नेकपाका सांसद सत्ता पक्षको कुर्सीमा कि प्रतिपक्षीको कुर्सीमा ?

नेकपाका सांसद सत्ता पक्षको कुर्सीमा कि प्रतिपक्षीको कुर्सीमा ? तरुण खबर २३ फाल्गुन २०७७, आईतवार १०:१८
नेकपाका सांसद सत्ता पक्षको कुर्सीमा कि प्रतिपक्षीको कुर्सीमा ?

कसरी चल्ला संसदको आजको बैठक

काठमाडौं । सर्वोच्च अदालतद्वारा पुनस्र्थापित प्रतिनिधिसभाको अधिवेशन आज आइतवारबाट सुरु हुँदैछ । संसद विघटन भैसकेपछि दर्ता भएको अविश्वास प्रश्तावले खासै बैधानिकता नपाउने भएपछि पुनः दर्ता गर्ने कि सहमति गर्ने नेकपाको माधव–प्रचण्ड समूह अहिलेसम्म अन्यौलमै छन् । त्यस कारण आज आइतवार बैठक बस्दा दुवै पक्षका नेताहरू एकै लहरमा बस्ने बताइन्छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको फुटले औपचारिकता नपाइसकेकाले त्यसले संसद्को काम कारबाहीलाई प्रत्यक्ष रूपमा प्रभावित पार्ने बताइन्छ । नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनस्र्थापित संसद्ले अविश्वासको प्रस्तावमार्फत् हटाउनुपर्ने बताइरहेका छन् । उक्त समूहले नेपाली काँग्रेस र तराई केन्द्रित दलसँग सत्ता सहकार्यको प्रस्ताव गरिरहँदा शुक्रवार ओलीले आफ्नो पक्षले हालसम्म कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको र अनुचित रूपमा प्रस्तावित पनि नगर्ने बताएका थिए ।  त्यसँगसँगै संसद कतिसमय चल्ला भन्ने आशंका पनि थालिएको छ ।

कुनै पनि समय प्रधानमन्त्रीले संसद रोक्न सक्ने

यसअघि प्रतिनिधिसभाको छैटौँ अधिवेशन वैशाख २६ गते प्रारम्भ भएर असार १८ गतेसम्म ५६ दिन चालु रहेको थियो । त्यस बेला असार २२ गतेका लागि बैठक तोकिएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक अगावै अधिवेशन अन्त्यको आह्वान गरिदिएकी थिइन् । त्यस बेला सभामुखसँग परामर्श गरेर मात्रै अधिवेशन अन्त्य गर्ने परम्परा सरकारले तोडेको भन्दै सभामुख सापकोटाले असन्तुष्टि जनाएका विवरण आएका थिए । प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा स्थगित गरिएको अवस्थामा सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइले राष्ट्रपति समक्ष लिखित अनुरोध गरेर पनि बैठक बोलाउन सकिने कानुनी व्यवस्था छ । संसद्लाई कार्यसूची जिम्मेवारी दिने मुख्य जिम्मेवारी सरकारको हो । पुनस्र्थापित प्रतिनिधिसभाको अधिवेशनमा पहिलाको अधिवेशनमा सदनमा थाँती रहेका विधेयक सहितका कार्यसूची अघि बढाउन मिल्छ ।

सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् । सभामुखले अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम पनि छ । त्यसैगरी प्रधानमन्त्री गृहमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र कानुनमन्त्रीले विभिन्न अध्यादेशहरू पेश गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन् । चौधजना सांसदको निधनमा आजको बैठकमा सभामुखले शोक प्रस्ताव पेश गर्ने कार्यक्रम पनि रहेको छ ।

एउटै पार्टी तर एक अर्कालाई कारवाही गर्दै

नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङ प्रतिनिधिसभा नियमावलीअनुसार दलभित्र उत्पन्न भएका कतिपय विवाद हल गर्ने अधिकार सभामुखमा भएको बताउँछन् । प्रधानमन्त्री ओली पक्षले गुरुङलाई नेकपाको प्रमुख सचेतकबाट हटाएका छन् । प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्दै संसदीय दल र पार्टीको साधारण सदस्यबाट हटाएको बताएको छ । उक्त समूहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित आधा दर्जनभन्दा बढी नेताहरूलाई हालै अनुशासनको कारबाही गरिएको उल्लेख गरेको थियो । प्रधानमन्त्रीको खेमाका नेताहरूले आफूहरू नेकपाको मूलधार रहेको र अर्को पक्षले गरेको निर्णयको कुनै अर्थ नहुने बताउने गरेका छन् ।

संसद्को अंकगणित कस्तो छ ?

नयाँ प्रधानमन्त्री चुनिन प्रतिनिधिसभाको कुल सदस्य सङ्ख्या २७५ को बहुमत अर्थात् १३८ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । प्रतिनिधिसभामा नेकपाका दुवै खेमाको १७३, नेपाली काँग्रेसको ६३, जनता दल समाजवादी पार्टीको ३४ र साना दल एवं स्वतन्त्रका चार सांसद छन् ।

अहिले नेकपातर्फ एक सांसदको पद रिक्त छ भने नेपाली काँग्रेसको र जनता दल समाजवादीका दुई–दुई सांसद निलम्बित रहेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् । नेकपाको विभाजनसँगै प्रचण्ड–माधव नेपालको पक्षमा लगभग ९० जना र प्रधानमन्त्री ओलीको पक्षमा लगभग ८० जना सांसद भएको विवरणहरू आएका थिए । नेकपाका एक–दुई सांसदले आफू कुनै पनि पक्षमा नलाग्ने धारणा सार्वजनिक गरेका पनि थिए । तर अहिले नेकपाभित्रको समिकण छिनछिनमै बदलिरहेको छ ।