तरुण खबर
१५ फाल्गुन २०७७, शनिबार १३:४०
माधवको विचल्ली हुने रु को हुन् ऋषि कट्टेल ?
काठमाडौं । नेकपाको लामो समयदेखिको विवाद फागुन २० गते टुंगिने भएको छ । एमाले र माओवादी एकिकरण भएपछि नेकपा (नेपाल कम्युनिष्ट पार्टी) बनेको केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको पार्टीको विवाद टुंगिन लागेको हो । किन भने ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा पहिले नै दर्ता भएको थियो । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नु अगाडि नै आफ्नो नेतृत्वमा नेकपा रहेको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
नेकपाको विवाद, सत्ता र शक्तिको प्रयोग
सत्ता र शक्तिको प्रयोग गरी ओली र दाहालले नेकपा आफ्नो पक्षमा पारेका थिए । एमाले–माओवादी केन्द्रबीच ३ जेठ ०७५ मा एकता भई नवगठित नेकपा बनेको थियो । तर, निर्वाचन आयोगले दर्ता गर्न नमानेपछि नेताहरू झल्याँस्स भए । किनभने, त्यसअघि नै ०६९ साउनमा नेकपा आयोगमा दर्ता थियो । कोष्ठकभित्र नेकपा लेखेर २३ जेठ ०७५ मा आयोगले दर्ता प्रमाणपत्र दियो । यसपछि कट्टेल नेतृत्वको नेकपा सर्वोच्च गएको हो । नेकपामाथि चौतर्फी रुपमा वैधानिकताको प्रश्न उठेपछि सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सुनुवाइ भएको थियो । ऋषि कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस सुरु भएको थियो । यो मुद्दाको फैसला आजको चार दिनपछि आउने भएको छ । अर्थात नेकपा नाममा भएको बिवाद किनारा लागे सत्तारुढ नेकपाको विवादसमेत किनारा लाग्ने बताइएको छ ।
को हो त आधिकारिक ऋषि कट्टेल कि ओली दाहाल ?
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट कारबाही गरेको दाहाल–नेपालकोे समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ । यता ओलीले भने नक्कलीहरुले मात्र आधिकारिकता दाबी गर्ने भन्दै आफ्नो समूह नै आधिकारिक भएको बताउँदै आएका छन् ।
नेकपा नामकै पार्टी निर्वाचन आयोगमा दर्ता छ । त्यसकै नेता हुन्– ऋषि कट्टेल । कट्टेल नेतृत्वको नेकपाकै कारण सत्तारुढ नेकपाले निर्वाचन आयोगमा दर्ता गर्न सकस बेहोर्नु परेको थियो । सुरुमा अन्डरलाइन लगाएर दर्ता गर्न खोजियो, पछि कोष्ठकभित्र पनि (नेकपा) शब्द राखेर दर्ता गरियो । अहिले यी दुई पार्टीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपा अध्यक्ष कट्टेल भन्छन्, ‘सर्वोच्चमा हामीले मुद्दा हालेका छौँ । हेरौँ, फैसला कसको पक्षमा हुन्छ ?’ कोष्ठकभित्र संक्षिप्त नाम राखेर कट्टेलको मुखमा बुजो लगाइन्छ कि ओली र दाहाललाई पूर्ववत अबस्थामा पु¥याइन्छ ? यसका लागि फागुन २० गतेको फैसला कुर्नै पर्ने भएको छ ।
को हुन् ऋषि कट्टेल ?
ऋषि कट्टेल ०५८ सालमा सिपी मैनाली महासचिव रहँदा नेकपा (माले) मा दोस्रो तहका नेता थिए । दोस्रो जनआन्दोलनपछि मैनाली र कट्टेलबीच मतभेद देखिन थाल्यो । राजसंस्था, संघीयता, सविधानसभाजस्ता मुद्दामा मैनालीसँग उनको मतभेद भएको भएको हो । मैनालीलाई यथास्थितिवादी–राजावादीसँग नजिकिएको आरोप लगाउँदै कट्टेलले विद्रोही माले गठन गरे । कट्टेलसँग विद्रोह गर्नेमा टंक राई, जितवीर लामा, केपी फुँयाललगायत नेता थिए । ०२४ सालदेखि विद्यार्थी संगठनमा आवद्ध भएका उनले ०२६ सालमा नेकपाको पार्टी सदस्य लिएका ऋषि कट्टेल ०३७–०४३ सम्म नेकपा (माक्र्सवाद) का केन्द्रीय सदस्य थिए । ०४७ सालमा एमाले गोरखा पार्टीका प्रमुख भएका थिए । ०६४ सालमा नेकपा एकीकृत रहेको पार्टीले संविधान सभामा २ सिट ल्याएको थियो । र, ०६९ आफ्नै अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।
यसअघि, नेपाल कम्युनिष्ट पार्टी तेस्रो महाधिवेशन (२०१९) पछि अनेक चिरामा विभाजित भयो । पुष्पलालले ०२५ मा गोरखपुर सम्मेलन गरी पार्टी पुनर्गठन गरे । कट्टेलले त्यही धाराबाट राजनीति थालेका हुन् । ०३५ सालमा पुष्पलालको निधनपछि नेतृत्व साहना प्रधानले सम्हालिन् । ०४३ मा प्रधान नेतृत्वको पार्टी र मनमोहन अधिकारी नेतृत्वको पार्टी नेकपा (माक्र्सवादी ) बन्यो । ०४७ माघमा माले र माक्र्सवादी बीच एकतापछि एमाले बन्यो । यसरी कट्टेलको राजनीतिक निरन्तरता एमालेसम्म पुग्यो । एमालेले महाकाली सन्धिमा विवाद भएपछि ०५४ मा वामदेव गौतम समूहले माले गठन ग-यो । कट्टेल मालेमा आबद्ध भए । ०५८ मा गौतमलगायत एमालेमा फर्किएपछि मैनाली, कट्टेललगायत मालेमै रहेका थिए । अनि, ध्रुवचन्द्र गौतमको उपन्यास (‘कट्टेल सरको चोटपटक’) सम्झाउने गरी अस्तित्व रक्षार्थ अदालतमा नामको आधिकारिता खोज्दै छ, ‘कट्टेल सरको’ नेकपा ।


