भारतमा फेरी बढ्दै कोरोना भाइरसको संक्रमण

भारतमा फेरी बढ्दै कोरोना भाइरसको संक्रमण तरुण खबर १६ फाल्गुन २०७७, आईतवार १४:५६
भारतमा फेरी बढ्दै कोरोना भाइरसको संक्रमण

शनिबार ७ लाख ७३ हजार ९१८ को परीक्षण गर्दा १७ हजार संक्रमित

काठमाडौं । १ अर्ब ३८ करोड ८९ लाखभन्दा बढी जनसंख्या भएको भारतमा केही महिनासम्म कोभिड–१९ का बिरामीको सङ्ख्यामा उल्लेख्य कमी आएपनि फेब्रुअरी महिनामा भने केही राज्यहरूमा सङ्क्रमण दर स्वाट्टै उकालो चढेको छ । भारतमा कोरोना भाइरसका कुल संक्रमित १ करोड १० लाख ९६ हजार ४४० जना छन् ।  कुल संक्रमितमध्ये फागुन १६ गते बिहान ७.१५ बजेसम्ममा १ लाख ५७ हजार ८७ जनाको निधन भैसकेको छ ।  फागुन १६ गते ७ लाख ७३ हजार ९१८ जनाको नमुना परीक्षण गर्दा १७ हजार ३४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

फेब्रुअरीको सुरुमा भारतको व्यापारिक राजधानी अमरावती जिल्लामा डाक्टरहरूले एक्कासी कोभिड–१९ का बिरामीको सङ्ख्यामा बृद्धि भएको पाए । अघिल्लो वर्ष गर्मी महिनामा कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरपछि महाराष्ट्र राज्यको कपास फल्ने जिल्लामा जनजीवन सामान्य भइसकेको थियो । १,६०० आइसीयु शैया रहेको राज्य सञ्चालित अस्पताल र आधा दर्जन निजी अस्पतालहरू लगभग खाली भइसकेका थिए ।

विवाहका ठूला कार्यक्रम हुनु, सिनेमा घर, जिमखाना र स्वीमिङपुलहरू खुल्नु, राज्यहरूमा चुनावी कार्यक्रमहरू हुने कारणले पनि सङ्क्रमण फेरि बढेको विज्ञहरूले बताएका छन् । बजारहरूमा भीड पुनः बढेको छ र सामाजिक दुरीजस्ता नियमहरूको पालना गरिएको छैन ।

फेब्रुअरी महिनामै अकस्मात बढ्यो संक्रमण
यो फेब्रुअरी महिनमै सबै परिवर्तन भयो र अहिले भारतका जिल्ला–जिल्लामा आतंकको अवस्था छ । फेब्रुअरीको सुरुवातमा अमरावतीमा १० हजारभन्दा बढीमा कोरोना भइरसको नयाँ संक्रमण पुष्टि भएको थियो । र, ६६ भन्दा बढीको मृत्यु भइसकेको छ । यो साता १ हजार भन्दा बढीले कोरोना भाइरसको संक्रमणको उपचार गरेका छन् । महाराष्ट्रका अमरावती र अन्य जिल्लाहरूमा फेरि लकडाउन लगाइएको छ । बिरामीको सङ्ख्या बढ्नुको कारण के हो हामीलाई साँच्चै थाहा छैन। चिन्ताजनक कुरा भनेको पूरै परिवार सङ्क्रमित भइरहेका छन् । यो एकदमै नयाँ अवस्था हो, उक्त जिल्लाका डाक्टर श्यामसुन्दर निकमले भनेको बीबीसीले उल्लेख गरेको छ ।

कुन कुन राज्यमा बढ्यो संक्रमण
“यहाँ मानिसहरू मास्क लगाइरहेका छैनन् । विवाह वा स्थानीय चुनावका लागि अभियान गर्ने जस्ता कार्यमा भीडभाड गरिरहेका छन् । परीक्षण र कन्ट्याक्ट ट्रेसिङ पनि कम भइरहेको छ र यसै कारण अहिले सङ्क्रमणको अवस्था यो चरणमा पुगेको हो । सङ्क्रमितको सङ्ख्या महाराष्ट्र राज्यमा मात्रै नभइ केरला, कर्नाटका, तेलङ्गना, मध्यप्रदेश, छत्तिसगढ र पञ्जाव राज्यहरूमा पनि बढेको खबरहरू आएका छन् । यसले वैज्ञानिक र सरूवा रोगसम्बन्धी विज्ञहरूलाई चिन्तित तुल्याएको छ । ती राज्यका चिकित्सकहरूले पनि महाराष्ट्रकै जस्तो कारणले सङ्क्रमितको सङ्ख्या बढेको बताएका छन् ।