूले ठूलो आवाज वा घमण्डका साथ प्रचार प्रसार गरेको पाइन्छ ।

सन् २०१२ मा सम्पन्न भएको लन्डन ओलम्पिकमा अमेरिकाले सबैभन्दा बढी ४६ स्वर्ण पदक जितेर आफू खेलकुदमा महारथी देश हो भन्ने संसारलाई परिचय दिए पनि अमेरिकाका राष्ट्रपतिको फिटनेस, स्पोर्टस र न्युट्रिसन काउन्सिलले गरेको पछिल्लो सर्वेक्षणमा तीन बालबालिकाहरूमध्ये एक (३३.३३५) बालवालिका मात्र शारीरिक रूपमा क्रियाशील भएको भएको पाइन्छ । अमेरिकामा रहेका सम्पूर्ण बयस्कमध्ये मात्र ५ प्रतिशतले दैनिक ३० मिनेटको शारीरिक क्रियाकलाप गरेको देखिन्छ । युवाहरूको निम्ति निर्धारण गरेको शारीरिक क्रियाकलापमा ८० प्रतिशतभन्दा बढी युवाहरूले मानक पार नगरेको पाइन्छ । यस देशका बालबालिकाहरू प्रतिदिन साढे सात घन्टा भिडियो गेम, टिभी र कम्प्युटरमा खेलिरहेको पाइछ । सन् २०१० मा गरेको सर्वेक्षणअनुसार सात करोड ७० लाख वयस्क नागरिकहरू र १२ंं५ मिलियन बालबालिका र युवामा शारीरिक तौल बढी पाइएको छ ।

माथि तालिकामा देखाए जस्तै अमेरिकी जनताको शारीरिक तौलमा वृद्धि हुने क्रम नरोकिएकाले विभिन्न चिकित्सकीय खर्च वृद्धि हुँदै जाने र देशको सम्पूर्ण खर्चको १६ देखि १८ प्रतिशत अर्थात् १५० विलियन डलर खर्च हुनेछ ।

फिटनेस, स्पोर्टस र न्युट्रीसनसम्बन्धी अमेरिकाको राष्ट्रपतीय परिषद्ले शारीरिक क्रियाकलापको नीतिद्वारा जनतालाई शरीरिक रूपमा क्रियाशील बनाउने लक्ष्य लिएको पाइन्छ । गत केही दशकदेखि स्वास्थ्यलाभको निम्ति क्रियाशील भएको खण्डमा मानिस स्वस्थ्यलाभ हुन्छ भन्ने प्रचारप्रसार गरेको पाइन्छ । अझै पनि फुर्सदको समयमा २५% अमेरिकी जनताले कुनै पनि किसिमको शारीरिक क्रियाकलाप नगरेको पाइन्छ । यस्तो परिस्थितिमा पनि अमेरिकामा शारीरिक क्रियाकलाप गर्नेको निम्ति प्रयोग हुने उपकरण, फिटनेस सेन्टरहरू र अन्य खेलकुदका सामान उत्पादन गर्ने उद्योगहरूको वृद्धि भएको पाइन्छ । सन् २००८ मा अन्तर्राष्ट्रिय स्वास्थ्य, राकेट र स्पोर्ट्स क्लब संघले जानकारी दिएअनुसार चार करोड ५४ लाख मानिसहरूले हेल्थ क्लबमा सदस्यता लिएको पाइन्छ ।

अमेरिकी जनतामा प्रत्यक्ष शारीरिक क्रियाकलाप गर्ने बानीमा वृद्धि गर्ने नीतिअन्तर्गत विद्यालय, कलेजहरूमा गुणस्तरयुक्त शारीरिक शिक्षाका कक्षाहरूमा सक्रिय सहभागी गराउन नीतिअन्तर्गत यातायात नीति जसअन्तर्गत बसस्टपहरू कायम गर्दा साधारण जनतालाई केही दूरी हिँडेर पुग्नुपर्ने बनाउने, बाटोको एकातर्फ वा दायाँबायाँ साइकल चढ्न छुट्टै लेन बनाउने आदि छन् । यसका लागि सन् २००५ मा अमेरिकाको ५० वटै प्रान्तीय राज्यहरूमा भएका ३४,५०० नगरपालिका र स–साना सहरहरूमा उही नीति लागू गर्ने र सुरक्षित, भरपर्दो, लचक र सक्षम सार्बजनिक यातायात नीति लिएको थियो ।

राष्ट्रिय कलिगेट एथलेटिक एसोसिएसनले सन् १९८१–८२ को शैक्षिक सत्रदेखि देशभरका आफ्ना सदस्य कलेजहरूले कुन खेल प्रतियोगितामा कति विद्यार्थीहरूले (छात्र÷छात्राहरू) सहभागिता जनाएको छ भन्ने तथ्यांक लिन थालेको हो । जसअनुसार सन् २०११–१२ को शैक्षिक सत्रमा राष्ट्रिय कलिगेट एथलेटिक एसोशियसन च्याम्पियनसिपका विभिन्न प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको संख्या चार लाख पचास हजार देखिन्छ (५६.८ प्रतिशत छात्र र ४३.२ प्रतिशत छात्रा) देखिन्छ ।

सन् २०११–१२ मा राष्ट्रिय कलिगेट एथलेटिक एसोसिएसनमा नयाँ १८७ पुरुष र २३१ महिला टिमहरूले प्रवेश गरेको देखिन्छ । सन् १९८८–८९ देखि हालसम्म ३,४५० पुरुष टिम र ४,८७२  महिला टिमहरू यस संस्थामा समाहित भएका थिए । तर विभिन्न कारणले सन् २०११–१२ मा क्रमशः ६८ र ४६ पुरुष र महिला टीमहरू निष्क्रिय रहेको देखिन्छ ।

सन् १९८६ देखि प्रोफेसनल खेलाडीहरूले पनि ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने नियम पारित गरे । अमेरिकन ओलम्पिक कमिटीले विभिन्न स्रोतबाट आम्दानी गर्दछ । टिभी ब्रोडकास्टिङ राइटबाट सन् २००५–००८ सम्ममा ६२७ मिलियन डलर आम्दानी गरेको थियो । यसका अतिरिक्त १२० मिलियन डलर विभिन्न कर्पोरेट स्पोनसरबाट आम्दानी गरेको थियो । उक्त आम्दानीबाट ओलम्पिक प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई २५ हजार डलर, रजत र काँस्य जित्नेलाई कमशः १५ र १० हजार अमेरीकन डलर नगद पुरस्कार दिने गरिएको छ । ओलम्पिक प्रतियोगितामा विभिन्न पदक जित्ने खेलाडीलाई प्रमुख दस राष्ट्रहरूले निम्नअनुसार नगद पुरस्कार व्यवस्था गरेको थियो ।

हालै सम्पन्न १३औं साग प्रतियोगितामा पदक जित्ने खेलाडीलाई दिइने नगद पुरस्कारको बारेमा केही समस्या देखापरेको छ । नेपाल सरकारले साग, एसियन र ओलम्पिक प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने नीति   तर्ज‘मा गरिए पनि देशमा हुने मुद्रास्फीति, बजार भाउ आदिको मूल्यांकन गरेर अवश्य पनि बृद्धि गर्नुपर्दछ । जसलाई वैज्ञानिक तरिकाले युक्तिसंगत पनि हुनुपर्दछ । पुरस्कार राशिमा वृद्धि गर्दैमा मात्र ओलम्पिकमा पदक पाउने हुँदैन ।
अमात्य खेलकुद विज्ञ हुन् ।