तरुण खबर
१८ फाल्गुन २०७७, मंगलवार १६:५०
पुरानै अविश्वास प्रश्ताव टेवुल हुन्छ कि नयाँ आउँछ हेर्न बाँकी छ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्ले सोमवार गरेको सिफारिसका आधारमा आगामी फागुन २३ गते आइतवार अपराह्न चार बजेका लागि प्रतिनिधिसभाको अधिवेशन डाकिएको हो । नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै गत मङ्गलवार १३ दिनभित्र अधिवेशन बोलाउन प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय र सभामुखका नाममा परमादेश जारी गरेको थियो । हिउँदे अधिवेसन प्रारम्भसँगै पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँने गरी संसद नभएको बेलाकै अविश्वास प्रश्ताव पेश हुन्छ कि अर्को प्रश्तवा टेबुट हुन्छ हेर्न बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिने भन्दै गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस थिए । त्यसलाई राष्ट्रपति भण्डारीले तत्कालै सदर गरिदिएपछि त्यसले नेपालको राजनीतिमा तरङ्ग निम्त्याएको थियो । त्यसपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा स्पष्ट विभाजन देखिए पनि उक्त फुटले औपचारिकता नपाउँदा भावी संसदीय गतिविधि थप जटिल बन्ने भएको बताइन्छ ।
प्रतिनिधिसभा पुनस्र्थापनासँगै नेकपाको प्रचण्ड–माधव समूहका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिने बरु सांसदलाई सामना गरेर अघि बढ्ने रणनीति बनाएको उनी निकट नेताहरूले बताउँदै आएका छन् । आगामी अधिवेशनबाट सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गराएर नयाँ सरकार बनाउनका लागि प्रमुख विपक्षी नेपाली काँग्रेसको निर्णायक भूमिका देखिन्छ ।


