तरुण खबर
१४ फाल्गुन २०७७, शुक्रबार ११:२४
ओलीले प्रचण्ड–नेपाललाई फेरी पनि फनफनी घुमाउने
काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म संसदभित्र विपक्षी दलकै भूमिकामा रहेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले संसद्को पुनस्र्थापना गरेपछिको अवस्थामा पार्टीको धारणा तयार गर्न बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद् पुनस्र्थापनापछिको समीकरणका विषयमा सबै कुरा नेकपासँगै निर्भर भएको र कांग्रेसले भूमिका निभाउने वेला नभएको ठहर गरेको छ ।
अनौपचारिक छलफलमा सहभागीहरूले नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षको हैसियतमा पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएको बारेमा पुनःस्मरण गराएका थिए । ‘त्यसैले सरकारमा जाने हतार र लोभ लालच देखाउने कुरो गम्भीर त्रुटी हुने’ उनीहरूको सुझाव थियो । कसैले भने त्यो अवस्थालाई ध्यानमा राख्दै वर्तमान संसदीय प्रक्रियामा परिस्थिति कसरी विकसित हुँदै जान्छ र नेकपाभित्रको अन्तरविरोधको निश्कर्ष कहाँ पुगेर टुंगिन्छ त्यसपछि मात्र ठोस निर्णय गर्नुु बुद्धिमानी हुने उनीहरुको धारणा थियो ।
यता दुई तिहाई नजिक रहेको पार्टीले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएको आरोप खेप्नु पर्ने डरले पनि पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पिरलेको छ । उनीहरुले जीवनभर त्यही आरोप खेप्नु पर्ने छ ।
नेकपा जसरी अगाडि बढ्छ, कांग्रेसले त्यही आधारमा निर्णय लिने सहमति भएको एक नेताले बताए । ‘अहिले त यो सरकार ढल्ने वा नढल्ने भन्ने कुरा पनि हाम्रो हातमा छैन । हामीले त उहिल्यै जनमतको कदर गर्न सकेन भनेर भनिसकेका छौँ,’ छलफलमा सहभागीहरुले भनेका थिए ।
एकता असम्भव नभएको दाहाल–नेपाल पक्षको दावी
संसद पुनःस्थापनासँगै सरकार गठन र विघटनमा मुलुकको राष्ट्रिय राजनीति केन्द्रीत हुन थालेको छ । सरकार कसको र कसरी बनाउने भन्नेबारे दलहरुबीच आन्तरिक र छुट्टाछुट्टै छलफल सुरु भएका छन् । यो क्रममा पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेताहरुसँग बिहीबार छलफल गरेका थिए । काँग्रेस सभापति देउवाले पनि बिहीबार नै आगामी राजनीतिक दिशाबारे आफ्नो पार्टी पदाधिकारी बैठकमा छलफल गरेका छन् ।
बालुवाटारमा झण्डै दुई तिहाई बहुमत प्राप्त पार्टी फुटाएर करिब २५ प्रतिशत सीट रहेको काँग्रेसलाई सत्ता जिम्मा लगाउने हो भने आगामी चुनावमा जनताका अघि मुख देखाउन ठाउँ नहुने विश्लेषण सुरु भएको छ । ससद पुनःस्थापना नहुने भएकाले प्रचण्ड–नेपाल खेमालाई अलग्याएर निर्वाचनमा आफ्नो पार्टी पहिलो बनाउन युद्धस्तरमा अभियान सुरु गरेका नेताहरु संसद पुनःस्थापनासँगै बदलिन थालेका छन् । प्रचण्ड–नेपाल खेमाका नेताहरुले भने ओलीले नैतिकताका आधारमा राजीनामा दिएमा जनताका बीच आत्मलोचना गरेमा एकता असम्भव नभएको प्रतिक्रिया सार्वजनिक रुपमै दिइसकेका छन् ।
संसद पुनःस्थापनापछि पहिलो पटक बुधबार बसेको यो खेमाको स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा आफूहरु रहेको बताए ।
सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै हिजै बिहीबार चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा छुट्टाछुट्टै रुपमा सक्रिय भएका हुन् । उनीहरुले संसद् खुल्ने भएसँगै नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्नका लागि कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा भेटवार्ता गरेका छन् । दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेको बुझिएको छ ।


