नेकपाको विवादमा रिट हाल्ने को हुन् ऋषिराम कट्टेल ?

नेकपाको विवादमा रिट हाल्ने को हुन् ऋषिराम कट्टेल ? तरुण खबर २४ फाल्गुन २०७७, सोमबार ०९:५२
नेकपाको विवादमा रिट हाल्ने को हुन् ऋषिराम कट्टेल ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ । पूर्व अबस्थामा अर्थात एमाले र माओवादी केन्द्र भएको छ । र, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्ताव संसदमा दर्ता हुने सम्भावना टरेको छ । प्रतिनिधिसभामा नेकपाका दुवै खेमाको १७३, नेपाली काँग्रेसको ६३, जनता दल समाजवादी पार्टीको ३४ र साना दल एवं स्वतन्त्रका चार सांसद छन् ।

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतवार फैसला सुनाएको हो । नेकपाका दुई समूहबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसला आएको छ । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषिराम कट्टेलले २०७५ मङ्सिर २१ गते रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदन माथिको सुनुवाइ फागुन १३ गते सकिएको थियो । सर्वोच्च अदालतले फागुन २० गते नै त्यसबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बिदा भएपछि आइतवारका लागि फैसला सारिएको थियो ।

को हुन् ऋषि कट्टेल ? 
ऋषि कट्टेल ०५८ सालमा सिपी मैनाली महासचिव रहँदा नेकपा (माले) मा दोस्रो तहका नेता थिए । दोस्रो जनआन्दोलनपछि मैनाली र कट्टेलबीच मतभेद देखिन थाल्यो । राजसंस्था, संघीयता, सविधानसभाजस्ता मुद्दामा मैनालीसँग उनको मतभेद भएको भएको हो । मैनालीलाई यथास्थितिवादी–राजावादीसँग नजिकिएको आरोप लगाउँदै कट्टेलले विद्रोही माले गठन गरे । कट्टेलसँग विद्रोह गर्नेमा टंक राई, जितवीर लामा, केपी फुँयाललगायत नेता थिए । ०२४ सालदेखि विद्यार्थी संगठनमा आवद्ध भएका उनले ०२६ सालमा नेकपाको पार्टी सदस्य लिएका थिए । ऋषिराम कट्टेल ०३७–०४३ सम्म नेकपा (माक्र्सवाद) का केन्द्रीय सदस्य थिए । ०४७ सालमा एमाले गोरखा पार्टीका प्रमुख भएका थिए । ०६४ सालमा नेकपा एकीकृत रहेको पार्टीले संविधान सभामा २ सिट ल्याएको थियो । र, ०६९ आफ्नै अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

यसअघि, नेपाल कम्युनिष्ट पार्टी तेस्रो महाधिवेशन (२०१९) पछि अनेक चिरामा विभाजित भयो । पुष्पलालले ०२५ मा गोरखपुर सम्मेलन गरी पार्टी पुनर्गठन गरे । कट्टेलले त्यही धाराबाट राजनीति थालेका हुन् । ०३५ सालमा पुष्पलालको निधनपछि नेतृत्व साहना प्रधानले सम्हालिन् । ०४३ मा प्रधान नेतृत्वको पार्टी र मनमोहन अधिकारी नेतृत्वको पार्टी नेकपा (माक्र्सवादी ) बन्यो । ०४७ माघमा माले र माक्र्सवादी बीच एकतापछि एमाले बन्यो । यसरी कट्टेलको राजनीतिक निरन्तरता एमालेसम्म पुग्यो । एमालेले महाकाली सन्धिमा विवाद भएपछि  ०५४ मा वामदेव गौतम समूहले माले गठन ग¥यो । कट्टेल मालेमा आबद्ध भए । ०५८ मा गौतमलगायत एमालेमा फर्किएपछि मैनाली, कट्टेललगायत मालेमै रहेका थिए ।

नेकपाको विवाद, सत्ता र शक्तिको प्रयोग
सत्ता र शक्तिको प्रयोग गरी ओली र दाहालले नेकपा आफ्नो पक्षमा पारेका थिए । एमाले–माओवादी केन्द्रबीच ३ जेठ ०७५ मा एकता भई नवगठित नेकपा बनेको थियो । तर, निर्वाचन आयोगले दर्ता गर्न नमानेपछि नेताहरू झल्याँस्स भए । किनभने, त्यसअघि नै ०६९ साउनमा नेकपा आयोगमा दर्ता थियो । कोष्ठकभित्र नेकपा लेखेर २३ जेठ ०७५ मा आयोगले दर्ता प्रमाणपत्र दियो । यसपछि कट्टेल नेतृत्वको नेकपा सर्वोच्च गएको हो । नेकपामाथि चौतर्फी रुपमा वैधानिकताको प्रश्न उठेपछि सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सुनुवाइ भएको थियो ।  ऋषि कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस सुरु भएको थियो ।  यो मुद्दाको फैसला आज हिजो फागुन २३ गते आइतबार आएको हो ।