तरुण खबर
१५ फाल्गुन २०७७, शनिबार १३:२६
काठमाडौं । सरकारले आगामी फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । जस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संसदको अधिवेसन आह्वान गर्ने छिन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले २३ फागुनमा प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले गत मंगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछिन् ।
हिजो शुक्रबार सरकारका उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । नेकपा ओलीपक्षीय अनेरास्ववियुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका हुन् ।
ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने पनि उनले बताए । उनले भने, ‘केपी ओली संसद्को सर्वोच्चतालाई मान्छन् । केपी ओली संसद्को सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । उनले अगाडी भने– केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरूको सामना गर्छन्, तिमीहरु सबैले बुझ । तर उपप्रधामन्त्री पोखरेलले भने– पदबाट राजीनामा दिने कल्पना पनि नगर भने । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने पोखरेलको दाबी थियो ।


