नेपाल र भारतका हिन्दूमा फरक छ ?

नेपाल र भारतका हिन्दूमा फरक छ ? तरुण खबर ११ पुष २०७८, आईतवार ११:५३
नेपाल र भारतका हिन्दूमा फरक छ ?

आजभन्दा १२ सय वर्षअघि पश्चिम नेपालको कर्णाली प्रदेशमा ‘सपाद लक्ष्य खस देश’ सवा लाख खस देश विकसित थियो । ती खसहरू अघि बढ्दै गण्डकी प्रदेशको कछाड मगरातमा आइपुगेका हुन् । खस भाषा र संस्कृति उत्पत्ति भएको ठाउँ कर्णाली प्रदेशको पहाडी क्षेत्र हो, जसलाई खसान भनिन्छ । गण्डकी प्रदेशको कछाड भाग मगरात क्षेत्रलाई खसान्त भनिन्छ । किनभने खस भाषा र संस्कृतिको पूर्ण विकास भएको थलो भएकाले खसान्त भनिएको हो । त्यो भाषा र संस्कृति गण्डकी प्रदेशबाट पूर्वतिर सम्पे्रषित हुँदै गएको पाइन्छ ।

काठमाडौंका प्रतापी राजा प्रताप मल्ल र पिता लक्ष्मीनरसिंह मल्लको पालामा मखन महादेव जुन हनुमानढोकाबाट बायाँतिर मोडिएर जाँदा भेटिन्छ, जसलाई मखन महादेव भनिन्छ । मखन महादेवको शिलालेख र स्वयं प्रताप मल्लको रानीपोखरीको शिलालेख नेपाली भाषामा लेखिएको छ, नेपाल भाषामा होइन । त्यो शिलाखेलमा खस मगर भनेर पाँचजनालाई साक्षी राखिएको छ । पाँच भनेको पञ्च, पञ्च भनेको भारदार हो । प्रताप मल्ल र उनका पिता लक्ष्मीनरसिंह मल्लको समयमै नेपाल उपत्यकाको मल्ल दरबारमा खस भाषाले राजकीय सम्मान प्राप्त गरिसकेको थियो । र, खस मगरहरूले भारदारको रूपमा मान्यता पाइसकेका थिए भन्ने कुरा इतिहासमा प्रस्ट छ ।

नेपालमा अहिले हामी जुन भाषालाई राष्ट्र भाषा भन्छौं, त्यो खस भाषाको विकसित रूप हो । कुनैबेला त्यो खस कुरा थियो, पछि खस भाषा भयो । जुन कुरामा साहित्य लेखिँदैन, बोलिचालीको माध्यम मात्र हुन्छ, त्यसलाई कुरा भनिन्छ । जब कुरामा साहित्य लेख्न थालिसकेपछि त्यसलाई भाषा भनिन्छ । अहिलेको राष्ट्र भाषा नेपाली खस भाषाकै विकसित रूप हो ।

नेपालमा जुन, हिन्दू र आर्य संस्कृति भनिन्छ, त्यो पनि खस संस्कृतिको विकसित रूप हो । त्यसकारण नेपालको हिन्दू र आर्य संस्कृति भारतको हिन्दू र आर्य संस्कृतिभन्दा फरक छ । किनभने नेपालको संस्कृतिमा यहाँको स्थानीयता छ । आफ्नो हावापानी, ढुंगामाटो, आकाश र धर्तीको सम्बन्ध छ । यहाँका आदिवासीहरूको भाषा र संस्कृतिसँग समन्वय छ । त्यसकारण नेपालको हिन्दू र आर्य संस्कृति विशिष्ट छ ।

सर्वसाधारण खस समुदायमा लड्न भिड्न सक्ने, दह्रो पाखुरा भएको सुरवीर एउटा वर्ग माथि उठ्यो । त्यो खँुडा हान्ने खड्ग साधना गर्ने वर्ग खड्का कहलाइए । तर सबै लड्न भिड्न सकेर मात्र भएन, राजकाज गर्न पनि सिपालु चाहिन्छ, राजकाज गर्न दिमाग र बुद्धि चाहिन्छ । खस समुदायबाट राजकाज गर्न सक्ने एउटा वर्ग माथि उठ्यो, त्यो चाहिँ पुँवर र राउत हुन् ।

आधुनिक नेपालको एकीकरणको शुभारम्भ गोरखाबाट भएको हो । तर, नेपाल एकीकरणको पूर्वरूप लमजुङमा तयार भएको थियो । लमजुङमा पुँवर, भण्डारी, राउत, सुयाल, दुरा र घिमिरेलगायत ६ थरले शाह राजा स्थापना गरेका थिए । यी ६ थरलाई खसान्त भाइ भनिएको छ । त्यसमा शेषान्त भाइ भनेको गुरुङ । ६ थर खसान्त भाइले राजा थापे, गुरुङहरूले त्यसलाई टीका दिए । टीकाको अर्को अर्थ राज्य पनि हो । खस बाहुन र गुरुङहरूले ठकुरी राजालाई निमित्त बनाएर अघि बढे ।

