माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन पारित

माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन पारित तरुण खबर १६ पुष २०७८, शुक्रबार १८:४९
माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

एमसीसीबारे प्रचण्डको अमूर्त जवाफ
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बार अमूर्त जवाफ दिएर टार्ने प्रयत्न गरेका छन् । गत सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जवाफ दिएका हुन् । एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताए ।

‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ त्यही रुपमा बुझ्नुहोला । पार लगाइन्छ,’ उनले भने । एमसीसी पार लगाउने भन्ने प्रचण्डको जवाफको आशय पारित गर्ने वा खारेज गर्ने हो भन्ने स्पष्ट हुन नसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । उनको सो धारणा एमसीसी खारेज गर्नुपर्ने केही महाधिवेशन प्रतिनिधिको बुझाइ छ भने अधिकांश अलमलमा परेका छन् ।