तरुण खबर
१४ फाल्गुन २०७७, शुक्रबार ११:३६
प्रचण्डसँग जसपाका तीन नेताको सम्बाद
काठमाडौं । टीकापुर घटनाको अभियोगमा डिल्लीबजारको जेल परेका जसपाका नेता रेशम चौधरीका सम्बन्धमा पुष्पकमल दाहालसँग जसपाका शिर्ष नेताहरुले गम्भिर असन्तुष्टि जाहेर गरेका छन् । चौधरी प्रतिनिधिसभामा कैलाली जिल्लाबाट निर्वाचित भएका थिए । नेकपाको काठमाण्डौंको पेरिसडाँडास्थित पूर्व मओवादीको कार्यालयमा बिहीवार बिहान छलफल भएको थियो ।
नेकपाका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल थिए भने जसपाको तर्फबाट नेतात्रय महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए । तत्कालीन संविधानसभाबाट नयाँ संविधान जारी भएकाबेला तपाईँहरू सबै मिलेर हामीलाई धोका दिनुभयो । त्यतिबेला पनि हामी संघर्षमा थियौँ, अहिले पनि सङ्घर्षमा छौँ । सहकार्य कसरी हुन्छ ? महतोले दाहाल–नेपालसँग सोधेका थिए । सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गर्ने बेला तराई केन्द्रित दलहरू आन्दोलनरत थिए ।
प्रदेश सीमांकन, नागरिकता र पहिचानसहितको संघीयता लगायतका विषयमा अझै मधेस केन्द्रीत दलहरू असन्तुष्ट रहिआएका छन् । यसअघि ती कुरालाई स्मरण गराउँदै बिहीवार प्रचण्ड–नेपालसँगको छलफलमा महतोले भने– प्रतिनिधिसभा विघटनलाई हामीले प्रतिगमनमाथि अर्को प्रतिगमन भनेका छौँ । सहकार्य गर्नका लागि त हाम्रो लागि प्रतिगमन सच्चिएकै छैन । छलफलमा आफूहरूले आफ्ना कतिपय नेता, कार्यकर्तामाथि चलाइएका मुद्दा र जेलसजाय लगायतका विषय पनि उठाएका थिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएपछि राजनीतिक छलफलमा व्यस्त रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीवार जनता समाजवादी पार्टी (जसपा) का शीर्षस्थ नेतासँग लामो कुराकानी गरेको थियो । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा नेताहरूबीच पौने एक घण्टा छलफल भएको थियो ।
विकसित राजनीतिक अवस्थामा र संसद्मा पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको बुझिएको छ । सहकार्यबारे नेकपाको प्रचण्ड–नेपाल समूहसँग फेरि कहिले छलफल हुन्छ भन्ने जिज्ञासामा राजेन्द्र महतोले भने– राजनीतिक दलहरूबीच छलफल नहुने भन्ने हुँदैन । सहकार्यका लागि त विगतका कमजोरी सच्याइनुप¥यो । हामीले पटकपटक धोका खाइसकेका छौँ । यसअघि बुधवार नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा पनि मिलेर अघि बढ्न प्रस्ताव गरेको थियो ।