पृथ्वीनारायण शाहका मामाले लमजुङलाई गरुड, गोरखालाई सर्प र काठमाडौं उपत्यकालाई भ्यागुतो भनेका थिए । सर्पले गरुडको आँखा छल्न सक्यो भने भ्यागुतो खान पाइन्छ भनेर लमजुङसँग राम्रो सन्धि सम्झौता गरे भनेर भान्जालाई उपदेश दिए । सैनिक शक्तिमा लमजुङ बलियो भएकाले लमजुङलाई गरुड भनियो । खस, गुरुङ र मगरको सैन्यशक्ति नेपाल एकीकरणमा सफलिभूत र बलियो सावित भएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालको संक्षिप्त वृत्तान्तमा यही निष्कर्ष निकाल्नुभएको छ । खस, मगर र गुरुङको संयुक्त सेना नेपाल एकीकरणमा बलशाली र सफलीभूत भयो भनिएको छ । लमजुङमा मगरको संख्या धेरै छैन, जति तनहुँमा छ । तर खस, गुरुङ र मगरको संयुक्त सेना भएको हुनाले लमजुङलाई गरुड भनियो ।

अहिले नेपालमा जातीय सद्भाव र सामाजिक सहिष्णुता भड्किएको छ । नेपालमा नीति तिथि केही नभएर यस्तो भएको हो । हिन्दू धर्म र संस्कृति तथा राष्ट्रनिर्माण कसरी भएको छ, यसको पृष्ठभूमि के हो भनेर खोज्ने हो भने सम्पूर्ण वाङ्मयको अध्ययन गर्नुपर्छ । वाङ्मयमा राजोवाच, ऋषितोवाच भन्ने शब्द उल्लेख छ । राजोवाज भनेको क्षेत्री, ऋषितोवाच भनेको ब्राह्मण । तर, अहिले नेपालमा गणतन्त्र आयो, धर्मनिरपेक्ष्य भयो, राजोवाच पनि छैन, ऋषितोवाच पनि छैन । नेपालमा राजा र हिन्दू राज्य स्थापना गर्नुपर्छ भन्ने मेरो मान्यता होइन ।

हामीले के बुझ्नैपर्छ भने राजनीतिक व्यवस्था भनेको देशको अवस्थाअनुसारको हुनुपर्छ । गोपाल योञ्जनले गीत गाएका छन्, देशले रगत मागे मलाई बलि चढाउँ । देशले माग्यो भने जे पनि हुन्छ । बाहुनहरूले वेदशास्त्रको अध्ययन मात्र होइन, त्याग तपस्याले नीति निर्माण गरेका हुन् । बाहुनहरूले रणनीति बनाए, सत्य भन्नुपर्छ, नेतृत्व क्षेत्रीहरूको थियो । यहाँ बाहुन र क्षेत्रीको कुरा भएर मात्र भएन, नेपालको सन्दर्भमा लडका जाति भनेको गुरुङ, मगर, राई, लिम्बू हुन् । गोरखा भनेर नेपाललाई चिनाएको पनि यिनीहरूले नै हुन् ।

लन्डनमा ब्रिटिस रक्षा मन्त्रालयको अगाडि एउटा गोरखाली सेनाको शालिक स्थापना गरिएको छ । त्यसको तल थर्ड गोरखा रेजिमेन्टका कप्तान सर राल्फ ट्रनिक म्याकले ‘बहादुरीको पनि बहादुरी, पुस्तौ पुस्तादेखिको तिमीभन्दा असल साथी पाउन सकिनँ’ भनेर लेखेका छन् । भनेपछि बाहुनहरूको रणनीति, क्षेत्रीहरूको नेतृत्व, गुरुङ, मगर, राई, लिम्बूको सहभागिता छ । लडेर मात्र भएन, त्यसमा नेवारहरूको आर्थिक समुन्नति र कलाकौशलको विकासबाट नेपाल राष्ट्रको निर्माण भएको हो ।

२०२० सालमा मुलुकी ऐन आएपछि कानुन र ऐनका आधारमा जातभात छैन, तर आ–आफ्नो जातीय पहिचान अहिले पनि छ । जातीय पहिचान र व्यवस्था भए पनि सबै मिलेर काम गर्थे । यो सन्दर्भमा म तीनवटा कुराको उदाहरण दिन्छु । १८४९ सालतिर तिब्बत र नेपालको युद्ध भयो । युद्धमा तिब्बतलाई चीनले सहयोग ग¥यो । चीनका बादशाहको ज्वाइँ उजिर कुनसान विशाल सेना लिएर बेत्रावती आइपुगे । बेत्रावतीबाट काठमाडौं एकदिनको दरबिहान पनि छैन । त्यो बेला काठमाडौंमा चिनियाँ सेना आइपुगेको भए अहिले नेपाल रहन्थेन, त्यहीबेला चीन र भोटको हुन्थ्यो । त्यसबेला नेपाल सरकारले वार्ता र सन्धि गर्न कपरदार भोटु पाण्डे र टक्सारी नरसिंह गुरुङलाई पठायो । भोटु पाण्डे बाहुन होइन, कालु पाण्डेको सन्तान हुन् । भोटु पाण्डे सरदार भीमबहादुर पाण्डे, पवनकुमार पाण्डेका पुर्खा हुन् । कपरदार भनेको अहिलेको राष्ट्र बैंकको गभर्नर जस्तै हुन् ।

