तरुण खबर
१७ फाल्गुन २०७७, सोमबार १७:४२
काठमाडौं । ६ करोड ८१ लाख २२ हजार ३३४ जनसंख्या भएको बेलायतमा हालसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या २ करोड नाघेको छ । बेलायत सरकारबाट प्रकाशित पछिल्लो तथ्यांकअनुसार बेलायतमा २ करोड ८९ हजार ५ सय ५१ जनाले कोरोना भाइरस खोपको पहिलो डोज पाएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४१ लाख ७६ हजार ५५४ जना मात्र छन् । १ लाख २२ हजार ८४९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
त्यस्तै, अहिलेसम्म खोपको दुवै डोज पाउनेहरू पनि ७ लाख ९६ हजार १ सय ३२ छन् । बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्सफोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ । ‘बेलायतमा २० मिलियनले खोपको पहिलो डोज लगाउन सफल भएका छन्, यो विशाल राष्ट्रिय उपलब्धि हो,’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै भनेका छन् ।
उनले सबैलाई खोपको लागि बोलाउने बित्तिकै तत्कालै खोप लगाउन समेत आग्रह गरेका छन् । बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ। आउँदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।


