तरुण खबर
२३ मंसिर २०७७, मंगलवार १२:४५
काठमाडौं । १३ औं साग नेपालमा हुने निर्णय भएको ४ वर्ष अघि अर्थात सन् २०१५ मा हो । पूर्वतयारीका लागि ४ वर्षको समय प्रयाप्त हो तर पूर्वतयारी नपुगेकै कारण कतिपय प्रतियोगितामा नेपालले पदक गुमाएको छ । उदाहरणका लागि सुटिङ प्रतियोगितालाई लिन सकिन्छ । नेपाली खेलाडीले पेस्तोलको अभावमा अभ्यास गर्न पाएनन् । अन्तिम समयमा पेस्तोलको व्यवस्था गरियो तर थ्रोत्रो पेस्तोल भएका कारण काम लागेन । रुँदै रुँदै बीचमै प्रतियोगिता छाड्नु पर्ने वाध्यतामा नेपाली खेलाडी परे ।
सुटिङमा मात्रै होइन धेरै विधामा यस्तै लापरवाही देखियो । साइकलिङ प्रतियोगितामा पनि नेपाली महिला खेलाडीले नयाँ साइकल पाएनन् । आफ्नै पुरानो साइकल लिएर सहभागी भएकी सोनी गुरुङले मुलुकलाई स्वर्ण पदक दिलाइन, तर उनले प्रतियोगिता जित्दा कुन देशको हो भन्ने छुट्याउन रेफ्रीलाई हम्मे हम्मे प-यो । किनकी अरु सबै देशका प्रतियोगीहरु आफ्नो देशको नाम तथा झण्डा सहितको ट्रयाक सुटमा थिए तर नेपाली प्रतियोगी सोनी गुरुङलाई भने यो सुविधा उपलव्ध भएन ।
आफ्नै पुरानो स्वीमिङ कष्टम लगाएर उनी साइकलिङ् प्रतियोगितामा सहभागी थिइन । आयोजक राष्ट्रले नै आफ्ना खेलाडीलाई आफ्नो देशको नाम तथा झण्डा अंकिट ट्रयक सुट उपलव्ध नगराएको यर्थाथता पत्याउन सुरुमा विदेशी रेफ्री तयार भएनन् । यसै गरी पुरुष तर्फको पौडी प्रतियोगितामा कष्टमको व्यवस्था नगरिएका कारण एक नेपाली प्रतियोगीले सोनी गुरुङले साइकलिङ प्रतियोगितामा भाग लिँदा लगाएको स्वीमिङ कष्टम मागेर भाग लिए ।
करिव ४ अर्ब रुपैंया बजेट स्वाहा पार्न लागिएको यो सागमा विदेशी जजलाई दैनिक ५ हजार रुपैंया भत्ता र आवास तथा खानपिनको व्यवस्था गरियो भने नेपाली जजलाई भने दैनिक २ हजार रुपैंयामा टारियो । खाने तथा बस्ने व्यवस्था गरिएन । यता सागको बजेटबाटै सबै मन्त्रीलाई दौरा सुरुवाल, कोटको प्रवन्ध गरियो । अरबौं रुपैंया दुरुपयोग भयो ।
पदक संख्यामा अहिले सम्मकै रेकर्ड तोडिएको भन्दै खेलकुद परिषद्ले आफ्नो भ्रष्टाचार ढाकछोप गर्ने प्रयास गरेको छ । सरसरर्ती हेर्ने हो भने स्वर्ण पदकको रेकर्ड तोडिएको सत्य हो तर गहिराईबाट हेर्ने हो भने सन् २००० मा सम्पन्न आठौं साफ जतिको नतिजा यस पटक प्राप्त भएको छैन ।
आठौं साफमा १ सय ६ स्वर्णपदकमध्ये ३१ वटा अर्थात ३० प्रतिशत भन्दा बढी स्वार्ण पदक नेपालले जितेको थियो । आसन्न १३ औं सागमा ३ सय २७ स्वर्ण पदक छन् । आठौं साफको रेकर्डलाई भेट्टाउन नेपालले यस पटक कम्तिमा १ सय स्वर्ण पदक जित्नु पर्ने हुन्छ तर अहिले सम्म ४४ अर्थात १३ प्रतिशत मात्रै स्वर्ण पदक जितेको छ । अब नेपालले स्वर्ण पदकको संख्या उल्लेख्य थप्ने संभावना छैन । नेपालले जित्नसक्ने संभावना भएका प्रतियोगिताहरु अब धेरै छैनन् ।