यी दुईले मिठो भाषामा कुराकानी गरेको हुनाले चिनियाँ सेनासँग सन्धि भयो । त्यहीँबाट चिनियाँ र भोट सेना फर्किए, जसले गर्दा नेपालको अस्तित्व बच्यो । त्यो अस्तित्व कसले बचायो, एउटा क्षेत्री र गुरुङले । त्यसपछि अर्को इतिहास आउँछ, नालापानीको । कप्तान बलभद्र कुँवरले अंगे्रजसँग डटेर लडे । नालापानीको किल्ला कप्तान अंगत घलेले बनाएका थिए ।

६० वर्ष नाघेपछि नेपालीहरूको इन्द्रिय शिथिल भइहाल्छ । लमजुङ रागिनासमा एउटा मोरिया कोट भन्ने छ, त्यो भक्ति थापाको गाउँ हो । भक्ति थापा पुवार थापा थिए । ७२ वर्षको उमेरमा भक्ति थापाले मलाउको किल्लामा उनले वीरताका साथ लडेर वीरगति प्राप्त गरेका थिए । उनी लमजुङका सरदार हुन् । नेपालले लमजुङ जितेपछि युद्धबन्दीको रूपमा भक्ति थापालाई बाँधेर ल्याएको थियो । तर म लमजुङे हुँ भन्ने भावनालाई त्यागेर बृहत् राष्ट्रको एकीकरणमा अघि बढे ।

अहिले हामीलाई यो राज्य, त्यो राज्य चाहियो भन्छौं । तर, भक्ति थापा एउटा उदाहरण हुन् । लमजुङ बृहत् राष्ट्रमा गाभिएपछि आफूलाई युद्धबन्दीको रूपमा पक्राउ गरेर ल्याएको कुरा बिर्सेर एकीकरण अभियानमा अघि बढेर ७२ वर्षको उमेरमा मलाउको युद्धमा वीरगति प्राप्त गरे । युद्ध जुनेली रातमा भएको थियो, राजगढको युद्धमा सुब्बा प्रल्हाद गुरुङले पनि वीरगति प्राप्त गरेका थिए । खस, गुरुङ र मगरको संयुक्त सेनाबाट नेपाल राष्ट्रको एकीकरण भएको भन्ने उदाहरण हामीसँग धेरै छन् ।

जात भनेको जात हुन्छ, विचारले ठूलो बनाउँछ । अब हामीहरू जातीय सद्भावलाई कसरी कायम गराउने, सामाजिक सहिष्णुतालाई कसरी कायम राख्ने, नेपाल राष्ट्रलाई कसरी सुदृढ बनाउने अभियानमा हामी लाग्नुपर्छ । नेपालको संस्कृति समन्वयात्मक छ । यो समन्वयको बाटोमा सबै नेपालीहरू हातेमालो गरेर अघि बढ्यौं भने नेपाल राष्ट्रलाई अखण्डित बनाउन सक्छौं । नेपालको राष्ट्रियतालाई बलियो बनाउन सक्छौं ।

भोटु पाण्डे, नरसिंह गुरुङ, बलभद्र कुँवर, अंगत घले, भक्ति थापा र प्रल्हाद गुरुङहरू मिलेर यो राष्ट्र बलियो बनाएका थिए । हामीले इतिहासलाई आत्मसात गरेर अहिलेको होहल्लामा नलागी सबैभन्दा पहिले यो राष्ट्र बचाउनुपर्छ । हामीले जातीय पहिचान राख्नुपर्छ, तर जातीय धरातलभन्दा माथि उठेर, गणतन्त्र र राजतन्त्रको धरातलभन्दा माथि उठेर धर्म सापेक्षताको धरातल माथि उठेर सबै मिलेर नेपाल राष्ट्र बचाउनुपरेको छ । भीमसेन थापाको पालामा पनि नेपाल क्राइसिस भन्ने थियो, तर अहिले त्योभन्दा पनि अप्ठ्यारोमा नेपाल क्राइसिसमा परेको छ । नेपालको अस्तित्व रहने कि नरहने अवस्थामा पुगेको हुनाले बाहुनको रणनीति, क्षेत्रीको नेतृत्व, गुरुङ, मगर, राई, लिम्बूको सहभागिता र नेवारहरूको आर्थिक सम्पन्नता र कलाकौशलबाट अगाडि बढेर यो राष्ट्रलाई अखण्डित बनाऔं, अब राष्ट्रियता दिगो बनाऔं ।
(संस्कृतविद् प्रा.डा.गुरुङको यो करिब दुई वर्ष अगाडी पनि तरुणमा प्रकाशित भएको थियो ।)