सरकार र विप्लवबीच वार्ता, समान धारणा नजिक पुगेको दाबी

सरकार र विप्लवबीच वार्ता, समान धारणा नजिक पुगेको दाबी तरुण खबर २० फाल्गुन २०७७, बिहीबार १७:२९
सरकार र विप्लवबीच वार्ता, समान धारणा नजिक पुगेको दाबी

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको पार्टीबीचको पहिलो र दोस्रो चरणको वार्ता बुधबार सकिएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए । वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापाले गरेका छन् भने विप्लव नेकपाको वार्ता टोलीको नेतृत्व प्रवक्ता खड्कबहादुर विश्वकर्माले गरेका छन् । विश्वकर्माको नेतृत्वमा बनेको विप्लव नेकपाको वार्ता टोली सदस्यमा माओवादी सेनाका पूर्व कमान्डर उदय चलाउने सदस्य छन् ।

नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता-कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने बताइएको छ । बिहीबार तेस्रो चरणको वार्ता हुने भएको छ ।

चन्द निकट एक नेताका अनुसार बुधबारको वार्तामा दुवै पक्षबीच एउटा मुद्दामा सहमति बनेको छ । ’सरकारको प्रस्ताव वैधानिक तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्ने थियो । तर, वैधानिकभन्दा पुरानै संसद, यो संविधानलाई मान्नु पर्ने हुन्छ । त्यही भएर वैधानिक शब्द हटाएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्नेमा सहमति भएको बुझेको छु, उनले भने । यद्यपि यो सहमतिबारेको जानकारी औपचारिक रुपमा बाहिर आएको छैन ।

चन्द समूहले मंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ ।